+
+

लिस्ट एमा रोहित पौडेलको एक हजार रन पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १४:१५

३० असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोहितकुमार पौडेलले लिस्ट ए क्रिकेटमा एक हजार पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा बुधबार १३ रन जोडेपछि रोहितले लिस्ट एमा एक हजार रन पूरा गरेका हुन् ।

२० वर्षीय रोहितले स्कटल्याण्ड विरुद्ध ५ विकेट जित निकाल्दा अविजित ३४ रन जोडेका थिए । उनले समग्रमा लिस्ट ए मा ३८ खेलबाट १ हजार २१ रन बनाएका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका रोहित लिस्ट एमा हजार रन पूरा गर्ने तेस्रो खेलाडी हुन् ।

यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले एक हजार रन पूरा गरिसकेका छन् । लिस्ट एमा पारसले एक हजार ४९७ र ज्ञानेन्द्रले एक हजार ४०६ रन बनाएका छन् ।

रोहितले ओडीआईमा नेपालका लागि सर्वाधिक ७८१ रन बनाएका छन् । जसमा एक शतक र पाँच अर्धशतक समावेश छ ।

नेपालले सन् २०१८ अगष्टमा नेदरल्याण्ड्ससँग शृंखला खेल्दै ओडीआई यात्रा सुरु गरेको थियो । नेदरल्याण्डसँगको ऐतिहासिक शृखलाको दोस्रो खेलबाट रोहितले ओडीआईमा डेब्यु गरेका थिए । उनले त्यही वर्ष फेब्रुअरीमा नामिबिया विरुद्ध उसैको मैदानमा खेल्दै लिस्ट एमा डेब्यु गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत जेठमा रोहितलाई लिग टु अन्तर्गत अमेरिका र स्कटल्याण्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि उपकप्तान नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?