+
+

३२ महिनामा नागढुंगा सुरुङमार्गमा ३९ प्रतिशत मात्रै काम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:१८
फाइल तस्वीर

२२ असार, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३२ महिना बित्यो । ४ कात्तिक २०७६ मा ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सकिएको छ ।

लक्ष्यअनुसार काम हुने हो भने अबको १० महिना अर्थात् आगामी वैशाखभित्र आयोजना बनाइ सक्नुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोएिको समयममा पूरा नहुने अवस्था देखिइसकेको छ ।

मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ५६ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये १ हजार ३७७ मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये १ हजार ५०७ मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको १२६ मिटर वर्किङ पासेजको १२८ मिटरमध्ये ६२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले ४३६ मिटर सुरुङमा कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको १८ प्रतिशत मात्रै हो ।

३ वटा अन्डरपासमध्ये २ वटाको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

शाक्यका अनुसार फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरण पनि चलिरहेको छ ।

सडक खन्ने काम ७६ प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम ५१ प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ३१ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ४५.५० प्रतिशत रकम खर्चि सकेको छ ।

आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर निर्माण गरिंदैछ ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि शुरु गर्ने योजना थियो ।

समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । त्यसका कारण अहिले आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?