+
+

बागलुङमा राहदानी बनाउन सकस

रासस रासस
२०७९ असार २६ गते १४:५२

२६ असार, बलेवा । चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङ पुगिन् । आफन्तका साथमा कार्यालयमा पुगेकी उनको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने ।

राहदानीको फाराम भर्नुपूर्व राष्ट्रिय परिचयपत्रको फाराम भर्नुपर्छ । तोकिएको अनुसूचिमा आफैंले अनलाइनमा फाराम भरेपछि राष्ट्रिय परिचयपत्रका सबै काम एकैछिनमा प्रशासन कार्यालयले गर्छ । आचार्यले राष्ट्रिय परिचयपत्रको फाराम कार्यालयअघि रहेको एक कम्प्युटर सेन्टरमा पुगेर भरिन् ।

उनको हातमा उक्त परिचयपत्रको फाराम भरेको एकप्रति थमाइएपछि प्रशासनका कर्मचारीले भने ‘अब राहदानीका लागि आफैँले मिति लिनुहोस्, अनलाइन फाराम भर्नुहोस् र फोटो खिचाउन तोकिएको मितिमा आउनुहोस् ।’

आचार्य कम्प्युटर जान्दिनन्, उनीसँगै आएका आफन्त पनि कम्प्युटरमा दख्खल थिएनन् । ‘कहाँ जाने, कसरी फाराम भर्ने, मेसो पाइएन’, सँगै आएका प्रेम पौडेलले भने, ‘फेरि पालो कुर्नुपर्छ भन्छन्, पालो लिने कसरी भन्ने थाहा भएन, अनि हामीले अघिकै ठाउँमा गएर सोध्यौँ ।’

आफैँले फाराम भर्न नसक्ने भएपछि उनीहरु त्यहाँ पुगे । इमर्जेन्सी भए छिट्टै पालो आउने र नभए मिति लिन एक महिना लाग्ने जवाफ पाए । राष्ट्रिय परिचयपत्र जस्तै राहदानीको पनि एकैछिनमा काम सकिने आशा राखेकी आचार्यको राहदानीका लागि फाराम भर्ने, तस्वीर खिचाउने समय तालिका पाउनै एक महिना लाग्ने रहेछ ।

चितवनबाट राहदानीकै लागि बागलुङ आएकी आचार्य उतै फर्किन् । अनलाइनमार्फत समय तालिका लिएर फाराम भर्न उनले बागलुङ बजारकै आविश्कार स्टेशनरीमा कागजात छोडिन् तर कहिले समय पाइन्छ थाहा छैन । प्रशासनका अनुसार मङ्गलबार साँझ ५ बजेपछि र शुक्रबार दिउँसो ३ बजेपछि बुकिङ खुला हुने सूचना गरिएको छ । यही समस्याका कारण आचार्य र उहाँजस्ता कयौँले समयमा राहदानीको फारामसमेत भर्न पाएका छैनन् ।

काम गर्दागर्दै कोटा फुल भएको भन्छ, सर्भर इरर देखाउँछ, खुलिनसक्दै कसले फाराम भर्छ र यस्तो हुन्छ ? आविष्कार स्टेशनरीका सञ्चालक चन्द्रप्रकाश शर्माले भने, ‘धेरै जनाले दुःख पाइयो भनेर आउने गर्नुभएको छ ।’

जिल्ला प्रशासन कार्यालयमा दैनिक ४० जनाले राहदानीका लागि तस्विर खिचाउँछन् । १५० जनाले राष्ट्रिय परिचयपत्र बनाउने गरेको तथ्याङ्क प्रशासनसँग छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

‘राष्ट्रिय परिचयपत्रको रेसियो हेर्दा सोही अनुपातमा राहदानी बनाउने पनि आउँछन् तर फाराम भर्ने, फोटो खिचाउने मिति नै पाउँदैनन्’, शर्माले भने, ‘सर्वसाधारणका लागि सहज होस् भनेर ल्याइएको सिस्टमले न समयमा काम भएको छ, न त खर्च बचेको छ, यो त झन दुःख पाउने काम भयो ।’

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ‘सिङ्गल युनिट डिभाईस’का कारण हरेक दिन राहदानीका लागि आउने सबैको फाराम भर्न सकिएको बताए ।

फाराम लाभग्राही आफैँले भर्नुपर्ने भए पनि त्यहाँ प्रवष्टि गर्नुपर्ने कागजात र जानकारी जोकोहीले प्रविष्ट गर्न कठिन रहेको उनले स्वीकारे । ‘फाराम मैले नै भर्न नसक्ने खालको छ, कठिन हुन्छ, साइवरबाट फाराम भरेर लाभग्राही आउने गर्नुभएको छ’, उनले भने, ‘राहदानी विभागले डिभाइस, युनिट र जनशक्ति बढाइदिए काम गर्न सहज हुन्छ ।’

राहदानीका लागि आउने लाभग्राहीले छिमेकी जिल्लामा जत्तिकै पनि बागलुङमा सहज नभएको गुनासो गर्दै आएका छन् । प्रशासनबाटै काम गर्न पनि आसपासका कम्प्युटर सेन्टर र साइबरको भर पर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

दैनिक ४० जनाको तस्बिर खिच्ने प्रशासनले विद्युत् आपूर्ति अनियमित हुँदा दिनमै १०/१५ जनाको मात्रै फाराम भर्नुपर्ने स्थिति आउने गरेको प्रजिअ ढकालले बताए । ई–पासपोर्ट सुरु भएदेखि कोही कसैले पनि राहदानीका लागि सदरमुकाम आएर एकै दिनमा काम सक्दैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?