+
+

माओवादीमा पदाधिकारी टुंग्याउन दबाव, के गर्लान् प्रचण्ड ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १९ गते २१:२३

१९ असार, काठमाडौं । धेरै पटक स्थगित भएर आइतबार सुरु भएको केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले सञ्चालन गरे ।

बैठकका एजेन्डा सुनाउने, थपिएका केन्द्रीय सदस्यलाई शपथ ग्रहणका लागि आमन्त्रण गर्ने, बैठकमा रिपोर्टिङ गर्न प्रदेश अध्यक्षहरुलाई बोलाउने, उनीहरुलाई बोल्ने समय तोक्ने र समय हेरेर सकिएको घण्टी बजाउनेसम्मको कामउनी आफैंले गरे ।

माओवादी केन्द्रमा पदाधिकारी तोकिएका हुन्थे भने यही काम महासचिवले गर्थे । गत पुस ११ देखि १८ गतेसम्म आठौं महाधिवेशन गरेको माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन । यस पटकको केन्द्रीय समिति बैठकबाट पदाधिकारीको विषय टुंगिन्छ कि भनेर धेरैले चासोपूर्वक हेरेका छन् ।

प्रचण्ड आफैंले सुनाएको बैठकको ९ एजेन्डामध्ये छैटौं नम्बरमा संगठनको विषय पनि परेको छ । उक्त बुँदामा प्रचण्डले स्थायी समिति र पोलिटब्यूरो समिति निर्माणसँगै पदाधिकारी चयनको विषय पनि समेटेका छन् ।

प्रचण्डको हाउभाउ हेर्दै

केन्द्रीय समितिको धेरै बैठकबाट हुन नसकेको पदाधिकारी चयन यो बैठकबाट होला कि नहोला भन्ने प्रश्नको जवाफ माओवादीका धेरै नेताहरुमा छैन । धेरैले प्रचण्ड के गर्लान् भनेर उनकै मुख ताकिरहेका छन् । नेता मात्रिका यादव भन्छन्, ‘मैले बिहान भेट्दा उहाँको बडी ल्याङ्ग्वेज यसपटक जसरी पनि टुंग्याएर जान खालको छ ।’

अर्का नेता डिलाराम आचार्य यसपटक पदाधिकारी चयन हुने र नहुने सम्भावना बराबर देख्छन् । ‘बैठकको अन्तिम समयसम्म सम्भावना छ भन्नुपर्‍यो’, उनी भन्छन्, ‘दुवै सम्भावना छ । हेरौं अध्यक्षले के गर्नुहुन्छ ?’

नेता हरिबोल गजुरेल भन्छन्, ‘अध्यक्षले टुंग्याउने भन्नु भएको छ, टुंगिन्छ होला ।’

आइतबारको बैठकमा आफ्नो प्रदेशको रिपोर्टिङका क्रममा धेरै प्रदेश अध्यक्षहरुले पदाधिकारी चयन नहुँदा पार्टी लथालिंग भएको बताए । तर, प्रचण्डले यसको जवाफ दिएनन् ।

बरु उनले विधान अनुसार केन्द्रीय समिति निर्माण गरेको र अब केन्द्रीय समितिले पूर्णता पाएको मात्रै बताए । ‘अब केन्द्रीय समितिले पूर्णता पाएको छ’ प्रचण्डको भनाइ थियो, ‘१२ जना केन्द्रीय समिति मनोनित गर्न बाँकी छ । त्यसमा छलफल गरेर टुंग्याउनु पर्छ ।’

उनले अगाडि भने, ‘मनोनित गर्न १२ जना मात्र बाँकी रहदा केन्द्रीय समिति अपूर्ण हुँदैन । तपाईंहरुले पनि यसलाई पूर्णता पाएको भन्नुपर्छ ।’

आकांक्षी मौन

यस पटकको बैठकबाट पनि अध्यक्ष प्रचण्डले पदाधिकारी चयन नगर्ने आशंका गर्दै नेताहरुले दबाव बढाएका छन् । यसैपटक जसरी पनि पदाधिकारी टुंग्याउनुपर्नेमा उनीहरुको जोड छ ।

बैठकमा वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले बरु पाँच दिनसम्म केन्द्रीय समिति बैठक बसेर भए पनि पदाधिकारी टुंग्याउन माग गरे । ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनुपर्छ,’ उनको भनाइ थियो, ‘बरु पाँच दिनसम्म बैठक बसौं अध्यक्ष कमरेड । यो भद्रगोल अवस्था नराखौं ।’

केन्द्रीय समितिमा जसलाई पनि राखेको भन्दै पौडेलले त्यसमा पनि असन्तुष्टि जनाएका थिए । ‘माओवादी पार्टी भावुक पार्टी बनेको छ,’ उनको भनाइ थियो, ‘कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ ।’

बैठकमा उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले पनि पदाधिकारी चयन गर्नुपर्ने धारणा राखे । ‘यस पटक जसरी पनि पदाधिकारी निर्माण गर्नुपर्छ,’ उनको प्रश्न थियो, ‘पार्टीलाई लथालिङ्ग राखेर कसरी चुनाव जितिन्छ ?’

प्रदेश समितिका लागि समेत योग्य नरहेका नेताहरु केन्द्रीय समितिमा राखिएको भन्दै उनले यसरी पार्टी नबने चेतावनी दिए ।

गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले पनि पदाधिकारी निर्माणमा जोड दिएकी थिइन् । आज बोल्न नपाएको माओवादी केन्द्रको युवा समूह पनि पदाधिकारी निर्माणका लागि प्रचण्डलाई दबाव दिने रणनीतिमा छ । केन्द्रीय सदस्य रञ्जित तामाङले आफूहरुले भोलिको बैठकमा पदाधिकारी टुंग्याउन बैठकमा दबाव दिने बताउँछन् ।

‘कि चुनावबाट टुंग्याउनुपर्‍यो । होइन भने नेताहरुको सहमतिबाटै भए पनि टुंग्याउनुप¥यो । त्यतिकै जान हामी दिदैनौं । हामी त्यसका लागि दबाव दिन्छौं’ उनले भने ।

पदाधिकारीमा आकांक्षा नराख्ने धेरैले तामाङले झैं यसपालि पदाधिकारी टुंग्याउनुपर्नेमा जोड दिएका छन् । तर, वरिष्ठ नेता र पदाधिकारीका आकांक्षीहरु खुलेका छैनन् । ‘पदाधिकारीका आकांक्षी नेताहरु प्रचण्डसँग पदको बार्गेनिङ गरिरहेका छन्’ एक केन्द्रीय सदस्यले भने, ‘आफू नहुने हो भने यसपटक पनि पदाधिकारी नटुंगियोस् भन्ने मानसिकता उनीहरुमा छ ।’

विशेष गरी महासचिवमा वर्षमान पुन र जर्नादन शर्माले दावी गरेका कारण पदाधिकारी टुंग्याउन प्रचण्डलाई कठिनाइ भइरहेको जानकार नेताहरु बताउँछन् । उनीहरुले पार्टी संगठनमा बलियो गुट बनाएका छन् ।

लामो समयदेखि प्रचण्डले पुन र शर्मा दुवैलाई सन्तुलनमा राख्ने गरेका छन् । दुईमध्ये एकलाई महासचिवको प्रस्ताव पनि गर्न नसक्ने र चुनावमा जाँदा पनि गुट झन् झांगिने डर प्रचण्डलाई भएको नेताहरु बताउने गरेका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?