+
+
कार्टुनिस्ट वासु क्षितिजसँग संवाद :

‘नेताको कार्टुन हेर्दाहेर्दा मान्छे दिक्क भए’

सम्झना विक सम्झना विक
२०७९ असार २९ गते १४:५३

काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका भित्ता यतिबेला रंगीन छन्, क्यारिकेचर कलाले । त्यहाँ नाट्यकर्मी सुनिल पोखरेलदेखि हास्य कलाकार सन्तोष पन्तसम्म सजिएका छन् । यसमा अहिलेका जल्दाबल्दा दुई पात्र हर्क साम्पाङ र बालेन समेत सामेल छन् । ‘नेपाली क्यारिकेचर २०७९ प्रदर्शनी’ अन्तर्गत विभिन्न क्षेत्रका चर्चित अनुहारको कार्टुन कला प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा अशोकमान सिंहदेखि वासु क्षितिजसम्म, राजेश मानन्धरदेखि योगेश खपाङ्गीसम्मको कलाकृति सजाइएका छन् । यसै पृष्ठभूमिमा कार्टुनिस्ट वासु क्षितिजसँग क्यारिकेचर कला विषयमा अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानी :

क्यारिकेचर भनेको कसैको बोली वा हाउभाउलाई हाँसो र व्यंग्य मिसाएर दुरुस्त आवाजको नक्कल गर्नु हो भनेर बुझिंदै आएको छ । कलामा क्यारिकेचर भनेको के हो ?

कार्टुन कलामा क्यारिकेचर प्रयोग हुन्छ । कार्टुन आफैंमा कलाको अभिन्न अंग हो । क्यारिकेचर बिना कार्टुन सम्भव हुँदैन । आम रुपमा कुनै नेताको हाउभाउलाई कलाकारले स्टजेमा दुरुस्तै प्रस्तुति दिएको कुरालाई क्यारिकेचर भनी बुझ्ने गरिएको छ ।

कार्टुन कलामा दुई कुरा जरुरी हुन्छ । पहिलो चित्र बनाउन पारङ्गत हुनुपर्छ । दोस्रो समाजलाई विश्लेषण गर्न सक्नुपर्छ । हरेक कुरामा जानकारी राख्न सक्नुपर्छ । घटनाक्रम बुझन सक्ने, व्यंग्य चेतना आवश्यक पर्छ । यी कला र व्यंग्यको समिश्रण नै कार्टुन कला हो ।

कलाकारले अभिनय गर्दा नेताको शैलीलाई अतिरञ्जना गर्छन् त्यस्तै चित्रमा पनि  कार्टुनमार्फत अनुहारलाई  त्यस्तै बनाइन्छ । यो नै कलाको क्यारिकेचर हो ।

कार्टुन र क्यारिकेचरमा कति फरक छ ?

यी दुईको आफ्नो अलग्गै अस्तित्व छ । तर कार्टुनमा क्यारिकेचर भएन भने कार्टुन नै हुँदैन । कार्टुनमा विभिन्न पात्र हुन्छन् । ती पात्रलाई फोटोको जस्तै दुरुस्तै राखिए त्यसले कार्टुनको रुप पाउँदैन ।

ती पात्रलाई क्यारिकेचरले हेर्दा हास्यरस थपिदिन्छ । हरेक मानिसको अनुहार र शरीरको आफ्नो परिचय हुन्छ । कसैको जुँगा मोटो, आँखा ठूलो र नाक लामो । यी चिजलाई क्यारिकेचरले तन्काउने काम गर्छन् ।

स्टेजमा कलाकारले बोल्दा एउटा विषयलाई अनेक स्रोतलाई मिसाएर रमाइलो बनाउँछन् । कार्टुनको क्यारिकेचरले पनि यस्तै गर्छ । ठूलो आँखालाई झन् ठूलो बनाउने, लामो नाकलाई तन्काइदिने लगायत गरिन्छ ।

यसपालि जे जति चरित्र बनाउनुभएको छ, उनीहरुको छनोट कसरी गर्नुभयो ?

क्यारिकेचर कार्टुन भन्ने बित्तिकै खाली नेताकै मात्र भन्ने चलन थियो । नेताको कार्टुन हेर्दा हेर्दै मानिसहरु दिक्क भएका छन् । जहिले त्यही अनुहार । त्यसैले यसपालि नयाँपनको लागि हामीले सामाजिक व्यक्तित्वलाई छानेका हौं ।

सामाजिक व्यक्तित्वलाई किन हाइलाइट गर्न खोजियो भने सामाजिक पात्रको क्यारिकेचर कार्टुन कमै बन्छ । कार्टुन बनाएर उनाीहरुको मजाक उडाउने होइन बरु साहित्य, कला, पत्रकारिता, व्यवसाय जस्तो सामाजिक क्षेत्रमा व्यक्तिको सम्मान गर्ने ध्येय हो ।

कस्ता पात्र छनोट गर्ने भन्नेमा हामीले सल्लाह गरेका थियौं र सबैको साझा राय सामाजिक व्यक्तित्वलाई समेट्ने भन्ने भयो ।

यसपालि हर्क साम्पाङ र बालेनको पनि कार्टुन चित्र बनेछ नि ?

यी ५० क्यारिकेचर ४१ जना कलाकारले मिलेर बनाएका हुन् । कलाकारले साम्पाङ र बालेनमा त्यस्तो केही विशेषता भेटेर नै रोज्नुभएको होला । क्यारिकेचर गर्नको लागि सुहाउँदो अनुहार भएर पनि हुनसक्छ । दोस्रो उहाँ आफ्नो कर्मले चर्चित हुनुहुन्छ । युवापुस्ताको लोकप्रिय नाम भएर पनि कलाकारले रोजेका हुनसक्छन् ।

अक्सर किन नेताहरुलाई कार्टुन बनाइन्छ ?

कार्टुन भनेको विकृति, विसङ्गतिको विरुद्ध चोटिलो प्रहार हो । कार्टुनमा प्रायःजसो नेताहरु नै आउँछन् । हामी राजनीतिबाट अलग रहन सक्दैनौं । भ्रष्टाचार, काण्ड, घोटाला यसको मूलकारण खोज्दै जाँदा यसमा दल विशेष नेतासँग सम्बन्धित हुन्छ । त्यसैले प्रायः नेता कार्टुनमा आउँछन् । हरेक दिनको कार्टुन नेतालक्षित नै हुन्छन् ।

वर्षौं भइसक्यो कार्टुन बनाउनुभएको, खासमा कार्टुन कला के हो ?

कार्टुन कलामा दुई कुरा जरुरी हुन्छ । पहिलो चित्र बनाउन पारङ्गत हुनुपर्छ । दोस्रो समाजलाई विश्लेषण गर्न सक्नुपर्छ । हरेक कुरामा जानकारी राख्न सक्नुपर्छ । घटनाक्रम बुझन सक्ने, व्यंग्य चेतना आवश्यक पर्छ । यी कला र व्यंग्यको समिश्रण नै कार्टुन कला हो ।

तपाईंले अधिकांश शीर्ष नेताहरुको कार्टुन बनाइसक्नुभएको छ, तपाईंलाई सबैभन्दा गज्जब लागेको कसको चरित्र हो ?

मैले कार्टुन कोर्न थालेको दुई दशक हुन थाल्यो । मलाई सबैभन्दा हाँसउठ्दो, युनिक लाग्ने नेता माधवकुमार नेपाल लाग्छ । मलाई उहाँको जुँगा गज्जब लाग्छ । मलाई नेता नेपालको कार्टुन ज्यादै क्युट लाग्छ ।

कार्टुन बनाएको कारण गाली वा आलोचना खेप्नुपरेको घटना कति छ ?

कार्टुन सभ्य र गरिमामय पेसा हो । यसको परिधिमा रहेर कार्टुन बनाउन सक्ने हो भने यसले सन्देश दिन्छ । यसलाई भड्किलो र असभ्य भएर बनाउने हो भने गाली खाइन्छ, कुटाइ खाइन्छ । विदेशतिर त उस्तै परे ज्यानै पनि जान्छ । मैले प्रत्यक्ष गाली, आलोचना त खेपेको छैन, तर अप्रत्यक्ष रुपमा भने यस्तो भोगेको छु ।

कार्टुनकै कारण तपाईंले तनाव व्यहोर्नुपरेको घटना पनि होलान् नि ?

छ, ऋतिक रोशन काण्ड । त्यो बेला मैले मर्यादा भन्दा थोरै बाहिर रहेर स्पेसटाइम दैनिकमा कार्टुन बनाएको थिएँ ।

आन्दोलन चलिरहेको बेलामा जे पनि हुनसक्छ । यत्रो आन्दोलन चलेको बेलामा कार्टुन बनाउने, तपाईं जस्तो मान्छेले राष्ट्रिय मिडियाबाट यस्तो चिज बनाउँदा यसले कस्तो प्रभाव पार्छ, भोलि तपाईंले बनाएको कार्टुनको कपी गरेर पोस्टर टाँस्दा मान्छे झन् उत्तेजित हुन्छ, गोली चल्ला के तपाईं यी सबै व्यहोर्न सक्नुहुन्छ ? भनेर भनेर चेतावनी आएको थियो ।

प्रायः कार्टुनमा कुनै पनि नेताको चरित्र निर्माण कसरी गरिन्छ ?

चरित्रसँगै क्यारिकेचर जोडिन्छ । नियमित बनाइरहेका नेताको चरित्र निर्माण गर्न खासै गाह्रो हुँदैन । नयाँ आउनुभयो भने केही समय लाग्छ । उहाँलाई कार्टुनमा ढाल्दा अनुहार र शरीरको विशेषता निखार्न महिनौं लाग्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आँखीभौं, माधव नेपालको जुँगा, प्रचण्डको कपाल र जुँगा, केपी ओलीको नाक । यी चिजलाई हेरफेर गरेर चरित्र निर्माण गरिन्छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?