+
+

भलिबल संघमा चुनावी सरगर्मी

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार २१ गते १९:११

२१ असार, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको नियामक निकाय नेपाल भलिबल संघमा कार्यसमितिको पदावधि सकिएको दुई वर्षभन्दा बढी भइसकेको छ ।

नयाँ खेलकुद ऐन जारी भएपछिको अन्यौलता र ऐनको आफूखुसी व्याख्याको भूमरीमा अल्झिएको संघको निर्वाचन सरगर्मी अहिले बढेको छ ।

नयाँ ऐनमा २ वर्षभित्र सबै राष्ट्रिय खेल संघहरु संघीयताअनुकुल हुने गरी प्रादेशिक संरचनामा जानैपर्ने बाध्यत्मक व्यवस्था कार्यान्वयन गर्नु पर्ने समय गत असार १७ गते नै घर्किसकेको छ ।

राखेपले ऐन कार्यान्वयनका लागि जेठ महिनामा मात्र संघहरुलाई पत्र पठाएको थियो । ऐन जारी हुनुअघि नै प्रादेशिक संरचनाको अभ्यास गरिसकेको भलिबल संघले असार १० गतेभित्रै अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गरी राखेपमा दर्ता गरिसकेको छ । विधान संशोधनका लागि उसले बनाएको कार्यदलले मस्यौदालाई अन्तिम रुप दिँदैछ ।

विश्व फुटबल महासंघ (फिफा)को डर देखाएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रादेशिक निर्वाचन नै नगरी राखेपबाट केन्द्रीय निर्वाचनको स्वीकृति पाएको थियो । भलिबल संघले भने प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गरी प्रक्रियागत रुपमा निर्वाचन गर्ने बताएको छ ।

संघले साउन ५ गते कार्यसमितिको पूर्ण बैठक बोलाएको छ । संघका महासचिव जिनेन्द्रबहादुर चन्दका अनुसार सम्भवतः सोही बैठकले साधारणसभा र चुनावको मिति घोषणा गर्नेछ । ‘यो कुरा मैले एकल निर्णय गर्नसक्ने होइन ।

कार्यसमितिमा बहुमतले निर्णय गरेको खण्डमा सोही बैठकले अधिवेशन र निर्वाचनको मिति तय गर्नेछ,’ भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले अनलाइनखबरसँग भने ।

गत जेठ २१ गते पोखरामा बसेको संघको पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो । निर्धारित समयमा ६ प्रदेश र ७७ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । भलिबल संघ देशका सबै जिल्लामा शाखा भएको सीमित राष्ट्रिय संघहरुमध्येको एक हो ।

विवादका कारण वागमती प्रदेशको अधिवेशन हुन सकेको छैन । ‘आगामी पूर्ण वैठकमा निर्वाचन हुन नसकेको प्रदेशमा के गर्ने भन्ने निर्णय गर्नेछौं,’ संघका महासचिव चन्दले भने ।

जेठ २१ को बैठकले विधानको समयानुकुल संशोधनका लागि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार गंगाबहादुर थापाको संयोजकत्वमा संघका कानूनी सल्लाहकार रामचन्द्र भण्डारी र सदस्य रोशन श्रेष्ठसहितको ३ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले पाएको समयसीमा अनुसार संशोधित विधानको मस्यौदा आगामी बैठकमा पेश हुनेछ । कार्यसमितिले निर्णय गरेपछि अनुमोदनका लागि साधारणसभामा लगिनेछ ।

२०७२ सालमै संघीय संरचनाअनुकुल हुने गरी विधान संशोधन गरेका कारण संघको निर्वाचनका लागि भलिबल संघलाई कुनै बाधा छैन । २०७४ चैतमा गरिएको अर्को संशोधनबाट प्रदेशलाई पनि मताधिकार दिने व्यवस्था गरिएको छ ।

१३६ मतदाता, यसपाली १३३ ले मात्र मत दिन पाउने

भलिबल संघमा ३९ जनाको पूर्ण कार्यसमिति रहने व्यवस्था छ । त्यसमध्ये २५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेछन् । तर, यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् ।

भलिबल संघको केन्द्रीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट १–१ मताधिकार रहने व्यवस्था छ । सात प्रदेशबाट २–२ का दरले १४ मत हुनेछ । हालको केन्द्रीय कार्यसमितिबाट ३९, रेफ्री कमिसनबाट १ र राष्ट्रिय टिम (पुरुष र महिला)का कप्तान र तीन क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र)ले संघको निर्वाचनमा मताधिकार पाउनेछन् ।

भलिबल संघको विधानअनुसार नेपाल भलिबलको प्रतिनिधित्व गरी विश्व भलिबल महासंघ, एसियाली भलिबल महासंघ, सेन्ट्रल एसियन भलिबल संघ तथा दक्षिण एसियाली भलिबल संघको पदाधिकारी भएको व्यक्तिले पनि केन्द्रीय कार्यसमिति निर्वाचनमा स्वतः मतदान प्रतिनिधि हुनेछन् । संघका महासचिव चन्द हाल सेन्ट्रल एसियन भलिबल महासंघको कोषाध्यक्ष छन् । संघको महासचिव पनि भएका कारण उनको उपस्थिति एकमात्र गणना हुनेछ ।

यसपल्टको निर्वाचनमा कार्यसमितिका ३९ मध्ये तीन जनाले यसअघि राजीनामा दिएका कारण ३६ मतमात्र हुनेछ । नयाँ खेलकुद ऐन जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)का कर्मचारी कुनै पनि राष्ट्रिय संघमा बस्न नपाउने बाध्यकारी व्यवस्था भएकाले सचिवद्वय जगदीश भट्ट र डीबी नेपाली तथा सदस्य टेककुमार राजभण्डारीले पदबाट राजीनामा दिएका हुन् ।

भलिबल संघको आगामी निर्वाचनका लागि वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

एक वर्षअघि नै उम्मेदवारी घोषणा गरेकी मास्के जिल्ला र प्रदेशको अधिवेशनका दौरान निकै सक्रिय रहिन् ।

वर्तमान कार्यसमितिका महासचिव जितेन्द्रबहादुर चन्द पनि अध्यक्षका आकांक्षी छन् । तर, उनले अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेका छैनन् । वर्तमान अध्यक्ष मनोरन्जनरमण शर्माले यसअघि नै आफू नदोहोरिने घोषणा गरिसकेका छन् ।

भलिबल संघमा प्रत्यक्ष निर्वाचित हुने पद

अध्यक्ष– १
उपाध्यक्ष– ५
महासचिव–१
सचिव–७
कोषाध्यक्ष– १
सदस्य– १०

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?