+
+

‘लघुवित्तमाथि योजनावद्ध रुपमा प्रहार भइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १८:१७

२८ पुस, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि योजनावद्ध रुपमा प्रहार भइरहेको बताएका छन् ।

लघुवित्त अभियान्ता हुँदै राजनीतिमा आएका स्वतन्त्र सांसद मण्डलले ग्रामीण क्षेत्रका विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तलाई कमजोर बनाउनका लागि योजनावरुद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् ।

आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौं साधारणसभालाई सम्बोधन गर्दै उनले लघुवित्त संस्थाहरूलाई विचलित नभइ प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्न आग्रह गरे ।

लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने प्रयास भइरहेको बताउँदै उनले सदस्यको जीवन स्तर उकास्नका लागि काम गर्न आग्रह गरे । लघुवित्तमाथि योजनावद्ध रुपमा आक्रमण हुँदा वित्तीय क्षेत्रमा ठूलो असर परेको उनको भनाइ छ ।

जीवन विकास लघुवित्त सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तमाथि अवरोध हुँदा सदस्यमाझ सेवा पुर्याउन असहज भइरहेको बताए । असहज परिस्थीतिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए ।

‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने, ‘केही समूह तथा व्यक्तिहरुले लघुवित्त वित्तीय संस्थाहरु विरोधी गतिविधि संचालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, सोझासिधा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’

उनले अवरोधका बावजुत पनि विपन्न तथा असहाय परिवारलाई आयमुलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरु प्रभावकारी भएको बताए ।

१४ प्रतिशत बोनस पारित

जीवन विकासको छैंठौं साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा पनि ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो ।

१६० शाखा कार्यालय मार्फत ३१ जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

उनले विकास बैंकको जस्तै जीवन विकासले पनि सदस्यलाई डिजिटल सेवा प्रवाह गरिरहेको बताए ।

‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैंक भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौं, गाउँगाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?