+
+

चलचित्र विकास बोर्डबाट ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १२:१४

काठमाडौं । पहिलो नेपाली फिल्म कुन होला ? हाजिरीजवाफमा सोधिने यो प्रश्नको दुईवटा उत्तर आउने गरेको छ, हरिश्चन्द्र वा आमा । विवादको यो गुत्थी अहिलेसम्म सुल्झिन सकेको थिएन ।

२००६ साल भदौ २३ गते रिलिज भएको डीबी परियार निर्देशित ‘हरिश्चन्द्र’लाई कतिपयले पहिलो नेपाली फिल्म माने । कतिपयले चाहिं २०२२ सालमा रिलिज भएको ‘आमा’लाई पहिलो नेपाली फिल्म बताउने गरेका छन् ।

कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण भएको फिल्म हरिश्चन्द्र नेपालमा नबनेकाले त्यसलाई नेपालीभाषी मात्र भन्नुपर्ने तर्क थियो । बालकृष्ण समले राखेको भनिएको यसको रिल नारायणहिटी संग्रहालयमा भेटिएको छ ।

नेपालमा छायांकन भएको र प्राविधिक काम भारतमा भाएको नेपाली भाषाको फिल्म ‘आमा’लाई पहिलो स्वदेशी चलचित्र मान्नुपर्ने तर्क एकथरीको छ । सरकारको प्रचारप्रसार विभागले निर्माण गरेको यो फिल्ममा भुवन थापा चन्द, शिवशंकर मानन्धर र चैत्यदेवीको मुख्य भूमिका छ ।

विवाद चर्कंदै जाँदा दिनेश डीसी नेतृत्वको तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयले पहिलो नेपाली फिल्मको आधिकारिकता माग्दै पत्र लेखेको थियो । तर मन्त्रालयले पनि यसको उत्तर अहिलेसम्म दिएको छैन ।

तर पहिलो नेपाली फिल्मको आधिकारिकता विवादमा चलचित्र विकास बोर्डले मुख खोलेको छ । बोर्डले हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’लाई पहिलो नेपाली फिल्म मान्दै डिजिटाइजेसन समेत गरेको छ । आधिकारिक वेबसाइटमा आमालाई पहिलो नेपाली फिल्म मानिएको छ ।

बोर्डको डिजिटाइजेसनमा संलग्न प्रशासकीय अधिकृत दिनेश बानियाँले वेबसाइटमा उल्लेख भएको कुरालाई आधिकारिक मान्नुपर्ने बताए । ‘औपचारिक निर्णय नभए पनि औपचारिक कार्यक्रमदेखि डिजिटाइजेसनसम्म नै हामीले आमालाई पहिलो फिल्म मानेका छौं,’ बानियाँले अनलाइनखबरसँग भने ।

निजी क्षेत्रबाट २०२३ सालमा पहिलोपटक माइतीघर फिल्मको निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?