+
+

कुहिने फोहोर बञ्चरेडाँडा नलैजाने उपाय खोज्दै महानगर

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार १७ गते १९:४०

१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका, जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर छुट्याएर मात्रै खसाल्ने सहमति गरेको महानगरले आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै संकलन गर्ने सूचना जारी गरिसकेको छ ।

यसरी वर्गीकरण गरिएका फोहोरमध्ये कुहिने फोहोर बञ्चरेडाँडामा नलगी शहरभित्रै कम्पोस्टिङमार्फत व्यवस्थापन गर्न मेयर बालेन साहको टिमले काम गरिरहेको छ ।

त्यसको संकेत गर्दै बुधबार मेयर बालेनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाडौंमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा काठमाडौं महानगर क्रियाशील छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर उल्लेख्य फरक पार्नेमा हामी सचेत छौं ।’

मेयर बालेनको टिमका सदस्यहरुका अनुसार फोहोरको दीर्घकालीन समस्या समाधानका लागि कुहिने फोहोरको कम्पोष्टिङ (कुहाएर मल बनाउने)देखि नकुहिने फोहोर ठेक्का लगाएर बेच्नेसम्मका योजनामा काम भइरहेको छ ।

‘फोहोरबाट जतिसक्दो बढी आम्दानी गर्ने योजना हो,’ स्रोत भन्छ, ‘त्यसका लागि पहिलो चरणमा जैविक फोहोरको मल बनाउने हो, यो तुरुन्तै गर्न सकिने अवस्था छ ।’

काठमाडौं महानगरपालिकामा मात्रै करिब साढे ५०० टन फोहोर संकलन हुन्छ, जसमध्ये करिव ६० प्रतिशत कुहिने फोहोर हुन्छ । कुहिने फोहोर नफाल्ने हो भने बञ्चरेडाँडा १०० वर्षसम्म प्रयोग गर्न सकिन्छ । सबै लगिराख्ने हो भने २०/२५ वर्षमै भरिन्छ । त्यसैले बञ्चरेडाँडामा ल्यान्डफिलसाइट सञ्चालन तथा व्यवस्थापनको विश्वव्यापी मापदण्ड लागू गर्न चाहेको महानगरका अधिकारीहरु बताउँछन् ।

यसका लागि कुहिने फोहोर सम्बन्धित पालिकाभित्रै व्यवस्थापन गर्ने उपायको खोजी भइरहेको छ । काठमाडौं महानगरले टेकुस्थित फोहोर ट्रान्सफर प्लान्टमै वैज्ञानिक ढंगबाट व्यवस्थापन सकिन्छ कि भनेर नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)ले अहिले अध्ययन गरिरहेको छ,’ एक अधिकारीले भने, ‘कुहिने फोहोर व्यवस्थापनका अन्य उपायबारे पनि अध्ययन गरिरहेको छौं ।’

दीर्घकालीन योजना : फोहोरको अधिकतम प्रयोग

फोहोर व्यवस्थापनको सरल र प्रभावकारी उपाय खोज्न काठमाडौैंका मेयर बालेनले टिम नै बनाएका छन् ।

बालेनको सचिवालयमा रहेका इन्जिनियर सुनिल लम्साल नेतृत्वको टिमले विकल्पहरुको अध्ययन विश्लेषण गरिरहेको छ । ‘काठमाडौंको फोहोरलाई संकलनपछि पनि ५ तरिकाले वर्गीकरण गर्ने तयारीमा छौं,’ टिमका एक सदस्य भन्छन्, ‘कुहिने, नकुहिने, मिश्रित (डायपर लगायत), मेडिकल र सधैंको लागि नष्ट गर्नुपर्ने (सिसाजन्य, विविध) फोहोरका रुपमा वर्गीकरण हुनेछ ।’

उनका अनुसार गल्ने फोहोर उपयुक्त विधि अपनाएर मल बनाइनेछ भने नकुहिने फोहोरमा पुनः प्रयोग, पुनः प्रशोधन लगायत विधिबाट व्यवस्थापन गरिनेछ । मेडिकल र डाइपरजन्य फोहोर व्यवस्थापन गर्न विज्ञहरुसँग छलफल भइरहेको छ । २० देखि २५ प्रतिशत फोहोर भने पूर्णरुपमा नष्ट गर्नुपर्ने देखिएको महानगरका अधिकारीहरु बताउँछन् ।

महानगरपालिकाले कुहिने फोहोरबाट उत्पादन हुने मलमार्फत उत्पादन हुने कृषि वस्तुलाई बजार दिन ‘अग्र्यानिक मार्ट’ समेत चलाउने योजना बनाएको छ ।

महानगरको पहिलो कार्यपालिका बैठकले बनाएको फोहोर व्यवस्थापन समितिका सदस्य तथा १२ नम्बर वडाध्यक्ष बाबुकृष्ण महर्जन काठमाडौैंको फोहोर बञ्चरेडाँडामा फाल्नेभन्दा पनि दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ महानगर लागि परेको बताउँछन् । तर यो काम तत्काल सम्भव नरहेको भन्दै वडाध्यक्ष महर्जनले भने, ‘बजेट छलफलका कारण फोहोर व्यवस्थापनको मुद्दामा धेरै समय दिन पाएका छैनौं । बजेट पास भएपछि कुराकानी होला ।’

महानगरको फोहोर व्यवस्थापन समिति बैठक अहिलेसम्म २ पटक मात्र बसेको छ । मेयर बालेनले भने आन्तरिक गृहकार्य गरेर समितिमार्फत सहमति जुटाउने र हस्तक्षेपकारी ढंगबाट फोहोर व्यवस्थापन गर्न चाहेको बताइएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?