+
+

‘ब्याकअप’ विनाको विद्युत् प्रणाली

देशभरकै विद्युत् वितरण प्रणाली यति कमजोर छ कि एउटा सबस्टेसनमा एउटा ट्रान्सफर्मर वा फिडरमा समस्या पर्दा अर्को सबस्टेसनबाट लाइन दिन सकिने अवस्था छैन । प्रणालीलाई बलियो बनाउन राजधानीभित्रै अघि बढाइएका सुधारका योजनाहरु पनि अलपत्र हुँदा जनता कतिबेला अँध्यारोमा पर्छन्, टुंगो छैन ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ असार १६ गते २०:०८
चपली सबस्टेसन मर्मतबारे जानकारी लिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

१६ असार, काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली कति कमजोर र सम्वेदनशील छ भन्ने कुरा बुधबार बूढानीलकण्ठ नगरपालिकाको चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि छताछुल्ल भयो । चपली सबस्टेसनका १०–१० एमभीए क्षमताका तीनाटा ट्रान्सफर्मरमध्ये एउटाले काम नगर्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायत क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भयो । बुधबार बिहान ५ बजेदेखिको यो समस्या अहिलेसम्म समाधान भएको छैन ।

बिग्रिएको ट्रान्सफर्मरबाट निकालिएका पाँचवटा फिडर क्षेत्रमा चाबहिल, बालाजु र लैनचौर सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी बिजुली दिन प्रयास गरेको विद्युत् प्राधिकरणका प्रवक्ता तथा विद्युत् भारण प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई बताउँछन् । ‘तर, कतिपय क्षेत्रमा विद्युत् आपूर्ति नियमित नभएको हुनसक्छ’ उनले भने ।

समस्याग्रस्त ट्रान्सफर्मर हटाएर जगेडामा ट्रान्सफर्मर जोड्न अझै कति समय लाग्छ भन्ने यकिन छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं चपली पुगेर मर्मतको काम छिटो गर्न निर्देशन दिएका छन्, तर प्राविधिक काम भएकाले चाहेअनुसार हुन सकेको छैन ।

गत तिहारअघि चितवनको भरतपुरस्थित बसेनी सबसस्टेसनको ट्रान्सर्फमर बिग्रिंदा यस्तै समस्या भएको थियो । प्राधिकरणले ३६ घण्टापछि बल्लतल्ल लक्ष्मीपूजाको बिहानबाट घरायसी ग्राहकलाई लाइन दिन सकेको थियो ।

ठूला शहरमा एकैसाथ धेरै घरधुरी प्रभावित हुने गरी भएका यी दुई परिघटना उदाहरण मात्रै हुन् । प्राधिकरणका सबस्टेसनहरुमा यस्ता समस्या बारम्बार आउने गरेका छन् । यस्तो बेला वैकल्पिक सबस्टेसनमार्फत प्रभावित क्षेत्रमा बिजुली आपूर्ति गर्नसक्ने पूर्वाधार बनेकै छैन ।

प्राधिकरणले दैनिक १० करोड रुपैयाँको बिजुली भारतमा बेचिरहँदा प्रणालीकै कमजोरीले देशभित्रै सर्वसाधारण अन्धकारमा बस्नुपर्ने बिडम्बनापूर्ण अवस्था कायम छ । विद्युत् खपत बढाउन अनुरोध गरिरहेको सरकारले त्यसका लागि गर्नुपर्ने पूर्वाधार विकास र स्तरोन्नतीमा चासो दिएको छैन । स्वभाविक रुपमा बढेको विद्युत् खपतसमेत धान्न मुस्किल अवस्थामा पुगिसकेको प्रणालीमा आकस्मिक रुपमा आउने समस्या हटाउने विकल्प प्राधिरकणसँग छैन ।

ट्रान्सफर्मरमा समस्या आइरहँदा वितरण तथा प्रसारणलाइन सुधारको लागि प्राधिकरणमाथि थप दबाव सिर्जना भएको छ । प्राधिकरणले विद्युतको मागसँगै बढेका यस्ता समस्या हल गर्ने काम अगाडि बढाएको छैन ।

अघि बढेका योजना पनि सुस्त गतिमा छन् । कतै मुआब्जा विवाद, वन र रुख कटानको झमेला त कतै स्थानीयको अवरोध छ । प्राधिकरणले प्रणालीमा बढ्दो मागलाई सम्बोधन हुने गरी देशव्यापी पूर्वाधार विकासको काम पनि थाल्न सकेको छैन ।

चरम चापमा चलिरहेको वितरण प्रणालीमा समस्या बढ्दै गए सबस्टेसनहरु नै ‘सटडाउन’ हुने जोखिम रहेको प्राधिकरणका प्राविधिकहरु बताउँछन् । निर्माणाधीन पूर्वाधारलाई छिटो सम्पन्न गर्न नसक्दा पनि समस्या समाधानको बाटो असहज भएको उनीहरुको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विद्युत् वितरण लाइनलाई भरपर्दो बनाउन ‘रिङ सर्किट’ अपरिहार्य भइसकेको बताउँछन् । उनका अनुसार एउटा सबस्टेसन वा लाइनमा समस्या भएर लाइन काटिए अर्को सबस्टेसनबाट तत्कालै मागअनुसारको लाइन दिनसक्ने प्रणाली बनिसकेको छैन ।

वितरण पूर्वाधारलाई भूमिगत गर्दै विश्वसनीय बनाउने काम पनि तीव्र गतिमा अघि बढाउनुपर्ने उनी बताउँछन् ।

देशभर नै समस्या

काठमाडौं उपत्यकाका सीमित क्षेत्रबाहेक बाहिरका सबस्टेसनहरुलाई एक अर्काको परिपूरक बनाउने काम सुरु हुन समेत सकेको छैन । समस्या परेपछि विभिन्न उपाय निकालेर अर्को सबस्टेसनबाट लाइन दिने गरिएपनि त्यसले प्रभावित क्षेत्रको माग धान्न सक्दैन ।

‘प्रणालीमा जति बेला पनि आउन सक्ने समस्या व्यवस्थापन गर्न रिङमेन प्रणाली चाहिन्छ,’ कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘कति ठाउँका प्रसारणलाइनमा भएको अवरोध लगायतका कारण हामीले चाहेर पनि यस्तो प्रणाली बनाउन सकेका छैनौं ।’

यसैपनि नेपालमा वितरण र प्रसारणलाइन क्षमता कमजोर छ । एकैपटक ठूलो माग आउँदा वा कुनै भवितव्य पर्दा प्राधिकरण विकल्पहीन हुने अवस्था छ । ठूलो लगानी चाहिने भएपनि सानो बजेट हुँदा प्राधिकरणले आवश्यक्ताअनुसार लाइन र सबस्टेसन बनाउन सकेको छैन ।

बन्न लागेका पूर्वाधारमा मुआब्जा र रुट विवाद छ । वितरण ट्रान्सफर्मरहरु थपिएपनि प्रसारणलाइन र सबस्टेसनको क्षमता बढाउन नसक्दा झ्याप–झ्याप बिजुली जाने समस्या कायम छ ।

आफ्नो क्षेत्रमा ओभरलोड भएका ट्रान्सर्फमर फेरेर उच्च क्षमताका नयाँ राख्न वा प्रसारणलाइन र सबस्टेसन बनाउन स्थानीयले नदिने, प्राधिकरणले जग्गा नपाउने लगायत कारण काठमाडौं उपत्यकामा विद्युत् लाइन विस्तार गर्न समस्या भइरहेको छ ।

उपत्यका वरिपरि प्रसारणलाइन र सबस्टेसन बनाउने प्राधिकरणको योजना अहिलेसम्म अधुरो छ । कहिलेकाँही सबस्टेसनमा समस्या आउँदा यो कारण पनि सकस पर्ने गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

२२० केभी प्रसारणलाइनबाट मर्स्याङ्दी र त्रिशुली हुँदै मातातीर्थ आएको बिजुली उपत्यकाका सबस्टेसनहरुमा ल्याउन प्रसारणलाइनकै अभाव छ । उपत्यकाभित्र ट्रान्सफर्मरहरुको क्षमता बढाइए पनि रिङ (बाहिरी वितरण चक्र) बाट सहजै बिजुली ल्याउन नसक्दा शहरमा एउटा सबस्टेसन समस्याग्रस्त बन्दा अर्कोबाट बिजुली दिन समस्या भएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

‘जस्तो– लैनचौरको कुनै सबस्टेसनमा समस्या हुँदा अर्को सबस्टेसनबाट विद्युत् आपूर्ति गर्न सकियोस् भनेर प्रणाली व्यवस्थापन गर्न खोजेका छौं, तर यस्तो काम गर्न अनेकन व्यवधान छन्’ उनी भन्छन् ।

आयोजना धेरै, काम सुस्त

प्राधिकरणले उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिटो सक्न पर्याप्त प्रयास गरेको छैन । विद्युतको बढ्दो मागअनुसार आपूर्ति प्रणाली बलियो बनाउन अघि बढेका आयोजनाहरुको गति सुस्त छ ।

काठमाडौंमा विद्युत् आपूर्तिलाई आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायत आयोजनाहरु कार्यान्वयनमा छन् ।

प्राधिकरणले उपत्यकामा दुई हजार मेगावाट विद्युत् खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनिरहेको बताएको छ ।

नेपाल सरकार र प्राधिकरणको लगानीका साथै एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढेका प्रसारण तथा वितरण प्रणाली सुधार योजनाहरु छिटो सक्न प्राधिरकणले पर्याप्त ध्यान दिएको छैन ।

प्राधिरकणले मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको थिमि र चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसनसहित विद्युतीय तारको भूमिगत गर्ने कामलाई लक्ष्यअनुसार गति दिन सकेको छैन ।

प्राधिकरणले मुख्य सडकमा बिजुलीको तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा समस्या भएको तर्क गर्दै आएको छ । स्थानीयले रुट परिवर्तनको माग राख्दै अवरोधगर्ने, घर नजिक ट्रान्सफर्मर राख्न नदिने जस्ता समस्याले पनि सकस भएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

मर्स्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । निर्धारित समयमा बन्न नसकेको मातातीर्थ सबस्टेसन काठमाडौंमा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्न्न सक्छ ।

यो सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्न ११ केभीका पाँच वटा फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्न सकिन्छ । फिडरबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन्छ । साथै, स्युचाटार र टेकु सबस्टेसनको लोड काम हुने प्राधिकरण बताउँछ ।

बिजुलीको माग बढेकै दरमा वितरण तथा पूर्वाधार बन्नुपर्छ । उपत्यकामा वितरण क्षमता तीन हजार मेगावाटसम्म नपुर्‍याए केही वर्षपछि समस्या पर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘त्यसका लागि काम थालिए पनि विभिन्न ठाउँमा अवरोध छ’, उनी भन्छन्, ‘धेरैजसो काम त अलपत्र नै परेको छ ।’

खोकानाका स्थानीयले विरोध गर्दै ढालेको प्रसारणलाइनको टावर/फाइल

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रको टावर बनाउन स्थानीयबासीले अवरोध गरेपछि प्राधिकरणले चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको छ ।

उपत्यकाका सहरहरुमा बिजुली ल्याउनै नपाउने समस्या भएपछि प्राधिकरण विकल्पहरुमा अघि त बढेको छ, तर वैकल्पिक योजनाहरुमा पनि अवरोधको अवस्था आइसकेको छ ।

चोभारको सुख्खा बन्दरगाह नजिक हिमाल सिमेन्टको जग्गामा बन्न लागेको १३२/११ केभी सबस्टेसनमा कीर्तिपुर नगरपालिकाले सहयोग गर्न चाहेको छैन । प्रस्तावित सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारणलाइन बनिसकेको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार अवरोध धेरै हुन थालेकाले भूमिगत प्रसारणलाइन बनाएर विजुली शहर ल्याउने योजना पनि बनेको छ ।

‘थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो, यसबाट विद्युत आपूर्तिको विश्वसनीयता र भोल्टेजको गुणस्तर सुधार हुन्यो,’ उनी भन्छन्, ‘तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्‍याउने योजना बनाएका छ ।’

लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउन लागिएको घिसिङले बताए । उनका अनुसार, त्यसपछि लगनखेलबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजान सकिन्छ । अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

प्राधिकरणले काठमाडौंको टेकुस्थित ६६/११ केभी सबस्टेसन सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ । दुवै सबस्टेसनमा ४५–४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरहरु राख्ने योजना छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्न काम अघि बढेको छ ।

अहिले फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचनाहरु बन्दैछ । सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ । बालाजु सबस्टेसनको लोड पनि कम हुने प्राधिकरणम बताउँछ ।

यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन छ । लप्सीफेदीमा २२०/१३२/११ केभी सबस्टेसन निर्माण थाल्ने योजना भने अलपत्र छ । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सिफेदीमा सबस्टेसन निर्माण गर्न खोजिएकोमा स्थानीयले अवरोध गरेका छन् ।

यो सबस्टेसनमा १६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु राख्ने प्रस्ताव छ । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारणलाइन निर्माणाधीन छ ।

लप्सिफेदीबाट चाँगुनारायण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारणलाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेका छन् । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लैजाने योजना छ । चाँगुनारायण सबस्टेसनको निर्माण समयमै नभएकाले अहिले चपलीमा समस्या परिरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?