+
+

प्रचण्डलाई चीनको सन्देश : वामपन्थीहरु मिलिदिए हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २१:२१

२७ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगेर भेटवार्ता गरेका छन् ।

संयुक्त भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, पम्फा भुसाल, राम कार्की पनि सहभागी थिए ।  माओवादी सम्वद्ध स्रोतका अनुसार लिउले प्रचण्डसँग छुट्टै पनि सम्वाद गरेका थिए ।

विदेश विभाग प्रमुख भएपछि पहिलो पटक नेपाल आएका उनले सी जिनपिङ विचारधारा के हो ? चिनियाँ कम्युनिस्ट पार्टीले कसरी काम गर्छ ? भन्ने विषयमा लामो छलफल गरेका थिए । दुई देश र पार्टीको सम्बन्धबारे छलफलका क्रममा लिउले ‘नेपालका वामपन्थीहरु मिलिदिए हुन्थ्यो’ भन्ने बेइजिङको सदासयता लुकाएनन् ।

माओवादी नेताहरुले पनि आफूहरु त्यसका लागि सकारात्मक रहेको जवाफ दिएका छन् ।

माओवादी नेता श्रेष्ठका अनुसार लिउले पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप भने नगर्ने प्रष्ट बताएका छन् । ‘नेपाल र नेपालको कुनै पनि पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको कुरामा उहाँले जोड दिनुभयो’ भेटपछि श्रेष्ठले पत्रकारहरुसँग भने ।

लिउले नेपालको विकासको प्रक्रियामा चीनले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाउँदै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता अनुसार नेपालले योजनाहरु छनोट गरेमा ठोस रुपमा छलफल गर्न सकिने बताएका छन् ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । उनले नेपालको विकास प्रक्रियामा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै चीनमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समस्या समाधान गर्न चीनको ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठका अनुसार प्रचण्डले नेपाल र चीन बीचको ब्यापार घाटा कम गर्ने विषयमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

आइतबार काठमाडौं ओर्लिएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका सीपीसी विदेश विभाग प्रमुख लिउले भोलि मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?