+
+

७०० जनाबाट छानिएर बनेको यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार २८ गते १३:००

२८ असार, काठमाडौं । कोभिड-१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ ।

साफ यू-२० यही जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० एसिया कप छनोट आगामी सेप्टेम्बरमा बहराइनमा हुँदैछ ।

यसपटक यू-२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिएको थियो । उनलाई बालगोपाल साहुखल र उज्जल मानन्धरले सघाइरहेका छन् । अहिले प्रशिक्षणमा ३० जना खेलाडी छन् । यहीबाट अन्तिम टिम छनोट गरिनेछ ।

यसअघि एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको टिमले सोमबारदेखि दशरथ रंगशालमा प्रशिक्षण थालेको छ । लामो समयपछि उमेर समूहको टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले खेलाडीदेखि प्रशिक्षक सबै जना उत्साहित छन् ।

खुला छनोट बाध्यता

फरक परिस्थितीमा निर्माण भएको टिमले साफ यू-२० मा राम्रो प्रदर्शन गर्दै नतिजा निकाल्ने आशा गरेको छ । त्यसका लागि अहिले दैनिक दुई पटक प्रशिक्षक चलिरहेको छ ।

वर्तमान नेपाली फुटबलको परिवेशका कारण नै खुला छनोटबाट टिम निर्माण गर्नुपरेको प्रशिक्षक मेघराज केसीले बताए ।

‘अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो । कोभिडले पनि असर गर्‍यो । यू-२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन । आज भन्दा ५-६ वर्षअघि यू-१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि,’ केसीले भने, ‘एक डेढ महिनाको समयमा नेपालभरीबाट ७०० जना बच्चाहरु आएका थिए । १० दिन लगाएर ४१ जना छान्यौँ । यसले नेपालमा फुटबल कल्चर छ भन्ने देखिन्छ ।’

सुरुमा खुला छनोट गर्दा टिम कस्तो होला भन्ने कौतुहलमा भए पनि अहिले आफूले राम्रो टिम पाएको प्रशिक्षक केसीको विश्वास छ । ‘कस्तो होला टिम भन्ने थियो । जुन लेभलको टिम पाएको छौँ त्यो पाउँदा म खुशी छु  । नेपालमा फुटबलको कल्चर रहेछ भन्ने देखिएको छ । खेलाडीहरु फिजिकल्ली राम्रा छन् । सन्तुष्ट नै छु । सबैले मेहनत गरेका छौँ । नतिजाको पनि निकै आशा गरेका छौँ ।’

उमेर समूहको टिम भविष्यमा राष्ट्रिय टिमको आधार पनि हो । अझ य-२० र यू-२३ बाट सिधै राष्ट्रिय टिममा पुग्न सक्छन् ।

तर यस पटक खुला छनोटबाट टिम बनाउनु बाध्यता भएको केसीले बताए । ‘नेपालको फुटबलको स्थितिले यस्तो भएको हो । संसारमा कोभिडले धेरै खेल रोकियो । नेपालमा उमेर समूहको खेल भएन । त्यसले गर्दा समयले त्यस्तो बनाएको हो  । त्यही भएर खुला छनोट भयो । उमेर समूहको प्रतियोगिता भाको भए त्यही टिमबाट छनोट हुन्थ्यो । यो बाध्यता पनि थियो । कसरी टिम बनाउनेत केही न केही सपोर्ट त चाहियो ।’

राम्रो खेलाडीहरु छन् भन्ने सन्देश

यसअघि उमेर समूहमा ललित स्मृति यू-१८ च्याम्पियनससिप हुन्थ्यो । जसमा ए डिभिजन क्लबका उमेर समूहका टिमले पनि खेल्थे । त्यसबाट यू-१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो । तर यस पटक कोभिडका कारण त्यो प्रतियोगिता भएन । जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आएका छैनन् ।

त्यसैले यस पटक खुला छनोट गर्दा देशैभरबाट खेलाडीले अवसर पाएको र राम्रा खेलाडीहरु छनोट गरिएको प्रशिक्षक केसीको दावी छ । ‘सबभन्दा ठूलो कुरा के छ भने अहिले जति खेलाडीहरु छन् तिनीहरुलाई के लागेको छ भने ममा ट्यालेन्ट छ भने मैले चान्स पनि पाउँछु भन्ने सन्देश गएको छ । किनभने सबै ठाउँबाट खेलाडी आएका थिए र सबै ठाउँबाट प्रतिनिधित्व गर्ने खेलाडी छन् जस्तो लाग्छ । राम्रो गरे जहाँको भए पनि राष्ट्रिय टिममा ठाउँ पाँउछु भन्ने सन्देश जान्छ । खेलाडीमा पनि जोश बढ्छ ।’

कति खेलाडीहरु पहिलो पटक दशरथ रंगशालमा प्रशिक्षण गर्न आएका छन्  र ती खेलाडी १० दिनपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न जाँदैछन् भने उनीहरुको मेहनत अझ बढ्ने केसीको विश्वास छ ।

खुला छनोटले नेपालमा आफ्नै गाउँठाउँमा खेल्ने खेलाडी पनि यहाँसम्म आइपुगेका छन् । ‘यो राम्रो भन्दा पनि बाध्यता हो । त्यसले फाइदा पुर्‍यायो । एक्स्ट्रा गर्‍यौँ भने होइन’, केसीले भने ।

खुला छनोटबाट राष्ट्रिय टिममा खेलिरहेका युवा खेलाडी आयुष घलान पनि यो टोलीमा परेका छन् ।

उनी केही समयअघि मात्रै कुवेतमा एएफसी एसियन कप छनोट खेलेर आएका हुन् । यद्यपी उनकै ब्याचका खेलाडीहरु टिममा रहेकोले सबै उस्तै छन् ।

प्रशिक्षक केसीले आयुष घलान अहिले राम्रो गरिरहेको खेलाडी भएको सबैको रोलमोडल भएको बताए । तर आफ्नो टिममा सबै आयुष घलान नै भएको बताए । ‘पक्कै पनि आयुषले छोटो समयमा राम्रो गरेको छ । सबैका लागि रोल मोडल हुन सक्छ । उसले प्रमाणित पनि गरिरहेको छ । उ सक्षम पनि छु’, केसीले भने,  ‘तर म अलग सोच्छु । मेरो लागि यहाँ भएका सबै आयुष घलान हुन् । त्यो तपाईँले पनि पाउनुहुन्छ ।’

आयुषले भने सिनियर र जुनियर टिममा केही फरक हुने बताए । ‘सिनियर र जुनियर फरक त हुन्छ नै । यो उमेर समूह हो । व्यावसायिक स्तरमा फरक हुन्छ । व्यवहार फरक पाएँ । कम्बिनेसन सजिलै लाग्यो । आफ्नै ब्याचको भएकोले सबै जना मिलेर मेहनत गरेका छन् ।’

प्रशिक्षक केसीले यो टिमबाट भविष्यमा धेरै खेलाडी राष्ट्रिय टिममा पर्ने समेत बताए ।

राम्रो नतिजा ल्याउने विश्वास

यसअघि साफ यू-१९ र साफ यू-१९ को नामबाट प्रतियोगिता भएको थियो । जहाँ नेपालले सुरुको दुई संस्करण उपाधि जितेको थियो ।

तेस्रो संस्करणमा भने नेपाल घरेलु मैदानमै समूह चरणबाटै बाहिरियो ।यस पटक यू-२० लेभलमा प्रतियोगिता हुँदैछ । ‘हाम्रो प्रदर्शन उच्च रहन्छ त्यसमा ग्यारेन्टी दिन सक्छु । टिमले राम्रो गरेपछि रिजल्ट पनि राम्रो पाइन्छ । रिजल्ट अहिले केही भन्न सकिन्न । राम्रो प्रदर्शन गरेपछि नतिजा राम्रो हुन्छ’, केसीले भने ।

प्रशिक्षक केसीले टिमको बलियो र कमजोर पक्ष भन्दा पनि सबैले मेहनत गरेको र प्रतिस्पर्धा गर्न लायक टिम बनेको बताए । भने, ‘फुटबलको कुरा गर्दा यो राम्रो र यो कमजोर भन्ने भन्दा सबै पक्ष बलियो छ । हाम्रो बलियो पक्ष भनेको हाम्रो फाइटिङ टिम छ । टिम वर्क एकदमै बलियो हुन्छ । नेपाली फुटबलको बलियो टिम देख्नुहुन्छ ।’

प्रशिक्षक केसीले उमेर समूहको भएकोले विपक्षी टिमको बारेमा त्यति थाहा नहुने र आफ्नो प्रदर्शनमा केन्द्रित हुने बताए । ‘राष्ट्रिय टिम भएको भए विपक्षीको बारे जानकारी हुन्थ्यो । हामी साउथ एसियामा छौँ । अरु टिमको यू-२० कस्तो भनेर अहिले देख्न पाएको छैन । खासै अध्ययन गर्ने मौका पाएका छैनौँ । हामी कसरी बलियो हुने भनेर त्यसमा केन्द्रित छौँ ।’

साफ यू-२० र एएपसी यू-२० एसिया कप दुवै टिमको प्रशिक्षक बनेका केसीले आफ्नो लागि पनि यो अवसर र चुनौती दुवै भएको बताए । ‘चुनौती र अवसर दुवै हो । मैले के विश्वास गर्छु भने मैल मिहिनेत गर्नुपर्छ, मैले नतिजाका लागि काम गर्नुपर्छ, राष्ट्रिय लेभल होस् या सानो लेभल मैले मेहनत गर्नुपर्छ र नतिजा ल्याउनुपर्छ ।’

उनले जुनैसुकै लेभलको भए पनि राष्ट्रिय टिम हेर्न पाउनु ठूलो विषय भएको बताए । ‘कुनै पनि प्रशिक्षकका लागि कुनै पनि लेभलको राष्ट्रिय टिम पाउनु ठूलो कुरा हो । त्यसमा आफैले आफूलाई प्रमाणित गर्न सजिलै हुँदैन । तर मेरो काम यही हो । आफ्नो कामलाई गाह्रो भन्दिन । यो बेला सब नेपाली फुटबल फ्यानलाई खुशी बनाउनु आवश्यक छ । किनकी लामो समय ग्याप भएर आउँदा पनि नेपाली फुटबल स्तर घटेको छैन भनेर प्रमाणित गर्नुछ ।’

राष्ट्रिय टिमबाट खेलिसकेका घलानले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको र एएफसी यू-२० एसिया कपमा पनि छनोट हुने लक्ष्य रहेको बताए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?