+
+

‘नेपाली लेखकमा अरुको पुस्तक पढ्ने बानी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ६:५४

हाइकु वा डायोस्पोरिक साहित्य ?

प्रकाश पौडेल ‘माइला’सँगको साक्षत्कारमा यी दुई विषय एकसाथ उठ्छ । किनभने उनी एकातिर ‘हाइकु’ क्रान्ति छेडिरहेका छन् भने अर्कोतिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को कप्तानी पनि सम्हालिरहेका छन् । यतिबेला ‘हाइकु’ रसिक विषय हुनसक्छ अनि ‘अनेसास’ जल्दोबल्दो ।

सुरु गरौं, जल्दोबल्दो प्रसंगबाटै ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली विदेशिने क्रम बढ्यो । यो लस्करमा नेपाली स्रष्टाहरु पनि थिए । यसरी लेखक, कवि, साहित्यकारहरु को कहाँ, को कहाँ पुगे । विश्वभर छरपस्ट भए ।

सन् १९९१ । अमेरिकामा रहेका स्रष्टाहरु गोलबद्ध भए । उनीहरुले एउटा संस्थालाई जन्म दिए, अन्तर्राष्ट्रिय साहित्य समाज । यसको कप्तान थिए, होमनाथ सुवेदी ।

जापान, अमेरिकालगायतका ठाउँ, जहाँ-जहाँ उनी पुगेका छन् त्यहाँका पुस्तकालय चहारेका छन् । उदेकलाग्दो कुरा चाहिं के भने, विश्व साहित्यको ती भण्डारमा नेपाली पुस्तकको नामोनिसान भेटेनन् । विश्वका साहित्य हामी खपत गर्छौं । तर विश्व समुदायमाझ हाम्रो साहित्य निर्यात भएको छैन ।

धर्तीको जुनसुकै गोलाद्र्धमा पुगे पनि सर्जकहरुलाई नेपाली साहित्यको धङधङ्तीले छाडेन । अन्ततः उनीहरु आफ्ना साथी–संगती खोज्दै अनेसासमा जोडिए । वासिङ्टन डीसीबाट सुरु भएको यो संस्था अमेरिकाको अरु सहरमा विस्तार हुँदै गयो । यो क्रम अमेरिका हुँदै बेलायत, पोर्चुगल, जापानलगायतका थुप्रै मुलुकमा पुग्यो र यसले प्रवासी स्रष्टाहरुलाई एकत्रित गरे । लेखक, कविलगायत भाषा–साहित्यमा रुचि राख्ने २३ सय जना आजीवन सदस्य छन् ।

आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को विश्वभर ६ दर्जन हाराहारी शाखा चलायमान छन् । प्रवासमा रहेका नेपाली लेखकहरु जहाँ पुगे पनि ठोक्किने ठाउँ हो यो ।

अनेसास यस्तो साझा चौतारी भइदियो, जहाँ सर्जकहरुले आफ्नो मनको भारी बिसाउन सकोस् । चाहे कवि गोष्ठी गरेर होस् वा पुस्तक प्रकाशन गरे, चाहे साहित्यिक जमघट गरेर होस् वा भ्रमण गरेर । उनीहरुले कहीं न कहीं नेपाली साहित्यलाई प्राण दिने काम गरिरहे ।

तर के अनेसासका लागि यति नै काफी थियो ?

‘होइन’ प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘खासमा त नेपाली साहित्य–संस्कृतिलाई विश्व समुदायमा अन्तरघुलन गर्नु हो ।’

अनेसासले नियमित रुपमा साहित्यिक गतिविधिलाई मात्र जारी राखेको छैन, विदेशी सर्जक र पाठकहरुलाई समेत यसमा सम्मिलित गरिरहेको छ । पौडेलको विश्वास छ, ‘यसले नेपाली साहित्यको फैलावटमा कुनै न कुनै रुपले टेवा पुर्‍याउनेछ ।’

कोरोनाकालको नेतृत्व

दुई वर्षयता अनेसासको नेतृत्व पौडेलको काँधमा आउँदै गर्दा कोरोना महाव्याधिले विश्वलाई पिरोल्दै थियो । यतिबेला भौतिक गतिविधि रोकिए पनि भावनात्मक गतिविधि बढेर गएको ठम्याइ छ उनको । कोरोनाकालमा प्रवासी लेखक–कविवीच भर्चुअल अन्तरक्रियाको मेलोमेसो मिलाइयो ।

विश्व ठप्प भएको त्यस अवस्थामा नेपाली लेखकहरुलाई भने साहित्यिक विमर्शमा गतिशील बनाएका थिए । त्यही कालमा साहित्य रचना गर्ने क्रम पनि बढेको पौडेलले बताए ।

नेपाली साहित्यको निर्यात

जापान, अमेरिकालगायतका ठाउँ, जहाँ–जहाँ उनी पुगेका छन् त्यहाँका पुस्तकालय चहारेका छन् । उदेकलाग्दो कुरा चाहिं के भने, विश्व साहित्यको ती भण्डारमा नेपाली पुस्तकको नामोनिसान भेटेनन् । विश्वका साहित्य हामी खपत गर्छौं । तर विश्व समुदायमाझ हाम्रो साहित्य निर्यात भएको छैन ।

‘अमेरिका, अस्ट्रेलिया वा कुनै पनि मुलुकमा कवि गोष्ठी गर्ने, एकअर्काको रचना सुनाउने गरेर मात्र पुग्दैन,’ पौडेलको बुझाइ छ, ‘यसले नेपाली साहित्यलाई कहीं पुर्‍याउँदैन ।’ नेपाली साहित्यले विश्व परिक्रमा गर्नुपर्छ र विदेशी पाठकलाई लोभ्याउनुपर्छ । यसका लागि नेपाली पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेर मात्र पुग्दैन, विदेशका ठूला प्रकाशन गृहले नेपाली साहित्यलाई पत्याउनुपर्छ । ‘उनीहरुले अनुवाद गर्नुपर्छ । बजार प्रवद्र्धन गर्नुपर्छ,’ पौडेल भन्छन्, ‘तब मात्र नेपाली साहित्य विश्वका पाठकको हातमा पुग्छ ।’

अरुको पुस्तक पढ्दैनन् नेपाली लेखक

जहाँ–जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली पुस्तकको खपत पनि बढ्दैछ । अनलाइनमार्फत हुने कारोबारले पनि यसलाई सहज बनाएको छ । यद्यपि नेपाली लेखक–कविहरुमा पढ्ने संस्कृति त्यति नभएको पौडेलको ठम्याइ छ । ‘हाम्रा लेखक कविहरु आफ्नो पुस्तक पढ्छन्,’ उनी भन्छन्, ‘तर अरुको पुस्तक पढ्ने प्रवृत्ति छैन जस्तो लाग्छ ।’

पौडेल अगाडि भन्छन्, ‘मैले यो पुस्तक किनें, यो पढें भनेर सामाजिक सञ्जालमा राख्ने फेसन छ । पढ्ने मान्छेले यस्तो ढोंग गर्दैन जस्तो लाग्छ ।’

अहिले साहित्यमा ‘देखावटीपन’ बढी नै मौलाएको उनले महसुस गरेका छन् । खासगरी सामाजिक सञ्जालमा होहल्ला गर्ने जमात बढेका छन् । उनीहरु साहित्यको स्तर उकास्नमा भन्दा पनि प्रचारबाजी गर्न बढी हतारिएका छन् ।

नेपाली कविलाई हाइकुबारे बताइदिनु

एक जना नेपाली कविले नेपालको टेलिभिजनमा अन्तर्वार्ता दिएछन्, हाइकुबारे । उनको अन्तर्वार्ता जापानी कविले हेरेछन् । ती कविले पौडेललाई फोन गरेर भने, ‘हाइकुको बारेमा उनले भनेका कुरा त्यति प्रष्ट छैन । खासमा हाइकु यस्तो हो । अब नेपाल गएको बेला यो कुरा स्पष्ट पार्नुहोला ।’

यो प्रसंगलाई उनी कहाँ जोड्न चाहन्छन् भने विश्वमा नेपाली साहित्यबारे चासो र चर्चा हुन थालेका छन् ।

पौडेल वर्ल्ड हाइकु एसोसिएसनमा आवद्ध छन् । त्यहाँका साहित्यिक गतिविधिमा सहभागी भइरहेका छन् र स्थानीय लेखक–कविसँग अन्तरक्रियात्मक सम्बन्ध जोडिरहेका छन् ।

उनी भन्छन्, ‘त्यहाँका कविहरुले भाषा साहित्य जोगाउन अन्तर्हृदयबाट काम गरिरहेका छन् ।’ त्यसो त भाषा, साहित्य र संस्कृतिलाई जापानीहरुले आफ्नोपन र राष्ट्रियतासँग जोड्ने गर्छन् ।

हाइकुले डोहोर्‍याउँदै जापान पुर्‍यायो

अब प्रसंग मोडौं रसिक कुरातर्फ । हाइकुको गुरुत्वबल कस्तो भने प्रकाश पौडेल माइलालाई यसले जापानसम्म तान्यो । अन्ततः उनी ‘विद्यार्थी भिसा’ च्यापेर जापान गए । जापानी भाषा सिके । लेखपढ गरे । र, त्यहीं जमे । त्यहीं रमे ।

यहाँ आइपुगेपछि ‘हाइकु’बारे केही भन्नैपर्छ । यो तीन लहरे कविताको खास बान्की छ । यसको सुरुको लहरमा पाँच, दोस्रोमा सात र तेस्रोमा पाँच अक्षर हुन्छ । यहाँ अक्षर मात्र हुँदैन, त्यसले भन्ने काव्यिक भाव पनि हुन्छ । त्यसैले त यो चोटिलो र रसिलो हुन्छ । साहित्यको ‘मेन कोर्स’मा यसलाई तिख्खर चट्नी माने हुन्छ । चट्ट जिब्रोमा रसाउने ।

जान्नेबुझ्नेहरुको भाषामा हाइकु विश्वकै लघुकाव्य हो । यसको संरचना जति छरितो र चिटिक्क परेको छ, उत्तिनै सुपाच्य पनि । तीन लहर र जम्माजम्मी १७ अक्षरमा यसले कुनै घतलाग्दो कुरा भनिसक्नुपर्छ । त्यसमा पनि प्राकृतिक विम्बको प्रयोग हुनैपर्छ ।

हाइकुको उद्गम हो, जापान । त्यहाँ हाइकु पढिन्छ र हाइकु कविलाई अत्यन्तै श्रद्धा गरिन्छ ।

‘जापान पुगेपछि हाइकु कवि भेट्ने उद्देश्य नै बोकेको थिएँ,’ पौडेल सुनाउँछन्, ‘तर सुरुवाती दिनमा पढाइ र पछि करिअरको धपेडीले गर्दा आफ्नो उदेश्य पूरा हुन सकेन ।’ जापानमा रहँदा–बस्दा उनले व्यवसाय पनि सुरु गरे । खासगरी रेस्टुरेन्ट व्यवसाय । अहिले भने उनी व्यवसाय र साहित्यलाई समानान्तर अगाडि बढाउँदैछन् ।

उनमा हाइकुप्रतिको लगाव कतिसम्म छ भने जापानमा बर्सेनि हाइकु कविलाई भेट्ने योजना नै बनाएका छन् । गएको जनवरीमा पनि उनी जापानका हाइकु सम्राट माचओ बासोको जन्मस्थल पुगे, पाँच सय ५० किलोमिटर दूरी छिचोलेर । त्यसबेला बिदाको दिन परेको थियो । त्यसैले त्यहाँ उनले प्रवेश पाउने छाँट देखिएन । पौडेलले फोन गरेर आफू धेरै टाढादेखि आएको बताए । ‘यति टाढाबाट हेर्न आएको छ भन्ने थाहा पाएपछि उनीहरुलाई दया लागेछ,’ पौडेल भन्छन्, ‘उनीहरुले प्रवेश गराए ।’

हाइकुप्रति उनमा कसरी यतिविघ्न लगाव बढ्यो ?

‘विद्यालय तहमा छँदा त म कविता लेख्ने गर्थें,’ पौडेल भन्छन्, ‘त्यसबेला कविता लेख्ने, प्रतियोगितामा भाग लिने गरिन्थ्यो ।’ २०४४ सालमा अभि सुवेदीले अनुवाद गरेको ‘जापानी हाइकु : हिजो र आज’ पढे । त्यो पुस्तक हातमा परेपछि उनलाई हाइकुको गुरुत्वबलले बेस्सरी तान्यो । अन्ततः उनी हाइकु कोर्न थाले । यसरी कोरेका हाइकु वास्तवमै हाइकु थियो वा अरु नै ? त्यसक्षण उनी खुट्याउन सक्दैनथे । तर उनले हाइकुलाई छाड्दै छाडेनन् ।

पढाइको सिलसिलामा काठमाडौं आएपछि उनको संगत भयो, रामकुमार पाण्डेसँग । उनी नेपाल हाइकु केन्द्रका अध्यक्ष थिए । २०६२ साल फागुनमा उनीहरुले एकै पटक पाँच वटा हाइकु संग्रह विमोचन भयो । त्यसमा एउटा संग्रह थियो, प्रकाश पौडेलको ।

यसरी उनी हाइकुतर्फ तानिए । आखिरमा हाइकुले नै तानेर उनलाई जापान पुर्‍यायो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?