+
+

प्रदेश १ मा पानी पर्न थालेपछि बल्ल राहत संकलन

नगर प्रहरीलाई पनि तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १५:३९

२१ असार, विराटनगर । गत मंगलबार वर्षासँगै सिंघिया खोलामा आएको बाढीका कारण किनार आसपासका बासिन्दा विस्थापित भए । उद्धारमा खटिएको स्थानीय प्रशासनले सोही दिन बैठक बसेर राहत उपलब्ध गराउन निजी क्षेत्रलाई आग्रह गर्‍यो।

प्रशासनको आग्रहपछि निजी क्षेत्रले सहयोग पनि गरे । निजी क्षेत्रले गरेको सहयोग केही वितरण भयो । बाँकी जिल्ला प्रशासन कार्यालय मोरङमा राखिएको छ । बाढीबाट विस्थापितहरुलाई स्थानीय सरकारले तत्कालै राहत सामाग्री उपलब्ध गराएको थियो ।

मौसममा सुधार आएका कारण प्रभावितहरुलाई थप सास्ती परेन । उद्धारका लागि पूर्व तयारी गरेको प्रशासनले हरेक वर्ष बाढी आएपछि राहत संकलन गरेर वितरण गर्दै आएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल सुरुवाती चरणमा वडाहरुले राहत वितरण गर्ने र त्यसपछि जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले सहयोग गर्ने बताउँछन् । खाद्यान्य लगायतका सामग्री निजी क्षेत्रलाई उपलब्ध गराउन आग्रह गरिएको उनले बताए ।

उनका अनुसार उद्धारका लागि पूर्व तयारी छ । गत मंगलबार प्रहरी टोली उद्धारमा खटिएको बताउँदै उनले डुवान प्रभावितको उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरीसँग आवश्यक सामग्री तयारी अवस्थामा छन् । विराटनगर महानगरपलिकाको नगर प्रहरी र रंगेलीमा पनि उद्धारका लागि बोट उपलब्ध गराइएको उनले बताए ।

गत मंगलबारको बाढीले क्षति गरेका स्थानहरुमा मर्मतको काम भइरहेको उनले बताए । विभिन्न खोलामा आएको बाढीले उर्लाबारी, पथरी र रंगेली क्षेत्रमा कटान गरेको थियो । कटान भएको क्षेत्रमा रोकथामको काम भइरहेको उनले बताए ।

जिल्लामा उद्धार र राहतका सामग्री स्टकमा राखिएको उनको भनाइ छ । ‘एक हजार पाँच सय हाराहारी त्रिपाल छन्, तत्काल राहत वितरणका लागि आवश्यक पर्ने भुजा चाउचाउ पनि छन्,’ उनले भने,‘ सम्भावित विपदको जोखिम नियन्त्रण गर्न स्थानीय तहहरुले पनि पूर्व तयारी गरेका छन् ।’

प्रदेश १ सरकारले पनि विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता ओमकार न्यौपाने बताउँछन् । स्थानीय पालिका र जिल्ला तहलाई आवश्यक परेको अवस्थामा प्रदेशले सहयोग गर्ने उनले बताए ।

प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराएको बताउँदै उनले प्रदेश सरकारले आवश्यक सामाग्रीको जोहो गरेको बताए । प्रदेशमा प्रभावितलाई वितरण गर्ने खाद्यान्य बाहेक अन्य सामग्री छन् । आवश्यक परे तत्कालै खाद्यान्न पनि उपलब्ध गराइने उनको भनाइ छ । उनका अनुसार मन्त्रालयमा दुई हजार पाँच सय हाराहारी त्रिपाल र अन्य उद्धार सामग्री स्टकमा छ । केन्द्रबाट पनि सामग्री आउनेक्रममा रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीका अनुसार उद्धारका लागि पालिकाहरुका नगर प्रहरीलाई पनि जिम्मेवार बनाइको छ । बाढी प्रभावितको उद्धारको अभ्यास गर्दा नगरप्रहरीलाई पनि सहभागी गराएको उनले बताए ।

विराटनगरको नगर प्रहरीलाई तालिमपछि उद्धारमा प्रयोग हुने बोट लगायतका सामग्री पनि उपलब्ध गराईएको छ । ‘यो पटक हामीले विगतको भन्दा राम्रोसँग पूर्व तयारी गरेका छौं,’ उनले भने,‘उद्धार र राहत वितरण प्रभावकारी हुन्छ ।’

उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको बताए । गत मंगलबार आएको बाढी प्रभावितका लागि तत्काल राहत वितरण गर्न प्रदेशले पनि सहयोग गरेको बताउदै उनले ताप्लेजुङ पहिरो पीडितलाई पनि राहत उपलब्ध गराइएको दाबी गरे । प्रदेश १ का १४ मध्ये ११ वटा जिल्लामा पहिरोको जोखिम छ । तराईका ४ वटा जिल्लामा बाढी र डुवानको जोखिम बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?