+
+

नेताज्यू विकास निम्त्याउँदै हुनुहुन्छ कि विपत्ति ?

व्यापार सन्तुलन घाटामा रहे पनि भुक्तान सन्तुलन बचतमा थियो अर्थात् शोधनान्तर अवस्था प्रतिकूल बनिसकेको थिएन । तर पछिल्लो १० महिनामा भुक्तान सन्तुलन झण्डै तीन खर्ब घाटामा पुगेको छ । यसरी विदेशी मुद्रा भित्रिने भन्दा बाहिरिने क्रम जारी रहने हो भने देश वैदेशिक मुद्रा सञ्चितिको दृष्टिले टाट पल्टन सक्छ ।

कृष्ण पौडेल कृष्ण पौडेल
२०७९ असार २१ गते ७:१२

नेपालीमा विकासप्रतिको भोक र तृष्णा जति मात्रामा देखिन्छ, त्यसको निम्ति सरकारको सीमा र नागरिकको दायित्व बारेको चेतनास्तर पर्याप्त छैन । आम जनसमुदायको विकास मोह उपर राजनीतिक नेतृत्वबाट बारम्बार इमोशनल ब्लाकमेलिङ समेत हुने गरेको छ । पञ्च नेताहरूबाट श्री ५ महाराजाधिराजको सपना साकार पार्न विकासको मूल फुटाउने भजनकीर्तन गर्दा गर्दै पंचायती व्यवस्था तीन दशक चल्यो । त्यसको उत्तरार्द्धतिर राजा वीरेन्द्रले १५ वर्षभित्र अर्थात् सन् २००० सम्म नेपाललाई विकासको एशियाली मापदण्डमा पुर्‍याउने उद्घोष गरेका थिए । पछि त्यो नारा न्यूनतम आधारभूत आवश्यकता पूर्ति भन्नेमा खुम्चिएको थियो ।

२०४७ सालमा कृष्णप्रसाद भट्टराईले नेपाललाई सिंगापुर बनाउने सपना सुनाएका थिए । २०६२/६३ को परिवर्तन पश्चात् कमरेड प्रचण्डले फेरि स्विट्जरल्याण्डको परिकल्पना गरेका थिए । डा. बाबुराम भट्टराईले अर्को भाषामा दोहोरो अंकको आर्थिक वृद्धिदरको दाबी गरे । पछिल्लो समय कमरेड केपी ओलीले हिमाल पार बुलेट रेल र महासागरहरूमा नेपाली झण्डावाल पानीजहाज कुदाउने सपना प्रस्तुत गरे ।

प्राज्ञिक परिभाषामा विकास वा समृद्धि जेसुकै होस्, सर्वसाधारणको बुझाइमा विकास भनेको सडक, पुल, बिजुली, टेलिफोन, भवन आदिको निर्माण विस्तार नै हो । साथै समकालीन नेपाली राजनीतिक नेतृत्वको बुझाइको सीमा पनि त्योभन्दा माथि उठेको देखिंदैन । झिनो ‘विकास’ को प्रारम्भ राणाकालदेखि नै भएको थियो । पञ्चायतकालको ‘विकास’ पनि कम लोभलाग्दो थिएन ।

हालसम्म चालु अवस्थाका कैयौं ठूला संरचनाको निर्माण त्यतिबेलै भएको थियो । पछिल्लो २५-३० वर्षको अन्तरालको परिदृश्यलाई हेर्‍यौं भने पनि समाजका कतिपय पक्षमा कायापलट भएको देखिन्छ । प्रायःजसो ग्रामीण क्षेत्रहरूमा समेत सडक, विद्युतीकरण, टेलिफोन, इन्टरनेट, विद्यालय, स्वास्थ्य चौकी जस्ता आधुनिक विकासका पूर्वाधार विस्तार भइसकेको अवस्था छ । आधुनिक कृषि तथा अन्य व्यवसायहरूको नमूना दूरदराजमा पनि पुगेको भेटिन्छ ।

विकासको मूल्यांकन कसरी गर्ने भन्ने प्रश्न आफ्नो ठाउँमा छ, गतिविधिको दृष्टिले ‘विकास’ को क्रम जारी छ र रहन्छ पनि । तर यस्तो विकासको कतिपय प्रकान्तरण परिणाम भयावहपूर्ण रहेको संकेत दिएका छन् । तर त्यसमा पर्याप्त ध्यान र दृष्टि पुग्न सकेको छैन, विचार मन्थन र समस्याको यथोचित मनन हुन सकेको छैन । नेपालीको समृद्ध र सुखद भविष्य विभिन्न खाले आर्थिक धराप भित्र पस्दै गइरहेको छ ।

हुन त विकास अवस्थालाई चित्रण गर्ने सबै सूचक नकारात्मक छैनन् तर अर्थतन्त्रका अनेकौं पक्ष चिन्ताजनक रहेका छन् । तीमध्ये एउटा हो- अन्तर्राष्ट्रिय व्यापारमा विकराल घाटा, नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्ल्ाो दश महिनामा १६ खर्बको आयात भएको छ भने निर्यात जम्मा १ खर्ब ७३ अर्ब । निर्यातमध्ये पनि ८३ अर्ब अर्थात् ४८ प्रतिशत सोया र पाम आयलको हिस्सा रहेको छ, तर ती दुवै वस्तुको कच्चा पदार्थको आयात मात्र ८४ अर्बभन्दा बढीको छ ।

हुन त नेपालको व्यापार सन्तुलन पछिल्लो ५-६ दशक कहिल्यै नाफामा रहेन । तैपनि वैदेशिक वस्तु तथा सेवा आयातको भुक्तानी निर्यातका अतिरिक्त वैदेशिक ऋण अनुदान, लगानी तथा विप्रेषण आय स्वरुप जम्मा भएको विदेशी मुद्राले थेगिरहेको थियो । अर्थात् सैद्धान्तिक भाषामा व्यापार सन्तुलन घाटामा रहे पनि भुक्तान सन्तुलन बचतमा थियो, शोधनान्तरण अवस्था प्रतिकूल बनिसकेको थिएन । तर पछिल्लो दश महिनामा भुक्तान सन्तुलन झण्डै तीन खर्ब घाटामा पुगेकोे छ । यसरी विदेशी मुद्रा भित्रिने भन्दा बाहिरिने क्रम जारी रहने हो भने देश वैदेशिक मुद्रा सञ्चितिको दृष्टिले टाट पल्टन सक्छ, श्रीलंकाको जस्तो हालत हुनसक्छ । त्यस्तो संकट संसारका विभिन्न देशले भोगिसकेका छन् । छिमेकी मुलुक भारत पनि पीभी नरसिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री हुँदा विदेशी मुद्राको सञ्चितिमा टाट पल्टन लाग्दा सुन-चाँदी आदि बहुमूल्य सम्पत्ति बेचेर विदेशी मुद्रा भित्र्याउनु परेको थियो ।

त्यसरी व्यापार घाटा अत्यधिक बढ्नुको आधारभूत कारण देशभित्र पर्याप्त मात्रामा उत्पादन बढ्न नसक्नु नै हो । ‘विकास’ भएर पनि उत्पादन नबढ्नु भनेको खेती गर्दा बोट फस्टाएर पनि फल नलाग्नु जस्तै हो । यथार्थमा सडक, बिजुलीको विकासलाई मात्र आर्थिक समृद्धि मानिंदैन, ती आर्थिक विकासका लागि केही भौतिक पूर्वाधार मात्र हुन् । समग्र आर्थिक तथा सामाजिक समुन्नतिको निम्ति ती पनि महत्वपूर्ण छन् तर पर्याप्त हैनन् । भौतिक पूर्वाधारहरूको अलावा अन्य अभौतिक तथा संस्थागत पूर्वाधारहरूको समेत जरूरी रहन्छ । उद्यम र व्यवसाय अनुकूल राजनीतिक तथा सामाजिक वातावरण -इकोसिष्टम)को निर्माण हुनुपर्ने हुन्छ ।

प्रचलित ‘विकास’ चरित्रले गाउँ बस्तीहरूमा प्रायः खर्चका स्रोतहरू बढाएका छन् तर आम्दानीका स्थानीय स्रोतहरू उल्टै सुकेका छन् । यातायात, संचार, आधुनिक ऊर्जा, स्वास्थ्य, शिक्षाको सुविधा त पुगेको छ, तर तिनको प्रत्यक्ष उपभोग बाहेक उत्पादनमूलक उपयोग हुन नसक्दा सर्वसाधारणको आयस्तर बढ्न सकेको छैन । गाउँ बस्तीमा आधुनिकता छिरेसँगै प्रायःजसो परम्परागत पेशा-व्यवसाय, उत्पादन तथा उद्यमहरू हराउन थालेका छन् । स्थानीय स्रोतहरू घाँस, काठ, ढुंगा, माटोको प्रयोग घटेर गएको छ । तिनको स्थान आयातित धातु, प्लाष्टिक इत्यादि वस्तुहरूले लिएका छन् । कृषिको आधुनिकीकरणको नाममा मल, बीउदेखि खनजोत गर्ने साधनसम्म आयातमा निर्भर बन्दै जाँदा उपजको तुलनामा लागत अधिक रहेको छ । प्रायःजसो फाइदाको लागि भन्दा घाटा सहेर पनि इज्जतको लागि खेतीपातीको कर्मकाण्ड पूरा गर्नुपरेको छ । बहुबाली हुने सुन्दर बारीहरू भने कुरुप झाडीमा परिणत भएका छन् ।

विकासको अर्को महत्वपूर्ण पाटो संरचनागत परिवर्तन हो । जब आधुनिक विकासको सुरुवात हुन्छ तब मानिसहरूमा निर्वाहमुखी कृषि पेशाको विकल्पको खोजी हुन थाल्छ । नयाँ पेशा, व्यवसाय र जीविकोपार्जनका लागि थातथलो छाड्ने, बसाइँसराइ गर्ने क्रम तीव्र हुन्छ । परम्परागत कृषिको विकल्पमा आधुनिक उद्योग तथा अन्य व्यवसायको विकास हुन सकेन र शहरीकरणको प्रक्रिया उचित ढंगले भएन भने आधुनिक अर्थतन्त्रले गति लिंदैन ।

सामान्य मानिसको लागि आधारभूत आवश्यकता कमाइ वा आर्जन हो, जहाँ अपेक्षाकृत कमाइ वा आयआर्जन हुँदैन त्यहाँ जतिसुकै सुविधा भए पनि, जस्तो सम्बन्ध भए पनि धानिन सम्भव हुँदैन । तसर्थ गाउँबस्तीमा विकास पुगे पनि पर्याप्त आयस्रोत बढ्न नसक्दा मान्छे अडिन मुश्किल परेको छ, अहिले बसिरहेका पाको पुस्ताका प्रायः छोराछोरी र नातिनातिनाले स्थायी रूपले नै गाउँ छाड्ने क्रम तीव्र छ । एक अर्थमा विकासले नै युवालाई गाउँबस्तीबाट लखेट्दैछ । प्रायःजसो ग्रामीण क्षेत्रमा विद्यालयहरूमा उल्लेख्य भौतिक तथा शैक्षिक सुधारका बाबजुद पनि विद्यार्थी संख्या तीव्र रूपमा घटेको छ । २० वर्ष अघि ४/५ सय विद्यार्थीको चाप भएका हाईस्कुलहरू अहिले सय डेढ सयमा खुम्चिएका छन् ।

विदेश पलायन हुने र हुन चाहनेहरू केवल स्वदेशमा विकल्प नभएका वा उपाय नपाएका मात्रै छैनन् । राम्रै हैसियत, कमाइ र सम्भावना रहेकाहरू पनि गएका छन् र जान चाहन्छन् । उनीहरू बेहत्तर विकल्पको खोजीमा छन् । राम्रो योग्यता, दक्षताका प्रतिभा, व्यावसायिक अनुभवीहरूको पलायनले देशलाई ठूलै नोक्सान पुर्‍याइरहेको छ । देश र समाजको महत्वपूर्ण लगानी परेका गुणस्तरीय नागरिकको पलायन बढ्दै जानु अर्को निराशाजनक पाटो हो ।

विद्यमान अवस्थामा डरलाग्दो व्यापार घाटा, अनुत्पादक विकास, देश छाड्ने लहर, प्रतिभा पलायनलगायत चिन्ताजनक चुनौती एकअर्कासँग सम्बन्धित छन् । मूल कारण विकास सम्बन्धी त्रुटिपूर्ण सोच र शैली हो । राजनीतिक व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुनु भनेको त्यही सोच र शैली यथावत् रहनु हो । समृद्धिका परिकल्पनाकार दाबी गर्ने वाम लोकतान्त्रिक खेमाको नेतृत्वको सोच र शैली पनि सारमा पञ्चायतकालको भन्दा फरक देखिएन ।

परम्परागत अर्थशास्त्र अनुसार पूँजी वृद्धि गरे पछि उत्पादन स्वतः बढ्छ भन्ने मान्यता छ । प्रसिद्ध अर्थशास्त्री जे वि सेको उत्पादनले आˆनो माग वा बजार स्वतः सृजना गर्दछ भन्ने विश्वास थियो । तर अधिक उत्पादनको कारण व्यापार चक्रको संकट उत्पन्न हुन थालेपछि आजकल संसारभर बजार विश्लेषण र अनुमान गरेर मात्र उत्पादनको योजना बनाइन्छ । त्यस्तै हाम्रो जस्तो देशमा भौतिक पूर्वाधारहरू विस्तार भयो भने आर्थिक वृद्धि स्वतः हुन्छ भन्ने दावी गरिन्छ तर त्यो धेरै पुरानो फेल खाइसकेको मान्यता हो । आजकल सार्वजनिक परियोजनाहरूको निक्र्योल विज्ञहरूबाट लाभ-लागत गहन विश्लेषण र सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाइ, बहस, छलफलपश्चात गर्ने प्रचलन छ ।

नेपाल जस्ता विकासोन्मुख मुलुकहरूको विकास परियोजना छनोट र निर्माणमा यथोचित प्रोटोकलको पालन गरिएको हुँदैन । शक्तिशाली नेताहरूको राजनीतिक लाभको निम्ति समग्र अर्थतन्त्रलाई लाभ नहुने परियोजनालाई प्राथमिकता दिइएको हुन्छ । श्रीलंकामा महेन्द्र राजापाक्ष सरकारले ठूलो वैदेशिक ऋण लिएर बनाएका अन्तर्राष्ट्रिय एयरपोर्ट र बन्दरगाह व्यावसायिक रूपमा नचल्दा अर्थतन्त्र धरापमा परेको चर्चा छ । कमजोर कार्यान्वयन प्रणाली तथा संस्थागत भ्रष्टाचार आदिको कारण प्रायःजसो परियोजनाहरूमा लाभको तुलनामा लागत धेरै माथि पुगेको हुन्छ ।

भौतिक परियोजना होस् या राहत, भत्ता, अनुदान आदिमा होस् ! सरकारी खर्च बढ्दा समाजमा नगद या आय प्रवाह बढेको हुन्छ तर कुल नगद प्रवाह बमोजिम वस्तु तथा सेवाको आपूर्ति बढ्न सकेन भने मूल्य वृद्धि वा मुद्रास्फीतिको समस्या उत्पन्न हुन्छ । त्यसको एउटा असर सीमित मौदि्रक आय हुने आम जनताको वास्तविक आय वा क्रयशक्ति घटाइदिन्छ अर्को देशको आन्तरिक उत्पादनको लागत बढ्छ, प्रतिस्पर्धी क्षमता कमजोर बन्छ ।

नेपालका प्रमुख राजनीतिक दलहरूमा लोकपि्रयताको लागि अन्धाधुन्द खर्च बढाउने, जथाभावी परियोजना बाँड्ने गैरजिम्मेवार होडबाजी चलेको छ । जसका कारण पनि नेपालको अर्थतन्त्र अनुत्पादक र महँगो बनेको छ, जहाँ आन्तरिक होस् वा बाहृय व्यावसायिक लगानी आकषिर्त हुन मुश्किल छ । विश्वव्यापीकरणमा समावेश भइसकेको र खुला अर्थतन्त्रको नीति अंगीकार राष्ट्रको उद्यम व्यवसाय विश्वबजारमा खरो उत्रन सकेन भने आर्थिक विकास होइन विपत्ति निम्तिन सक्छ ।

जापानको प्रगतिको बखान नगर्ने नेपाली नेता सायद कोही छैनन् होला तर त्यो प्रगतिको रहस्य बुझ्ने पनि विरलै छन् होला । जापान संसारको एक प्रमुख स्टिल उत्पादक मुलुक हो । सन् १९५० ताका त्यहाँ श्रमको ज्याला सस्तो हुँदा पनि स्टिल उत्पादनको लागत यूरोपको भन्दा ५० प्रतिशत महँगो थियो, जुन विश्व बजार प्रतिस्पर्धाको लागि चुनौतीपूर्ण थियो । व्यापक प्राविधिक तथा व्यवस्थापकीय सुधार गरेपछि सन् १९७५ तिर श्रमको मूल्य विकसित मुलुकको स्तरमा पुगे पनि त्यहाँ उत्पादित स्टिल संसारमै सस्तो हुन पुगेको थियो ।

नेपालमा सुरक्षित अर्थतन्त्र र अपेक्षित समृद्धिको निम्ति सरकारी वा गैरसरकारी सबै क्षेत्रमा संस्थागत तथा व्यवस्थापकीय क्षमतामा आमूल सुधार हुनुपर्दछ । समकालीन अर्थतन्त्र ज्ञानमा आधारित बनेको छ, उत्पादनमूलक ज्ञान तथा प्रविधिको इन्भेन्शन एवं इन्नोभेशनको पर्याप्त लगानी र प्रोत्साहन हुनु जरूरी छ । साथै नेपालमा उद्यम व्यवसाय तथा बसोबास, सहज र सुरक्षित छ भन्ने विश्वासको वातावरण निर्माण हुनुपर्दछ । आधुनिक अर्थतन्त्रको रेल विश्वासको लिकमा गुडेको हुन्छ जुन नैतिक मूल्यहरूको धरातलमा अडेको हुन्छ । नेपालका प्रमुख राजनीतिक पार्टीहरू मूलतः यहींनेर चुकेका छन् । उनीहरूको नारा र पारामा विकराल विरोधाभास छ ।

(हाल कोपेनहेगन, डेनमार्कमा रहेका पौडेल विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म पुस्तकका लेखक पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?