+
+
प्रा. सिद्धिश्वरमान श्रेष्ठको सम्झना :

‘बुवा हाम्रो समाजलाई तपाईं जस्तो पुरुषको खाँचो छ’

स्वर्णिमा श्रेष्ठ स्वर्णिमा श्रेष्ठ
२०७९ असार १८ गते १६:१०

मेरो बुवा, मेरो पापा, तपाईं जस्तो पुरुष हाम्रो समाजमा, अझ यो संसारमा नै विरलै हुन्छन् । हुर्कंदै गर्दा मलाई आफ्नो यो प्रिभिलेज बारे महसुस थिएन । केही वर्ष अगाडि मेरो अमेरिका बसाइको क्रममा सानफ्रान्सिस्कोमा एउटा कार्यक्रममा विशेषज्ञको रूपमा बोल्न पाउँदा मलाई एउटा प्रश्न गरिएको थियो ।

तपाईंलाई फेमिनिस्ट (महिलावादी) हुन के कुराले प्रेरित गर्‍यो ? मैले भनेकी थिएँ- मेरो आमा-बुवाले । सामाजिक विकासको क्षेत्रमा काम गर्ने क्रममा धेरै फेमिनिस्ट, महिला अधिकारवादीहरूसँग काम र संगत गर्ने, त्यससँग सम्बन्धित कार्यक्रममा सहभागी हुने मौका मिल्यो ।

अफिसमा महिला अधिकारका कुरा गर्ने र घरमा आएर पुरुषले भनेको जुठो भाँडा पनि उठाउन हुन्न भन्ने सोच भएका धेरै पुरुष छन् । फेमिनिस्ट र स्मास्स प्याटि्रआर्की भन्ने महिलाहरू पनि आफूचाहिं अधिकारको कुरा गर्ने तर घरमा आफ्नै आमा, भाउजू वा बुहारीलाई सहयोग नगर्ने, हेप्ने वा कार्यालयमा अन्य महिला सहकर्मीलाई निरुत्साहित गर्ने गरेको पनि धेरै देखेको छु ।

अधिकारवादी संस्था नै चलाएर पुरस्कार पाएर बसेकाहरूले दैनिक जीवनमा कति समानताको बाटो हिंड्छन् भन्ने पनि नदेखेको हैन । यो सँगसँगै साँच्चीकै राम्रो काम गरिरहेका र संसारमा नै उदाहरणीय महिला अधिकारकर्मीहरूसँग पनि काम गर्ने मौका नमिलेको हैन । तर पापा, नेपालमा काम गर्दा होस् वा विकसित भनिने अमेरिकाको घरपरिवार नियाल्दा होस् तपाईं जतिको समानतावादी र सही अर्थमा फेमिनिस्ट मैले अहिलेसम्म देखेको र भेटेको छैन ।

हाम्रो परिवारमा हुर्कंदै गर्दा मैले महिला र पुरुषमा, छोरा र छोरीमा विभेद हुन्छ, घरमा बुवाको भन्दा आमाको वा भाइ भन्दा मेरो स्थान अलि कम हो वा मैले गर्नुपर्ने व्यवहारहरू फरक हुन्छ भन्ने कुराको कहिल्यै पनि महसुस गरिनँ ।

घरमा दुवै आमा-बुवाको प्राध्यापनको काम र घरको काम पनि बराबर मिलेर गरेको देखेर नै हामी हुर्कियौं । घरको काममा पापाले नगर्ने भनेको केही पनि थाहा छैन, खाना पकाउने, भाँडा माझ्ने, बढार्ने, सिसीमा अचार हाल्ने, गुन्द्रुक बनाउने, सरसफाई गर्ने सबै आमासँगै पापाले पनि गर्ने ।

भाइलाई र मलाई पनि घरका सानातिना कामहरू सानैदेखि बाँडफाँट गरेर गराउने । छोरी हो त्यही भएर मैले चाहिं घरको कामहरू गर्नुपर्ने भाइले नपर्ने भन्ने घरमा कहिल्यै थिएन र छैन ।

अथवा छोरी भएर भाइभन्दा म कम महत्वको वा मेरो पढाइ, करियर कम महत्वको भन्ने भानसम्म पनि कहिल्यै भएन । बरु पहिलो सन्तानको रूपमा अलि बढी महत्व नै पाएँ हुँला । सधैं घरको निर्णय र जिम्मेवारीहरू आमाबुवा मिलेर र एकै हैसियतमा रहेर तथा घरका निर्णयहरूमा हामीलाई पनि समावेश गराएरै हुर्किएकोले यी कुराहरू मलाई सामान्य नै लाग्थ्यो ।

मलाई याद छ सानो हुँदा मेरो साथीले जिस्काएको, बिहान कौसीमा ममी पत्रिका पढिरहेको र तपाईंले चिया दिन आएको देखेछ, कस्तो अचम्म, स्वास्नी पत्रिका पढेर बस्ने, लोग्नेले आएर चिया दिने, छिमेकी साथीको घरको परिवारै मिलेर त्यो अचम्मको दृश्य हेरेछन् । अरूलाई अचम्म लाग्ने यस्ता कुराहरू सामान्य लागेर नै हामी हुर्कियौं ।

कुसंस्कार र पुरातनवादी, अन्धविश्वासका कुराहरू हामीलाई कहिल्यै घरमा सिकाइएन, सानैदेखि त्यस्ता कुराहरू थाहा नै नभएपछि दिमागमा त्यस्ता कुराले जरा गाड्नै पाउँदैन रहेछ ।

आमाले आफ्नो कार्यक्षेत्रमा प्रगति गर्न सक्नु र उच्च स्थानमा पुग्न सक्नुमा तपाईंको घरमा हुने सहयोग र प्रोत्साहन कति महत्वपूर्ण छ भनेर अहिले झन् राम्ररी बुझ्दैछु ।

मैले पनि कुनै रोकटोक विना जे काममा पनि हौसला र प्रोत्साहन पाएँ, कुनै बेला त्यो सामान्य लाग्थ्यो । तर जति धेरै संसार देख्दै गएँ र मान्छेहरू चिन्दै, अरू परिवारहरू देख्दै गएँ, थाहा पाउन थालें तपाईं जस्तो बुवा र श्रीमान् हाम्रो समाजमा सामान्य हैन, उदाहरणीय हो ।

अहिले म जे छु, तपाईंको त्यो प्रोत्साहन विना सम्भव नै थिएन । हाम्रो समाजमा छोरीलाई राम्रो केटा पाउँछ भनेर मात्र पढाउने, इन्जिनियर त बनाउने तर दुर्गम वा गाह्रो ठाउँमा काम गर्न नदिने, डाक्टर त बनाउने तर कोभिड जस्तो आवश्यकताको बेला लुकाएर राख्ने बुवाहरू धेरै छन् ।

दैनिक जीवनमा नै समानता नभई अरू ठाउँमा कसरी हुन सक्छ ? हाम्रो समाजको अरू पुरुषहरूले पनि तपाईंको व्यवहारको आधाजति मात्र सिके पनि समाजमा धेरै परिवर्तन आउँथ्यो होला । त्यसैले भनेको पापा, तपाईं धेरै छिटो जानुभयो, तपाईं जस्तो पुरुषको यो समाजलाई खाँचो छ

छोरी जति उमेरको, जति पढेको भए पनि विश्वास नगर्ने, घरमा छोराको लागि र छोरीको लागि अर्कै अनुशासनका नियमहरू हुन्छन् । मलाई थाहा छ तपाईंलाई पनि कति ठाउँहरूमा मलाई पठाउन गाह्रो लाग्थ्यो, विश्वास नलागेर हैन, पीर लागेर । तर तराई आन्दोलन भएको बेला प्रथम फिल्डको काममा होस् वा भुईंचालोको बेला सिन्धुपाल्चोकमा काम गर्दा होस्, आमाबुवाको साथमा नै सधैं अगाडि बढ्न पाएँ ।

आमाबुवाको साथ भएपछि रिस्क लिन वा दुनियाँको जस्तोसुकै चुनौतीसँग पनि लड्ने आँट आउँदो रहेछ । मेरो आत्मविश्वास मेरो नभएर तपाईंको साथको नै परिणाम रहेछ भन्ने पनि बल्ल बुझ्दैछु ।

नीति, कानुनमा, किताबमा, कार्यक्रममा जति नै समानता र महिला अधिकारको कुरा भए पनि घरपरिवारमा समानता नभएसम्म समाजमा परिवर्तन आउन सक्दैन ।

दैनिक जीवनमा परिवारमा महिला पुरुषले समान जिम्मेवारी र अधिकार नपाएसम्म महिलाहरू घरकै जिम्मेवारीमा पेलिएर बस्नुपर्ने हुन्छ ।

हाम्रो परिवारमा तीनदशक अगाडि जति समानता थियो अहिले आजको समाजमा पनि त्यस्ता परिवार विरलै छन् ।

हाम्रो समाज फेरि पुरुषहरूले अलिअलि घरको कामहरू गर्‍यो भने त्यो कुरालाई सकारात्मक रुपमा लिने हैन कि उल्टै स्वास्नीको नोकर भयोदेखि लिएर जोइटिङ्ग्रे भयो भन्ने चलन छ ।

कति पुरुषहरूले त त्यही भएर अरू बेला गरे पनि अरू मान्छेको अगाडि घरको काम गर्दैनन् । तर तपाईंलाई त्यस्ता कुराहरूले कहिल्यै असर गरेन । अनि अर्को यस्ता पुरुषहरू पनि छन् जो महिनाको दुई चोटि खाना पकाएर वा घरको केही अति सामान्य काम गरेर केके न धेरै सघाएको छु, म यस्तो राम्रो श्रीमान् हुँ भनेर नथाक्ने गर्छन् ।

हाम्रो घरमा भने काम महिला वा पुरुषको हैन जसले भ्याउँछ उसैले गर्नेे । तपाईंले समानताका ठूलाठूला कुरा गरेको, मैले यस्तो गरिदिएको छु भनेर सुनाएको कहिल्यै पनि थाहा छैन । ममीले काममा देश-विदेश जानु पर्दा सधैं तपाईंले भन्ने गरेको सुनेको छु- “तिमी जाउ न घर त म हेरिहाल्छु नि !” अझै पनि श्रीमतीले काम त गरोस् तर आफूभन्दा सानो पदमा, आफू भन्दा कम कमाउने होस् भन्ने मानसिकता मेरै जेनेरेसनका अधिकांश पुरुषहरूमा भएको पाउँछु ।

तपाईंले भने ममीलाई पीएचडी गर्न होस्, विभिन्न संघ-संस्थामा लाग्न होस् वा देश-विदेशमा पेपर प्रेजेन्टेसन गर्न, सधैं अघि सारेको र उहाँको उन्नतिमा गर्व गरेको मात्र पाएँ । त्यसैले पनि आफ्नो जीवनसाथी कस्तो हुनुपर्छ भन्ने कुरामा म प्रष्ट थिएँ ।

तपाईं जत्तिको मिहिनेती र कहिल्यै नथाक्ने, कहिल्यै अल्छी नलाग्ने मान्छे मैले अरू देखेको छैन । इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पस यति प्रतिष्ठित हुनुमा त्यहाँको परीक्षा शाखामा रहेर तपाईंले गरेको कामको कति ठूलो भूमिका छ भनेर तपाईंकै सहकर्मी र विद्यार्थीबाट सुनेको छु ।

निरन्तर रूपमा अक्षलोक जस्तो साहित्यिक पत्रिका आफ्नै मात्र प्रयासमा दशकौंदेखि निकाल्नको लागि तपाईं कति खटेर काम गर्नुहुन्थ्यो भनेर पनि देखेकी छु ।

अफिसबाट आएपछि पनि घरको काम र आफ्नो स्टडी रुममा लेखपढ गरेर बसिरहने । त्यसै फुर्सदमा कहिल्यै नबस्ने । अन्तिम समयसम्म पनि तपाईंलाई परिवारको भन्दा लुम्बिनी विश्वविद्यालयको धेरै चिन्ता थियो रे ! त्यहाँ पनि त तपाईं परीक्षा नियन्त्रक भएपछि विश्वविद्यालयको नै मुहार फेरिएको हो ।

कहिल्यै केही कुराको लोभ, कसैको डाह, रिस गरेको, कहिल्यै केही नराम्रो वचन बोलेको थाहा छैन । भन्छन् बालबालिकाले आमाबुवाले यसो गर त्यसो गर भनेको अर्ति सुनेर हैन आमाबुवाले आफूले के गर्छन् त्यो देखेर सिक्ने हो ।

सरलता, समानता, संस्कार र साना खुसीहरूमा रमाउन मैले तपाईंबाटै सिकेको हो । यो कोभिडले गर्नु गर्‍यो पापा । मेरो सबैभन्दा प्यारो मान्छे मेरो बुवा नै मसँग खोसेर लगिदियो ।

हुन त तपाईंबाट सिक्नुपर्ने कुरा धेरै नै छन् । जीवनमा सधैं विस्मात लाग्ने कुरा यही नै हुनेछ कि मेरो सन्तानले ती गुणहरू तपाइर्ंबाट प्रत्यक्ष सिक्ने मौका पाउन सकेन । तपाईं गएको वर्ष दिन बिते पनि मनको एउटा कुना निरन्तर दुखिरहन रोकिएको छैन ।

तपाईंले साहित्यिक क्षेत्रमा गर्नुभएको योगदानलाई निरन्तरता दिन तपाईंको नाममा संस्था पनि खोलेका छौं- सिद्धिश्वमान अक्षलोक साहित्यिक केन्द्र, आमाको र हाम्रो मन सम्हाल्ने थलो त्यही संस्था बनेको छ । के गर्नु तपाईं जस्तो इमानदार भएर तर हल्लाखल्ला नगरी निरन्तर काम गर्ने मान्छेहरूलाई यो देशले पहिचान र सम्मान गर्न सक्दैन रहेछ ।

तपाईंबाट यो समाजले सिक्नुपर्ने ठूलो पाठ समानताको हो । पापा यदि हरेक बुवा तपाईं जस्तो हुने हो भने कुनै छोरीहरूले हाम्रो समाजमा विभेद भोग्नुपर्ने थिएन । हरेक श्रीमान् तपाईं जस्तो हुने हो भने घरको काम र जिम्मेवारीको नजानिंदो बोझले महिलाहरूले आफ्नो करियरको कति कुराहरूमा सम्झौता गर्नुपर्ने वा अगाडि बढ्न हिच्किचाउनुपर्ने थिएन ।

समाजलाई समानताको उदाहरण नै दिएर मेरो विवाहमा तपाईंहरूले मलाई दाइजो हैन अंशको रुपमा घर नै दिनुभयो । हुनत तपाईंले खुलेर सबैलाई भन्नु नै हुन्थ्यो त्यो घर मैले हैन सावित्रीले (आमाले) नै आफ्नो कमाइबाट बनाएको हो । तर कति गर्वको साथ मलाई घरको कागजात विवाहकै समारोहमा तपाईंले दिनुभएको थियो ।

‘छोरीलाई अंश हैन शिक्षा’ भन्नेहरूको लागि पनि यो ठूलै पाठ होला । तपाईंले भने छोरीलाई शिक्षा, अंश, साथ, सहयोग, माया, हौसला, प्रेरणा सबै नै दिनुभयो । तर हेर्नुस् न पापा, हाम्रो समाज अझै पनि कति पिछडिएको सोच राख्छ ।

तपाईं जानुभएपछि, नाता प्रमाणित गर्नुपर्ने कागजातमा छोरीको नाम राख्न नमिल्ने रे ! यसमा कानुनले रोक्ने भन्दा पनि कागज बनाइदिने निकायका पदाधिकारीको सोचले रोकेको हो । तपाईंको पहिलो सन्तानसँग तपाईंको केही नाता नै नभए जस्तो ।

समानताका ठूल्ठूला कुरा गर्ने तर सामाजिक व्यवहार, सोच र व्यावहारिक जीवनमा घर गृहस्थीको ठूलो भार महिलालाई मात्र दिएर लैंगिक समानता कहिल्यै पनि हुन सक्दैन ।

दैनिक जीवनमा नै समानता नभई अरू ठाउँमा कसरी हुन सक्छ ? हाम्रो समाजको अरू पुरुषहरूले पनि तपाईंको व्यवहारको आधाजति मात्र सिके पनि समाजमा धेरै परिवर्तन आउँथ्यो होला । त्यसैले भनेको पापा, तपाईं धेरै छिटो जानुभयो, तपाईं जस्तो पुरुषको यो समाजलाई खाँचो छ ।

(प्रा. सिद्धिश्वरमान श्रेष्ठ लुम्बिनी विश्वविद्यालयको परीक्षा नियन्त्रकको रूपमा कार्यरत रहँदै गत जेठमा कोभिड-१९ का कारणले दिवंगत भएका थिए ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?