+
+

लिग टु क्रिकेट : क्यानडामा अभ्यास फितलो, स्कटल्याण्डमा चुनौती

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार २३ गते १६:३९

२३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ ।

स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो ।

क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन गर्‍यो । एकदिवसीय मान्यता प्राप्त नेपालले आफूभन्दा कमजोर टिमसँग खेल्दा पनि ब्याटिङ फ्लप देखियो ।

किङ सिटी ओन्टारियोस्थित मापेल लिफ क्रिकेट क्लब मैदानमा भएको दोस्रो एक दिवसीयमा १८९ रनको लक्ष्य पछ्याउँदा नेपाल ६२ बल बाँकी छँदै १०५ रनमै अलआउट हुँदै ८३ रनले पराजित भयो ।

चार वर्षअघि सन् २०१८ मा नामिबियामा भएको डिभिजन टू मा करण केसीले अविश्वसनीय इनिङ्स खेल्दा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो । यो जितबाटै नेपालले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्दै  पहिलो पटक एकदिवसी मान्यता प्राप्त गरेके थियो ।

त्यसपछि क्यानडासँग नेपालले ५० ओभरको खेल खेलेको यो नै पहिलो पटक हो । गत फेब्रुअरीमा ओमानमा भएको टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले क्यानडालाई सहजै ८ विकेटले हराएको थियो ।

तर यस पटक ५० ओभरको खेलमा भने नेपालले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेन ।

हुनत पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा समेत नेपालको ब्याटिङमा एकरुपता छैन । कुनै खेलमा राम्रो ब्याटिङ गर्ने नेपाल कुनै खेलमा कमजोर ब्याटिङकै कारण नतिजा विपक्षीलाई सुम्पँदै आएको छ ।

नेपालले अमेरिकामा लिग टु को शृंखला खेल्नुअघि नै क्यानडा भ्रमण गर्ने र अभ्यास गर्ने तयारी गरेको थियो । तर भिसा प्रक्रिया लामो बन्दा त्यसबेला क्यानडा जान सम्भव भएन । त्यसैले स्कटल्याण्डमा खेल्न जानुअघि यस पटक क्यानडा भ्रमणको व्यवस्था मिलाइएको थियो ।

जसमा दुई अभ्यास खेलसहित क्यानडासँग दुई ५० ओभरको खेल खेल्ने तय थियो । त्यसमा मंगलबार हुने भनिएको पहिलो एकदिवसीय खेल भने लगातारको वर्षाका कारण रद्द भएको थियो ।

नेपालले स्कटल्याण्ड नै गएर तयारी गर्ने प्रयास गरे पनि त्यसो हुन नसकेकोले क्यानडा विकल्पको रुपमा राखिएको कप्तान सन्दीप लामिछानेले बताएका थिए ।

क्यानडामा एक साताको तयारीपछि नेपाली टोली लिग टु का लागि बिहीबार राति स्कटल्याण्ड जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

स्कटल्याण्डमा नेपाललाई चुनौती

क्यानडा जानुअघि कप्तान लामिछानेले भ्रमण नेपालका लागि राम्रो अवसर हुने बताएका थिए । तर स्कटल्याण्ड र नामिबिया जस्तो राम्रो टिमसँग खेल्नुअघि क्यानडामा नेपालले सोचेअनुसारको तयारी गर्न सकेन ।

२६ असारदेखि १ साउनसम्म स्कटल्याण्डको ग्लास्गो र अयरमा हुने एकदिवसीय शृंखलामा नेपालले कूल चार खेल खेल्नेछ ।

पहिलो पटक स्कटल्याण्डमा खेल्नु, विपक्षी टिमहरु राम्रो हुन र तयारी कमजोर हुँदा यस पटक लिग टु मा नेपाललाई ठूलो चुनौती छ । स्कटल्याण्डलाई घरेलु मैदानको फाइदा हुनेछ । नेपालले फरक कन्डिसनमा खेल्नुपर्ने हुन्छ । ‘यो अरु भन्दा धेरै चुनौतीपूर्ण छ । त्यहाको कन्डिसन र मौसमले गर्दा ब्याटरलाई चुनौती छ’, सन्दीपले भनेका छन् ।

कप्तान सन्दीपले दुवै टिम राम्रो रहेको र नेपाली टिम पनि प्रतिस्पर्धा गर्न सक्ने खालको रहेको बताएका थिए ।

दुई स्पिनर सागर ढकाल र सुशन भारीलाई बाहिर राख्दै टिममा स्पीन अलराउण्डर वसिर अहमद र पवन सर्राफलाई राखिएको छ । वसिर र पवनसँगै मिडियम पेसर किशोर महतो टिममा हुँदा नेपाललाई फाइदा पुग्ने सन्दीपको विश्वास छ ।

नेपाललाई हरेक खेल २ अंकका लागि महत्वपूर्ण रहेको सन्दीपले बताए । ‘सबै गेम हामीलाई २ अंकका लागि महत्वपूर्ण छ । यहाँबाट धेरै गेम जितेर घर फर्किए अंकतालिकामा पनि राम्रो हुन्छ,’ सन्दीपले क्यानडा जानुअघि भने, ‘हामी तीन खेल जित्ने सोचमा छौँ । चार खेल जिते सुनमा सुगन्ध हुन्छ । तीन खेल जिते पनि सन्तुष्ट हुन्छौँ ।’

नेपालले लिग टु मा ३६ मध्ये १६ खेल खेल्दा ७ जित र एक बराबरीबाट १५ अंक जोडेको छ । सन्दीपले लिग टु मा माथिल्लो स्थानमा यही टुरबाट राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘यो टुरपछि १६ गेम बाँकी हुन्छ । १६ मध्ये त्यसमा कति खेल जित्नु पर्ने हुन्छ भन्दा पनि अहिले सुरु गर्‍यौँ । बाँकी २० खेलमा जति सकिन्छ जितेर अघि बढ्नुपर्छ ।’

सन्दीपको ट्वीट र चर्चा

क्यानडा पुगेपछि सन्दीपले शून्य समर्थन र एक्लै लड्नुपर्ने भन्दै ट्वीट गरेका थिए । जसले टिममा सन्दीपले सपोर्ट नपाएको र एक्लै लड्नुपर्ने अवस्था आएको बुझ्न कठिन भएन । पछिल्लो समय नेपाली क्रिकेट टिममा गुट उपगुटको चर्चा चलिरहे पनि त्यसलाई सम्बन्धित पक्षले नकार्दै आएको थियो । तर सन्दीपकै यस्तो ट्वीटले भने टिममा एकता नभएको हो कि भन्ने प्रश्न उब्जाएको छ ।

यस्तै सन्दीपले केही दिनअघि पूर्व उपकप्तान तथा हालका राष्ट्रिय टिमका सदस्य दीपेन्द्र सिंह ऐरीको प्रशंसा गर्दै ट्वीट गरेका थिए ।

यस्तै क्यानडासँगको खेलमा पराजित भएपछि सन्दीपले अर्को ट्वीट गरेका छन् । जसमा उनले कठिन अनुभवले नै सबैभन्दा धेरै कुरा सिकाउने लेखेका छन् । ‘याद गर्नुहोस् सबैभन्दा कठिन अनुभवहरू प्रायः ती हुन् जसले हामीलाई सबैभन्दा धेरै सिकाउँछन्’, सन्दीपले ट्वीटमा लेखेका छन् ।

सायद क्यानडा भ्रमणमा यस पटक सन्दीपले व्यक्तिगत रुपमा र टिममा पनि चुद्ददतीको सामना गर्नुपर्‍यो । परिस्थितिले पनि उनलाई धेरै कुरा सिकाएको हुन सक्छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?