+
+

अलग्गिए उपेन्द्र र बाबुराम, आज दुवै पक्षको समानान्तर बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते ११:२७

२८ असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् ।

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।

भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

यादव र भट्टराईले पार्टीबाट अलग-अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् ।

अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी हुन वीरगञ्ज पुगिसकेका छन् । यादव पक्षले भट्टराई पक्षको बैठक विधान विपरीत भएको भन्दै आफ्नो बैठक आधिकारिक भएको दाबी गरेको छ ।

बाबुराम भट्टराई पक्षको बैठक स्थल ।

भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठले विस्तारित बैठकमा समसामयिक राजनीतिसँगै पार्टी नेतृत्वमा देखिएको समस्याका विषयमा छलफल गर्ने बताए ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो ।

पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो । तर यादव र भट्टराईबीच एक-अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो ।

मतभेद उत्कर्षमा पुगेपछि शीर्ष दुई नेताहरुले सहमतिमै अलग-अलग हुने समझदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?