+
+

मुलुक आर्थिक अराजकतातर्फ उन्मुख देखियो : भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १२:३३

३० असार, काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले बृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गरेका हुन् ।

बुधबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख देखिएको महासचिव भुसालको निष्कर्ष छ ।

उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्तिसमेत जनाए । महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘महंगीले आकाश छुदैछ । अहिलेसम्म पनि किसानहरुले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । यो वर्षमात्रै १५.४६ प्रतिशत बेरुजु बढेको छ । यसले हाम्रो मुलुकको सुशासन कता जाँदैछ भन्ने कुरा संकेत गर्छ भन्ने मलाई लाग्दछ । हामीले सुशासनको कुरा गरिराखेका छौं । तर, बेरुजु बढदै गइरहेको छ । यसले सुशासन होइन, आर्थिक अराजकतातर्फ मुलुक गइरहेको छ भन्ने संकेत गर्छ भन्ने मलाई लाग्छ । यो विषयमा पनि छलफल गर्नुपर्ने हो ।’

महासचिव भुसालले सरकारी सञ्चार माध्यामहरुले समेत राष्ट्रियसभाको समाचारलाई महत्व नदिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?