+
+

‘स्ट्रिट फुड’ : सहरको सौन्दर्य, तर व्यवस्थित कसरी गर्ने ?

अंगद सिंह अंगद सिंह
२०७९ असार ३० गते १४:५२

काठमाडौं । स्ट्रिड फुड अर्थात् सहरका सडक र गल्ली छेउमा राखिएका खानाका परिकार । कतिपयले स्ट्रिड फुडकारण आवतजावतमा समस्या हुने भएकाले यसलाई हटाउनुपर्ने धारणा राख्छन् भने कतिपय चाहिं यो सहरी सौन्दर्य भएको बताउँछन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कुमार दाहाल स्ट्रिट फुडले सहरको सौन्दर्यमा ह्रास पुर्‍याउने नभई सहरी रौनकता कायम राख्न मद्दत गर्ने बताउँछन् ।

‘स्ट्रिट फुडले सहरको सौन्दर्य बढाउनुका साथै सहरलाई चलायमान बनाई बजार मूल्य नियन्त्रण गर्न समेत सहयोग गर्छ,’ उनी भन्छन्, ‘स्ट्रिट फुडमाथि प्रतिबन्ध लगाउनुको साटो महानगरपालिकाले यसलाई व्यवस्थित गर्नुपर्छ ।’

अमेरिका, बेल्जियम, जर्मनी, थाइल्याण्ड, मलेसिया, सिंगापुर जस्ता विकसित देशमा पनि स्ट्रिट फुडको परम्परा रहेको भन्दै उनी यसले सहरी सौन्दर्य बिगार्ने भए विकसित देशले सडकमा खानेकुरा बेच्न नदिनुपर्ने बताउँछन् । त्यसैले स्ट्रिट फुडलाई प्रतिबन्ध होइन, व्यवस्थित गर्नतर्फ महानगरहरुले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

स्ट्रिट फुडले स्थानीय पाककलालाई बचाउनुका साथै होटल रेस्टुरेन्टमा गएर खान नसक्ने न्यून आय भएका व्यक्तिलाई सहयोग पुर्‍याउँछ । यो धेरैको रोजीरोटीको पनि माध्यम बनेकाले यसबाट बञ्चित गराउन नहुने दाहालको भनाइ छ ।

तर स्ट्रिट फुडका लागि निश्चित समय भने तोक्नुपर्ने उनको सुझाव छ । विदेशतिर साँझ ५–६ बजेपछि स्ट्रिट फुडका समय र स्थान छुट्याउने चलन छ ।

यता काठमाडौ महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले भने फुटपाथ पैदलयात्रुका लागि भएकाले फुटपाथ तथा सडक किनारमा स्ट्रिट फुड बिक्री वितरण गर्न नपाइने बताउँछन् ।

‘फुटपाथ पैदलयात्रीका लागि हो, फुटपाथ र सडक छेउमा ट्राफिक जाम हुने गरी स्ट्रिट फुड भन्दै व्यापार गर्न पाइँदैन । व्यापार गर्न चाहनेले सटर खोजेर मापदण्डभित्र रहेर काम गर्नुपर्छ,’ उनी भन्छन् ।

कसैलाई दुःख दिने महानगरपालिकाको चाहना नभएको र पैदलयात्रीबाट धेरै गुनासो आएकाले स्ट्रिट फुड राख्न नदिने निर्णय गरिएको उनको भनाइ छ । साथै अहिले हैजाको प्रकोप फैलिरहेका बेला स्ट्रिट फुड यसको थप कारक नबनोस् भन्नेमा पनि महानगर सचेत रहेको उनी बताउँछन् ।

‘फुटपाथ तथा सडक किनार खाली छ भन्दैमा जहाँ पायो त्यहीं व्यापार गर्न पाइँदैन, सहायक प्रवक्ता काफ्ले भन्छन्, ‘सडकमा पाइने खानेकुरामा गुणस्तर नहुने र सडक अस्तव्यस्त भएकाले महानगरपालिकाले स्ट्रिट फुडमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । महानगरका लागि सबैभन्दा महत्वपूर्ण जनस्वास्थ्य हो ।’

फुटपाथ पैदलयात्रीका लागि, सडक गाडीका लागि र व्यापारका लागि घर भएको भन्दै स्ट्रिट फुड व्यापारीले १० दिने सूचनाको अवज्ञा गरे महानगरपालिका आफ्नै तरिकाले अगाडि बढ्ने काप्mलेले अनलाइनखबरलाई बताए ।

स्ट्रिट फुड कत्तिको खानयोग्य ? 

ललितपुर महानगरपालिकाले पानीपुरीको पानीमा हैजाको किटाणु भेटिएको भन्दै फुटपाथमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ ।

‘फुटपाथमा बेच्न राखिएको पानीपुरीको पानीमा हैजाको किटाणु भेटिएको र पैदलयात्रुलाई हिंड्न समस्या भएकाले बन्द गरेका हौं,’ ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाछेथु भन्छन्, ‘सर्वसाधारणको जनस्वास्थ्यका लागि पानीपुरी बेच्न प्रतिबन्ध लगाएका हौं ।’

ललितपुरको फुटपाथ सानो भएकाले पैदलयात्रीलाई हिंड्न समस्या भएको र हैजाको प्रकोपबाट बच्न महानगरपालिकाले कुनै हालतमा पनि फुटपाथमा व्यापार गर्न नदिने उनले बताए ।

स्ट्रिटमा राखिएका खानेकुरामा गुणस्तर नहुने र त्यसको अनुगमन समेत नहुने भएकाले यसका लागि निश्चित स्थान, समय र मापदण्ड तोक्नुपर्ने उनी बताउँछन् ।

‘अहिले फुटपाथमा पानीपुरी बेच्न दिने हो भने भोलि ठेला लिएर आउलान्, त्यसलाई सानो फुटपाथमा कसरी व्यवस्थापन गर्ने ?’ हाछेथु भन्छन्, ‘पैदलयात्रीको सहजता र स्वास्थ्यका लागि पानीपुरी बन्द गर्नुपरेको हो ।’

विदेशतिर पनि स्ट्रिड फुडको परम्परा भए पनि त्यहाँ व्यस्थित तवरले मात्र चल्ने उनी बताउँछन् ।

‘विदेशमा स्ट्रिट फुड स्टलमा राखिएका खानेकुरा धुँवा–धुलोरहित स्वस्थ र ताजा हुन्छन् । समय–समयमा खानाको गुणस्तर परीक्षण तथा बजार अनुगमन हुन्छ । तर नेपालमा त्यस्तो व्यवस्था छैन । हुन्थ्यो भने पानीपुरीको पानीमा हैजाका किटाणु भेटिंदैनथे,’ उनले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि लामो समयदेखि स्ट्रिट फुडको गुणस्तर परीक्षण नगरेको स्वीकार गरेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जन काठमाडौंको पानीमा हैजाका किटाणु भेटिएपछि होटल तथा रेस्टुरेष्टको पानी, सरसफाइ तथा खानेकुराको परीक्षण तथा अनुगमन गरिरहेको बताउँछन् ।

‘ललितपुर तथा काठमाडौं महानगरले स्ट्रिट फुड प्रतिबन्ध लगाउने निर्णय गरिसकेकाले त्यसको निरीक्षण गर्ने कुरा भएन । अहिले होटल रेस्टुरेन्टको अनुगमन गरिरहेका छौं,’ प्रवक्ता महर्जन भन्छन् ।

स्ट्रिट फुडको गुणस्तरसँग व्यापारी, ग्राहक, स्थानीय तह तथा विभाग सबै जोडिने भएकाले सबैले सचेतता अपनाउनुपर्ने उनी बताउँछन् । स्ट्रिट फुडमा रङ, पानी र तेलका मुद्दामा  जहिल्यै बहस तथा छलफल हुने गरेको महर्जनको भनाइ छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?