+
+

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदर्शनकारी मेन गेटमा चढेर परिसरमा घुसे । प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते २०:१२

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।

यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।

शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।

प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

स्वीमिङ पुलमा नुहाए, बिछ्यौनामा सेल्फी

गोटा गो होमको नारा लगाएर राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारी भान्सा र बेडरुममा समेत प्रवेश गरेका थिए । सार्वजनिक भएको भिडियो फुटेजहरुमा कतिपय प्रदर्शनकारीले राष्ट्रपतिको बिछ्यौनामा सुतेर सेल्फी लिएको देखिन्छ ।

कतिपय प्रदर्शनकारीले भने राष्ट्रपति कार्यालय परिसरमा रहेको स्वीमिङ पुलमा नुहाएका छन् ।

राजीनामा दिन प्रधानमन्त्री तयार

शनिबार नै प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए, जहाँ उनले सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।

नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि प्रधानमन्त्री, विपक्षीको प्रस्तावमा सहमत भएको उनको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् थप तस्वीरहरु

तस्वीरहरु : डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?