+
+

मधेशमा पुनः सुरु भयो छोरी बीमा कार्यक्रम

दुई वर्षअघि जन्मिएकाहरुको बीमा नहुने

श्रवण देव श्रवण देव
२०७९ असार १९ गते २०:३५

१९ असार, जनकपुरधाम । मधेश प्रदेशमा पछिल्लो दुई बर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

छोरी बीमाका लागि यसअघि प्रभु बैंकसँग गरिएको सम्झौता अवधि समाप्त भएपछि ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर छोरी बीमा कार्यक्रम पुनः सुरु गरिएको छ ।

९ फागुन, २०७५ देखि सुरु भएको यो अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । त्यतिबेला झण्डै ७ हजार छोरीको बीमा गरिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।

सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चालन हुँदै आएको यो कार्यक्रम गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । यो मन्त्रालय अन्तर्गतका शिक्षा विकास निर्देशनालयले यो कार्यक्रम सञ्चालन गर्नेछ ।

आइतबार निर्देशनालयका निर्देशक चुडामणि फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले छोरीको बीमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फुयाँलले सम्झौतापछि यो कार्यक्रम तत्कालै सञ्चालन गरिने जानकारी दिए ।

२ बर्षको अवधिमा जन्मिने छोरीको हुँदैन बीमा

बन्द भएको दुई बर्षपछि पुनः सञ्चालन भएको छोरी बीमाको नयाँ कार्यविधि बनाइएको छ । त्यो कार्यविधि अनुसार २०७८ माघ १ गते पछि जन्मिएका छोरीको बीमा गरिनेछ । जन्मेको मितिदेखि २० बर्षपछि ३ लाख पाउने गरी प्रति बीमा ३७ हजार ४ सय ५७ रुपैयाँ ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्नेछ ।

यद्यपि दुई बर्ष रोकिएको अवधिमा जन्मिने छोरीको भने बीमा नहुने भएको छ । शिक्षा निर्देशनालयका निर्देशक फुयाँलले नयाँ कार्यविधि अनुसार १ माघ २०७८ पछि जन्मिएका छोरीको बीमा मात्रै हुने बताए । ‘नयाँ निर्देशिका जारी भएपछि बीचको ग्यापमा धेरै छोरी जन्मिएका छन्, उनीहरुको बीमा हुँदैन’ उनले भने, ‘यो एउटा नयाँ इस्यू उठाउँछ । यसलाई कसरी समाधान गर्ने ? त्यसतर्फ ध्यान दिनु जरुरी छ ।’

दुई बर्षको अवधिमा जन्मिएका छोरीको बीमा गर्दा ठूलो रकम चाहिने भन्दै उनी यसबारे क्याबिनेटले स्रोत खोजेर नीतिगत निणय गर्नुपर्ने उनी बताउँछन् ।

मुख्यमन्त्रीले दिए बन्द हुनुको दुई कारण

छोरी बीमा बन्द भएको सन्दर्भमा मुख्यमन्त्री लालबाबु राउत कोरोना महामारी र राष्ट्र बैंकले व्याज दर घटाउनु मुख्य कारण रहेको बताउँछन् ।

‘कोरोना महामारीका कारण मान्छेलाई घरबाट निस्किने अवस्था थिएन । अधिकांश बजेट कोरोनामै डाइभर्ट गर्नुपरेको थियो’ उनी भन्छन्, ‘त्यस बेला सम्झौता भएको प्रभु बैंकमा रकम राख्दा राष्ट्र बैंकले मुद्दती खातामा व्याज घटाइदिँदा पनि समस्या भयो ।’

व्याज घटाउँदा ३७ हजारमा हुने बीमाका लागि ६८ हजार तिर्नुपर्ने अवस्था आएको भन्दै उनी यसो गर्दा सरकारमाथि नै प्रश्न चिह्न आउने अवस्था थियो ।

छोरीको बीमाका लागि साढे २२ करोड रुपैयाँ मन्त्रालयमा पठाइसकिएको भन्दै उनी दुई बर्षको अवधीमा जन्मिएका छोरीको बीमा गर्ने अवस्था भने नरहेको बताउँछन् । ‘हामीसँग लिमिट स्रोत हुन्छ’ उनी भन्छन्, ‘बीमा हुन नसकेको छोरीको बीमा गर्ने सन्दर्भमा तत्कालै केही भन्दिनँ ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?