+
+

लिग टु क्रिकेट : फेरि पनि ब्याटिङमै समस्या

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार २८ गते १६:००

२८ असार, काठमाडौं ।

आठौं ओभर बलिङ गर्न नामिबियाका जान फ्रांकलिन आएका थिए । उनले पहिलो बलमै आसिफ शेखलाई ला कुकबाट क्याचआउट गराए । आसिफले अफस्टम्प बाहिरको बल हान्ने प्रयास गरेका थिए । त्यो हान्ने बल भए पनि बल शरीर भन्दा धेरै टाढा थियो । जसले गर्दा आसिफको ब्याट राम्रोसँग कनेक्ट भएन र आउट भए ।

१३ औं ओभरको अन्तिम बलमा अर्का ओपनर कुशल भुर्तेल ठूलो सट हान्ने चक्कारमा आउट भए । उनलाई विकेटकिपर जान ग्रीनले क्वीक स्टम्पिङ गरे । आउट हुनुअघि त्यो ओभरमा कुशलले एक चौका हानिसकेका थिए ।

१५ औं ओभरको पाँचौ बलमा रोहित पौडेलले रनआउट भए । नन स्ट्राइकर इण्डमा रहेका देव खनाल रन लिन दौडिएका थिएनन् । तर रोहित आफैँ दौडिएर । अनी फर्कँदा एरासमसले डिरेक्ट हिटमार्फत रनआउट गरे ।

१८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी अनलाइनमा बल माथि उठाउन खोज्दा ‘पप’ बलमा एरासमसबाट क्याचआउट भए । यस ओभरमा पनि एक चौका आइसकेको थियो । दीपेन्द्र रन लिएर स्ट्राइक चेञ्ज गर्ने धुनमा आउट भए ।

….. ….

आसिफ, कुशल, रोहित र दीपेन्द्र यी चार जना नेपाली राष्ट्रिय क्रिकेट टिमका अहिलेका उत्कृष्ट ब्याटर हुन् ।

आसिफ र कुशल ओपनर हुन्। रोहित र दीपेन्द्रले क्रमश: चौथो र पाँचौ स्थानमा ब्याटिङ गर्दै आएका छन् ।

तर क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार नामिबिया विरुद्धको खेलमा भने यी चारै खेलाडीले रन बनाउन संघर्ष गरे ।

यी खेलाडीको ब्याटबाट रन निस्कन नसक्दा नेपालको टप र मिडल अर्डर नै फ्लप भयो अनी नेपालले खेल ४० रनले गुमायो ।

नामिबियाविरुद्ध कुशलले २७, आसिफले १४ र दीपेन्द्रले ४ रन बनाउँदा रोहितले खाता खोल्न सकेनन् ।

पछिल्लो चार एकदिवसीय खेलमा कुशलले एक मात्र अर्धशतक बनाएका छन् । यस्तै आसिफले उति नै खेलमा दुई अर्धशक हानेका छन् ।

रोहितले पछिल्लो पाँच खेलमा एक अर्धशतक प्रहार गर्दा दीपेन्द्रले पछिल्लो पाँच खेलमा २० रनको व्यक्तिगत स्कोर समेत बनाउन सकेका छैनन् ।

नामिबिया विरुद्ध यी चार ब्याटर आउट हुनुमा विपक्षीले राम्रो बलिङ गरेको भन्दा पनि आफ्नै गल्ती बढि देखियो ।

आसिफ र दीपेन्द्र सामान्य बलमा सट हान्ने चक्करमा आउट भए । कुशल ठूलो सट खेल्ने चक्करमा आउट भए । उपकप्तान समेत रहेका रोहित भने रन लिन दौडने चक्करमा आउट भए । हुन त कुशलको स्टम्पिङ पनि थर्ड अम्पायरले हेरेको भएर अर्कै नतिजा आउन सक्थ्यो । यस्तै रोहितको रनआउटमा पनि त्यही रेफ्रीको कमजोरी रह्यो भन्ने चर्चा भइरहेको छ । तर उनी आउट हुँदा आफ्नै गल्ती थियो ।

पछिल्लो समय नेपालको ब्याटिङ खराबै नभए पनि लिग टूका पछिल्ला दुई शृंखलामा नेपालको ब्याटिङ राम्रो हुन सकेको छैन । गत मार्चमा युएईमा भएको लिग टु नेपालले पपुवा न्यु गिनीलाई दुई खेलमा पराजित गरे पनि ब्याटिङमा संघर्ष गरेको थियो । युएईसँग भने नेपालले १६९ र २०३ रनको लक्ष्य पछ्याउँदा पनि पराजित भएको थियो ।

यस्तै जुनमा अमेरिकामा भएको लिग टु मा ओमान र अमेरिकासँग हार्दा पनि नेपालको ब्याटिङ नै कारण बनेको थियो । ओमान र अमेरिका दुवै विरुद्ध नेपाल अलआउट हुँदै पराजित भएको थियो ।

नामिबिया विरुद्धको हारमा पनि मुख्य कारण नेपालको ब्याटिङ नै रह्यो । ओपनर टिक्न नसक्नु,  त्यसपछि मिडल अर्डरले इनिङ्स होल्ड गर्न नसक्नु रह्यो । आसिफ र कुशल आउट भएपछि तेस्रो र चौथो नम्बरको खेलाडीले होल्ड गर्नुपर्ने थियो । तर रोहित र दीपेन्द्र लगातार आउट हुँदा नामिबिया विरुद्ध २२१ रनको लक्ष्य पछ्याएको नेपालले ५८ रनमा ४ विकेट गुमाइ सकेको थियो । पाँचौ विकेटका लागि देव खनाल र आरिफ शेखले ४५ रनको साझेदारी गरे । तर यो साझेदारी तोडिएपछि राम्रो साझेदारी बन्न सकेन । आरिफले एकछेउबाट इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरे पनि नेपाल ४६.५ ओभरमा १८० रनमै अलआउट भयो ।

सट सेलेक्सनमा कमजोरी रहेकाले टप अर्डर र मिडल अर्डरको विकेट निरन्तर जाँदा त्यसपछिका खेलाडीलाई अझ दबाब परेको थियो ।

अर्कोतर्फ सुरुको १० ओभर पावर प्लेमा नेपाल भन्दा नामिबिया धेरै राम्रो थियो । नामिबियाले १० ओभरमा १ विकेट गुमाएर ६२ रन बनाएको थियो । नेपाललेले त्यस त्यसको आधा (३१/१) रन मात्र बनाएको थियो ।

खेलपछि नेप्लेजसँगको कुराकानीमा नेपालका प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले ब्याटिङमा राम्रो हुन नसकेको स्वीकार गरेका थिए । ‘परिस्थिति अनुसार ब्याटिङ समूहले खेल्न सकेन । नराम्रो भन्न खोजेको होइन । तर महत्वपूर्ण समयमा विकेट गयो’, पुबुदले भने । उनले बलिङमा पनि केही गल्ती भएको र अतिरिक्त रनहरु दिएको बताए ।

मिडल अर्डर चलेन, दीपेन्द्रको खराब फर्म

गत अप्रिलमा कीर्तिपुरमा भएको पपुवा न्यु गिनी र मलेसिया सम्मिलित टी-२० शृंखलामा नेपालले उपाधि जित्दा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही बेला पपुवा न्यु गिनी विरुद्ध एकदिवसीय खेलमा पनि दीपेन्द्रले शतक प्रहार गरे ।

तर त्यसपछिका एकदिवसीय खेलमा भने उनले आफ्नो स्वभाविक स्थान भन्दा तल अर्थात पाँचौ नम्बरमा ब्याटिङ गरेका छन् । तर उनको प्रदर्शन भने उस्तै रहेन । लिग टु अन्तर्गत अमेरिका टुरमा उनले ओमान विरुद्ध १६ र ६* रन बनाएका थिए । अमेरिका विरुद्ध १ र ७ रनमा आउट भएका थिए । नामिबिया विरुद्ध पछिल्लो खेलमा ४ रनमा आउट भए । क्यानडा टुरमा उनी खाता नखोली आउट भए ।

दीपेन्द्रको स्थानमा उपकप्तान रोहित पौडेलले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् । अमेरिका टुरमा एक खेलमा ६२ रन बनाएका उनी अन्य खेलमा २०, २६* र १६ रनमा आउट भए । यस्तै नामिबिया विरुद्ध पछिल्लो खेलमा उनले खाता नै खोल्न सकेनन् ।

दीपेन्द्र र रोहितको पोजिसन चेन्ज हुँदा दुवैबाट रन निस्कन सकेको छैन । विशेषगरी मिडल अर्डरमा यी दुई खेलाडी नै मुख्य हुन् । त्यसपछि ब्याटिङ गरेका आरिफले संयमित ब्याटिङ गरे पनि त्यतिले मात्र पर्याप्त भएको छैन ।

नामिबिया विरुद्ध हारपछि प्रशिक्षक पुबुदु दासानायकेले स्कटल्याण्ड विरुद्धको खेलमा ब्याटिङ अर्डर परिवर्तन हुन सक्ने संकेत गरेका छन् । ‘व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शहनका लागि ब्याटिङ अर्डर रिसफल हुन सक्छ’, दासानायकेले भने ।

कप्तान सन्दीपले पनि नेपालले ब्याटिङमा अझ पुस गर्नुपर्ने बताएका छन् । उनले भने, ‘सुधार गर्नुपर्ने ठाउँहरु छ । परिस्थिती अनुसार म्याच अवरनेस (खेलबारे ज्ञान) हुनुपर्छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?