+
+

वित्तीय विवरण र सेयर मूल्यले लघुवित्तमा समस्या छ भन्ने देखाउँदैन : राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:१८

२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तकर्मीले समस्या भयो भनेपनि उनीहरुको वित्तीय विवरण र सेयर मूल्यले भने त्यो नदेखाएको बताएको छ । राष्ट्र बैंकले शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चितिमा सुधार नहुँदासम्म तरलता समस्या समाधान नहुने बताएको छ ।

राष्ट्र बैंकले लघुवित्तलाई तीन दशकदेखि प्रवर्द्धन गर्दै आए पनि त्यसको लाभ अर्थतन्त्रमा नदेखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

मंगलबार नेपाल लघुवित्त संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा विगतमा तरलता सहज हुँदा त्यसको लाभ लघुवित्तले उठाएको भन्दै अहिले स्रोत भएन भनेर गुनासो नगर्न आग्रह गरे ।

‘यस पटक कर्जा विस्तार गर्न तरलता पाइएन भनेर गुनासो नगर्नुस् । कर्जा गुणस्तर सुधार गर्नुस् । हिजो तरलता हुँदा त्यसको प्रयोग गर्नुभयो, नाफा पनि लिनुभयो । यसपटक त्यो अवस्था छैन,’ उनले भने, ‘लघुवित्त प्रमोट गरेको ३ दशक भयो तर, व्यापार घाटा बढेको छ । उद्यमशीलता छैन तपाईंहरुको यति ठूलो संख्याको मिहेनतमा प्रश्न उठ्यो ?’

व्यापार घाटा नै नभएको भए अहिले तरलता अभाव नहुने भन्दै उनले पहिला लघुवित्तलाई आफैं सुध्रन निर्देशन दिए । उनले लघुवित्त सामाजिक व्यवसाय भएकोले सोही अनुरुपको कार्य गर्ने निर्देशन दिए ।

उनले लघुवित्तको नाफालाई इंगित गर्दै समस्या भयो मात्रै भनेर नहुने र त्यसलाई पुष्टि गर्ने आधार पनि हुनुपर्ने बताए । अहिले लघुवित्तको ब्यालेन्स सिट र सेयरमूल्यले त्यसको संकेत नगरेको भन्दै पोलिसी निमार्ण गर्दा सबै विश्वस्त हुने आधार पनि चाहिने बताए ।

अहिले तरलता अभावले व्यवसाय विस्तार गर्न नपाए लघुवित्तलाई कर्जाको गुणस्तर सुधार गर्न समेत उनले निर्देशन दिए । ‘व्यवसाय विस्तार गर्न पाएनौं भनेर चिन्ता व्यक्त भएको छ, यसलाई अवसरको रूपमा लिन सकिन्छ । कर्जामा गुणस्तर छैन, ग्राहक सुरक्षा छैन । लघुवित्तका विचार र सिद्धान्त पालना भएको छैन, त्यसमा ध्यान दिनुस्’ उनले भने, ‘कर्जाको गुणस्तर सुधार गर्ने सही समय हो ।’

राष्ट्र बैकले अहिले पनि बैंकिङ प्रणालीमा साढे ३ खर्ब तरलता प्रवाह गरेको भन्दै यसमा निरन्तरता दिन नसकिने समेत उनले प्रष्ट पारे । ‘बैंकिङ प्रणालीमा साढे ३ खर्ब तरलता प्रवाह गर्दा पनि पुगेको छैन । शोधनान्तर घाटा सुधार मुख्य चुनौतिको रुपमा छ । त्यसैले स्वदेशी मुद्रामा पनि तरलता प्रवाह गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तरलता प्रवाह गर्‍यो भने विदेशी विनिमय सञ्चितिमा थप दबाव बढ्ने अवस्था छ । राष्ट्र बैंक पनि बाध्यतामा छ ।’

राष्ट्र बैंकले तरलत उपलब्ध गराउने नभई त्यसलाई व्यवस्थापन गर्ने मात्रै भूमिका रहेको उनले बताए । ‘राष्ट्र बैंकले तरलता धेरै हुँदा प्रशोधन गर्ने र थोरै हुँदा प्रवाह गर्ने हो,’ उनले भने, ‘अहिले साढे ३ खर्ब दिंदा पनि पुगेको छैन । थप दिंदै गयो भने शोधनान्तर घाटा झनै बढ्ने अवस्था छ ।’

उनले लघुवित्तकर्मीलाई अहिलेको प्रमुख समस्या कर्जा विस्तार हुन नसक्नु हो कि विदेशी विनिमय सञ्चिति घट्दै जानु हो ? भन्दै प्रतिप्रश्न गरे । ‘अहिले विदेशी विनिमय सञ्चिति जोगाउने प्रमुख समस्या हो । हाम्रो प्राथमिकता त्यही हुनुपर्छ ।’

कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका सञ्चालकले तरलता अभाव हुँदा ऋणीले नयाँ कर्जा नपाउने भयो भने ऋण नै नतिर्नेसम्मको समस्या आएको बताएका थिए । फर्वाड लघुवित्तका अध्यक्ष भगवती चौधरीले लघुवित्तले शोषको नभएको भन्दै लघुवित्तले समाज परिवर्तको लागि योगदान दिएको बताएकी थिइन् ।

कार्यक्रममा लघुवित्त विज्ञ तथा काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. भरत सिंह थापाले लघुवित्तको ‘इको सिस्टम’ मा नै समस्या देखिएको बताए । अहिले लघुवित्तविरुद्ध संगठित रुपमा चलेको आन्दालन चुनौती बनेको भन्दै यसमा सरोकारवाला र राष्ट्र बैंकले अवमूल्यन गर्न नहुने उनले बताए ।

भारतमा पनि आन्द्र प्रदेशबाट सुरु भएको यसचतै आन्दोलनले ठूलो रुप लिएको उदाहरण दिंदै बेलैमा सचेत हुनुपर्ने उनले बताए । लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको क्याप रहेको र बजारको ब्याजदरले उक्त क्यापमा लघुवित्त चल्न नसक्ने बताए । तर त्यसलाई चलाउँदा संगठित रुपमा भइरहेको आन्दाललाई थप बल पुग्ने भएकाले राष्ट्र बैंकलाई पनि चुनौती रहेको उनको भनाइ छ ।

‘राष्ट्र बैकले वित्तीय र समाजिक स्थायित्व तथा वित्तीय ग्राहकको सुरक्षा हेर्न हो,’ उनले भने, ‘एकतिर वित्तीय ग्राहकको सुरक्षाको लागि भन्दै संगठित रुपमा आन्दोलन सुरु भएको छ, अर्कोतिर ब्याजदर नबढाउँदा लघुवित्त घाटामा चल्नुपर्ने अवस्था आएको छ, यसले गर्दा राष्ट्र बैंकलाई धर्मसंकट छ ।’

उनले वाणिज्य बैंकले नै निक्षेपमा ११ प्रतिशत ब्याजदर दिदा लघुवित्तले बचतमा ६ प्रतिशत मात्रै ब्याज दिनु शोषण भएको बताए । तर, लघुवित्त अहिले सोही ब्याजदरले गर्दा टिकेको पनि यथार्थ भएको उनले बताए । उनले लघुवित्तको कर्जामा ‘एभरग्रिनिङ’ ठूलो चुनौती रहेको औल्याए ।
अर्का लघुवित्त विज्ञ नरहरी ढकालले लघुवित्त क्षेत्रमा कर्जा लगानी र ऋण असुलीमा उल्टो ‘ट्रेन्ड’ देखिएको बताए । ऋण असुली सहज र कर्जा लगानीमा सहज हुनुपर्नेमा ऋण लगानी ओभरनाइट हुने तर असुलीमा सकस हुने भनेको वित्तीय क्षेत्रको लागि सकारात्मक नरहेको बताए ।

‘लघुवित्तमा अस्तित्वको चुनौती देखिंदैछ, एक वर्षपछि लघुवित्त कहाँ पुग्छ थाहा छैन,’ उनले भने, ‘अब आउने मौद्रिक नीतिले लघुवित्तलाई रेस्क्यु गर्नुपर्छ।’ लघुवित्त अभियान सुरु हुँदाको जति पनि अहिले अनुशासित नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?