
१ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुक्ता पूँजीको ५ प्रतिशत वा त्यसभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनीलाई लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख हुन नपाउने नीति ल्याएको छ ।
त्यसैगरी उसका एकाघर परिवारका सदस्य पनि सोही संस्थाको कार्यकारी प्रमुख पदमा नियुक्त वा पुनर्नियुक्त हुन योग्य नहुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ ले यस्तो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकका अनुसार एकीकृत निर्देशन जारी हुँदाका बखत कुनै व्यक्ति संस्थाको कार्यकारी प्रमुख पदमा बहाल रहेको भए विद्यमान कार्यकालको बाँकी अवधि पूरा गर्न भने यो निर्देशनले बाधा पुग्ने छैन ।
त्यसैगरी संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा त्यसभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र उसको एकाघर परिवारका सदस्य सोही संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख पदबाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्त वा पुनर्नियुक्त हुन योग्य नहुने पनि निर्देशनमा उल्लेख छ ।
प्रचलित लेखा मापदण्ड अनुशरण गर्नुपर्ने
त्यसैगरी लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएसएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।
नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (आईएफआरएसएस) लाई आधारका रूपमा लिनुपर्ने केन्द्रीय बैंकको भनाइ छ ।
प्रतिक्रिया 4