+
+

बूढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवारलाई दोस्रो प्रयासमा सफलता

रामहरि ओझा रामहरि ओझा
२०७९ असार २६ गते १६:०१

२६ असार, डोटी । ०७४ सालको निर्वाचनमा बाजुराको बूढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर बानियाँ ।

त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकबिक्रम शाहसंग उनले २८५ मत अन्तरले पराजित भएका थिए । शाह ३ हजार ८४५ मत पाई निर्वाचित हुँदा बानियाँले ३ हजार ५६० मत पाएका थिए ।

तर, यस पटकको स्थानीय तह निर्वाचनको आइतबार सकिएको मतगणनामा भने बानियाँले बाजी मारे । एमालेबाट नगर प्रमुखको उम्मेदवारमा दोहोरिएका बानियाँले १ हजार ३ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीलाई पराजित गरे । बानियाँले ४ हजार ७७७ मत पाउँदा खातीले ३ हजार ७७४ मतमात्रै पाए ।

यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का (कुँवर) पनि दोस्रो परीक्षामा जनअनुमोदित भइन् । उनी ०७४ को निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तारादेवी खातीसंग २३२ मतको अन्तरले पराजित भएकी थिइन् । त्यतिबेला खातीले ३ हजार ७६० मत पाएर निर्वाचित हुँदा कुँवरले ३ हजार ५२८ मत पाएकी थिइन् ।

०७४ सालमा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । यसपटक एमालेमा उनीहरुले नै दोहोर्‍याएर टिकट पाए र निर्वाचित पनि भए ।

यस पटक उनले आफ्नी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रीता शाही (शाह) लाई ९७२ मत अन्तरले पराजित गरिन् । कुवँरले ४ हजार ७२७ मत पाइन् भने शाहले ३ हजार ७५५ मत पुर्‍याइन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवारहरु फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।

१० वटा वडा रहेको बुढीगंगा नगरपालिकामा ०७४ को निर्वाचन भन्दा वडामा पनि फरक नजिता देखिएको छ । यसपटक ७ वटा वडाका वडाध्यक्षहरु एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गएको निर्वाचनमा कांग्रेसले वडा नं. १, ४, ७ र ८ गरी ४ वडामा जित हासिल गरेको थियो । यस पटक कांग्रेसबाट एमालेले वडा नम्बर १ को नेतृत्व खोस्न सकेको छ ।

यस निर्वाचनमा एमालेबाट वडा नं. १ मा रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर साउँद वडाध्यक्षमा बिजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट वडा नंं. ४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेश बहादुर रावल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बुढीगंगामा नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन् । यस पटक ९ हजार १२४ मत खसेको थियो ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको भन्दै मतदाताहरुले समेत बिरोध गरेका थिए ।

२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसको आरोप थियो । यस्तै, वडा नं. ४ र ७ का मतदान स्थलहरु कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको एमालेको आरोप थियो । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

वडा नं. ४ मा ९९.४१ प्रतिशत मत खसाइएको थियो । वडा नं. २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलका १९ मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?