+
+

किन आन्दोलित भए केएमसीमा मृत भेटिएकी कर्मचारीका परिवार ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असार १९ गते १९:५७

१९ असार, काठमाडौं । काभ्रेको तिमाल गाउँपालिका–८ की २१ वर्षीया रमा रायमाझी हरेक दिन बेलुकी साढे ७ बजे बानेश्वरस्थित डेरा कोठामा पुग्थिन् । शनिबार चाहिं ८ बजिसक्दा पनि उनी आइनन् ।

दिदी नआएपछि बहिनी गोमाले उनलाई फोन लगाइन्, रिङ गइरह्यो तर, उठेन । पटकपटक प्रयास गर्दा पनि फोन उठेपछि उनी रमाले काम गर्ने बुद्धनगरस्थित केएमसी स्कुलतिर गइन् ।

गेटमा पुग्दा सुरुमा उनलाई सुरक्षागार्डले स्कुल बन्द भएको भन्दै भित्र छिर्नै नदिने प्रयास गरे । तर उनले दिदी हराएको भन्दै जिद्धी गरेपछि भित्र छिर्न दिए । उनले होस्टलका म्यानेजरलाई दिदीबारे सोधिन्, दिदी होस्टलको सहायक म्यानेजर थिइन् ।

म्यानेजरले अनविज्ञता जनाए । गोमाका अनुसार सुरुमा उनलाई दिदी घर गइसकेको भनिएको थियो ।

कोठामा नहेरी ननिस्किने अडान लिएपछि म्यानेजर पनि त्यतातिर गए । विद्यार्थीहरु टीभी हेर्न जाने समय भएकाले कोठामा अरु कोही पनि थिएनन् । ढोका ढक्ढक्याउँदा भित्र चालचुल थिएन ।

‘त्यसपछि मैले हात र खुट्टोले बेस्सरी बल लगाएर ठेलेँ, भित्र दिदी झुण्डिरहनु भएको थियो’ उनले भनिन्, ‘त्यसपछि त्यहाँबाट म्यानेजर र अरु कर्मचारी गायब भए ।’ उनका अनुसार त्यसपछि प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिइएको थियो ।

गोमाको दाबी अनुसार रमाको शव भुइँमा खुट्टा टेकेको अवस्थामा थियो । ‘सानो ठाउँमा लुगा झुण्डाउनेमा कसरी मान्छे झुण्डिनसक्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘यदी दिदीको हत्या भएको थिएन भने प्रशासनको मान्छे किन भागे ?’

केहीबेरमै विद्यालय परिसरमा उनका परिवारका अन्य सदस्य पनि आइपुगे र नारावाजी गर्न थाले । तिमालबाट पनि आफन्तहरु आउन थाले, उनीहरुले न्याय पाउने सुनिश्चितता नहुञ्जेल शव उठाउन नदिने अडान लिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, टेकु र प्रहरी वृत्त, बानेश्वरको टोली पनि घटनास्थलमा पुग्यो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञ डा. गोपाल चौधरी नेतृत्वको टोली पनि आयो । तर आफन्तले उनीहरुलाई पनि मृतक भएसम्म पुग्न दिएनन् ।

‘परिवारको सदस्य नआइ यस्तो केशमा प्रहरी आफैंभित्र जाने कुरा पनि भएन’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यही भएर बुबाआमा नआउञ्जेललाई भित्र जान पनि जोड गरेका थिएनौं ।’

रायमाझीका आफन्त बिहान ३ बजेसम्म पनि विद्यालय बाहिरै बसिरहेका थिए । उनीहरुको आशंका थियो, ‘कतै राति नै प्रहरीले सुटुक्क शव उठाउने त होइन ?’

राति एक बजेतिर प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले छलफलका लागि आउन भन्दै केएमसीका प्रिन्सिपल द्वारिकानाथ आम्गाईँलाई बोलाए । तर उनले ‘आफू असुरक्षित भएको’ भन्दै आउन नमानेको आफन्तहरु बताउँछन् ।

‘खासमा विद्यालय प्रशासनले कर्मचारीको मृत्यु भएकोमा अलिकति पनि संवेदनशीलता देखाएको छैन’ काका सन्तोष अधिकारीले अनलाइनखबरसँग भने, ‘वार्ताका लागि पनि उनीहरूले राति वास्ता गरेनन्, आइतबार पनि यतिबेलासम्म प्रिन्सिपलको मुख देख्न पाइएको छैन ।’

करिब ३ सय प्रहरीको घेरा रहेका बेला ३०/३५ जना आफन्त हुनुले उनलाई के असुरक्षा पैदा भयो भन्ने आफूहरुले बुझ्न नसकेको अधिकारीले बताए । उनका अनुसार बिहान ३ बजेतिर शव नचलाउने भन्ने सहमति भएपछि आफन्त घर गएका थिए । तर त्यही बेला विद्यालयबाट गाडी लगायतका त्यहाँ राखिएका वस्तुहरु निकालिएको उनले बताए ।

उनको भनाइमा भतिजी झुण्डिएको भनिएको कोठामा हेर्दा छट्पटाएको कुनै संकेत थिएन । ‘मान्छेले मर्ने बेलामा त बच्नलाई कुनै न कुनै प्रयास गर्छ नि’, उनले भने, ‘तर भतिजीको मुखको मास्क पनि जस्ताको तस्तै थियो ।’

प्रदर्शनमा सहभागी सुजिता तिम्सिना भन्छिन्, ‘स्कुल भनेको विद्यालयका लागि सबैभन्दा सुरक्षित ठाउँ हुनुपर्ने हो, तर होस्टलमा कर्मचारी माथि नै यस्तो घटना भएपछि कसरी हामीले छोराछोरीलाई विद्यालयमा पठाउने ?’ छोरी पनि सोही विद्यालयमा पढ्ने भएकाले आफू प्रदर्शनमा सहभागी भएको उनको भनाइ छ ।

प्रशासनले सुरुमा विद्यालयमा भएको क्लोज सर्किट (सीसी) क्यामरा हेर्न दिने बताए पनि पछि नदेखाएको आफन्त अधिकारीको भनाइ छ । ‘फेरि कोही आल्नोमा झुण्डिएर कसरी मर्न सक्छ ?’ उनी प्रश्न गर्छन्, ‘खुट्टा टेकेको अवस्थामा कसरी मृत्यु हुन्छ ?’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञहरु चाहिं ओछ्यानमा सुतेको अवस्थामा पनि आत्महत्या भएको उदाहरणहरु रहेको बताउँछन् । रायमाझीको हकमा हत्या वा आत्महत्या के हो भन्ने विषयको निर्क्यौल गर्न पहिले प्रहरीलाई अनुसन्धानका लागि बाटो खुलाइदिनु पर्ने जानकारहरु बताउँछन् ।

तर प्रहरीले पनि यो घटनामा निष्पक्ष अनुसन्धान हुन्छ र दोषी देखिए जोकोहीलाई कारबाही हुन्छ भनेर परिवारलाई विश्वासमा लिने गरी वातावरण बनाएको छैन । मृतकका काका अधिकारीलाई शव उठाएपछि न्याय पाइन्न कि भन्ने लागेको छ । ‘प्रहरी पनि विद्यालय प्रशासनसँगै मिलेको हुनसक्ने’ उनको आशंका छ ।

‘अहिले जति पनि घटना भएका छन्, शव उठाएपछि न्याय पाइएका छैनन्’ उनको आरोप छ, ‘जति लड्ने शव नउठाउँदै हो, नत्र न्याय पाउन गाह्रो हुन्छ ।’ त्यसैले न्याय प्राप्त हुने सुनिश्चित नभएसम्म शव नउठाउने उनी बताउँछन् ।

मृतकका आमाबुबाले त प्रहरीले ‘पीडकलाई कारबाही गर्नुपर्नेमा उल्टै प्रलोभनमा परेर आफूहरुको प्रदर्शनलाई दबाउन खोजेको’ आरोप लगाएका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार जीवित मान्छेलाई बेहोसीको अवस्थामा झुण्ड्याउनु परे एकजनाबाट मात्र सम्भव हुन्न । फेरि जबरजस्ती भएको घटनामा प्रतिकार हुने भएकाले कुनै न कुनै निशान हुनसक्छ ।

हत्यापछि झुण्ड्याइएको भए पनि पोष्टमार्टम रिपोर्ट वा घटनास्थलको अवस्थाले कुनै संकेत दिन सक्छ, त्यसैले पनि यस्ता खाले घटनामा शीघ्र अनुसन्धान महत्वपूर्ण मानिन्छ । तर अनुसन्धानमै अवरोध गर्दा न्याय प्राप्तिमै ढिलाइ हुने काठमाडौं प्रहरीका एसपी मैनाली पनि बताउँछन् ।

घटनास्थलमा जान नपाउँदा अहिले प्रहरी अनुसन्धानमा पनि अवरोध पुगिरहेको अधिकृतहरु बताउँछन् । यद्यपि, मृतकको मोबाइन नम्बरको प्राविधिक पक्षबाट विश्लेषण गरेर पनि प्रहरीले अनुसन्धान थालेको छ ।

स्रोतका अनुसार सरल र मिजासिली स्वभावकी रमाको व्यवहार पछिल्लो केही समयदेखि फेरिएको थियो । यस विषयमा पनि केन्द्रीत भएर प्रहरीले उनका नजिकका साथीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

एसपी मैनाली भन्छन्, ‘मुख्य कुरा त घटनाको कारण के हो भन्ने पोष्टमार्टमबिना थाहा हुँदैन, त्यसैले यसमा सहजिकरण गरिदिन परिवारसँग आग्रह गरिरहेका छौं ।’

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?