+
+
महालेखाको निष्कर्ष :

ब्रोकरहरुको आम्दानी अस्वाभाविक, आय विवरणमै चलखेल 

सीमित लगानीमा करोडौं आम्दानी गरेका सेयर ब्रोकरहरुले वित्तीय विवरण नै गोलमाल गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले सेयर ब्रोकरको आम्दानी नै अस्वाभाविक रहेको बताएको छ ।

विजय पराजुली विजय पराजुली
२०७९ असार ३१ गते १९:५५

३१ असार, काठमाडौं । सीमित लगानीमा करोडौं आम्दानी गरेका सेयर ब्रोकरहरुले वित्तीय विवरण नै गोलमाल गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले सेयर ब्रोकरको आम्दानी नै अस्वाभाविक रहेको बताएको छ । साथै ब्रोकर कमिसनमा पुनरवलोकन गर्न गर्न सिफारिस गरेको छ ।

धितोपत्र दलाल व्यवसायीलाई अधिक र अस्वाभाविक लाभ आर्जन हुने तथा केही ठूला र संस्थागत लगानीकर्ताहरूले कमिसन बापत रकम प्राप्त गर्ने गरेको भन्दै महालेखा परीक्षकले नियामक निकाय नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको हो ।

सेयर ब्रोकरको आयमा गोलमाल : किन गरे करोडौं कमिसन फिर्ता ? शीर्षकमा अनलाइखबरमा समाचार प्रकाशित भएको थियो । २९ असारमा सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले ब्रोकरले कमिसन फिर्ता गरेर खर्च देखाएको पुष्टि गरेको छ । एक ब्रोकरले आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ करोड २० लाख रुपैयाँ कमिसन बापत ग्राहकलाई फिर्ता गरी खर्च दावी गरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको ५९ औ वार्षिक प्रतिवेदनले सेयर ब्रोकरहरुले केही ठूला र संस्थागत लगानीकर्ताहरूले कमिसनबापत रकम फिर्ता गर्ने गरेको जनाएको छ । एउटै सेयर ब्रोकर कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा मात्र कमिसन बापत ७ करोड २० लाख फिर्ता गरी खर्च दाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनले यसरी खर्च दाबी गरेको औल्याउँदै सेयर ब्रोकरको कमिसनमा नै पुनरवलोकन गर्न सिफारिस गरेको छ । प्रविधिको विकाससँगै धितोपत्र व्यवसायको क्षेत्र र दायरा विस्तार हुँदै गएको छ । यस्तो सन्दर्भमा सेयर ब्रोकरको आम्दानी अस्वभाविक रुपमा बढेका र कमिसन रकम नै फिर्ता गरेर खर्च दाबी गरेको प्रतिवेदनमा औल्याएको छ ।

‘धितोपत्र दलाल व्यवसायीलाई अधिक र अस्वाभाविक लाभ आर्जन हुने तथा केही ठूला र संस्थागत लगानीकर्ताहरूले कमिसनबापत रकम प्राप्त गर्ने अवस्था देखिन्छ।’ प्रतिवेदनमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायीले लिने विद्यमान सेवा शुल्कको दरमा पुनरवलोकन गरी धितोपत्र व्यवसायलाई स्वच्छ, पारदर्शी र लगानीमैत्री बनाउन ध्यान दिनुपर्दछ ।’

नियामकमाथि नै आशंका

धितोपत्र बोर्ड ब्रोकरले कमिसन फिर्ता गर्न दिन नसक्ने व्यवस्था गरेको छैन । तर, सेयर ब्रोकरको कमिसन अनलाइन कारोबार प्रणालीमार्फत सिस्टमले नै हिसाब गरेर निर्धारण गर्ने हुँदा सिस्टमबाट आएको कमिसन फिर्ता गर्नुलाई लेखा सिद्धान्तअनुसार महालेखा परीक्षकले उठाएको हुनेसक्ने धितोपत्र बोर्डको सहायक प्रवक्ता रुपेश केसी बताउँछन् । सेयर ब्रोकरहरु नै कमिसन फिर्ता अनैतिक भएको बताउँछन् ।

कमिसन फिर्ता गरेको ब्यालेनसिट स्वीकृत गर्ने धितोपत्र बोर्डमाथि पनि प्रश्न उठेको सेयर ब्रोकर व्यवसायी नरेन्द्र सिंजापतिले बताए ।

‘कुनै पनि दलाल व्यवसायीले कमिसन छुट अथवा फिर्ता दिनै मिल्दैन,’ उनले भने, ‘यदि त्यस्ता भएको व्यालेन्स सिट देखेर पनि धितोपत्र बोर्ड र नेप्से चुप लागेको छ भने त्यसमा उनीहरुकै मिलेमतो हुनसक्छ ।’ यस्तो कार्य गर्ने जो कोही पनि कारवाही हुनुपर्ने र व्यालेन्स सिट स्वीकृत गर्ने नियाममक निकाय पनि जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

धितोपत्र बजारका विज्ञ डा. गोपालभट्ट पनि कमिसन फिर्ता दिएर कारोबार गर्नका लागि धितोपत्र बजार वस्तु व्यापार नभएको बताउँछन् । यस्तो कार्य गर्ने गरेको देखेर पनि अनदेखा गर्ने दुवै दोषी रहेको उनको तर्क छ ।

बोर्डका सहायक प्रवक्ता रुपेश केसी बोर्डले नियमित रुपमा ‘अफसाइड’ र स्थलगत सुपरिवेक्षण गरिरहेको भएपनि कहीलेकाँही यस्ता कुरा छुट्ने बताउँछन् । सेयर ब्रोकरको विवरण बोर्डले चाहेको बेलामा माग गर्न सक्ने व्यवस्था छ । सेयर ब्रोकरले पनि वार्षिक रुपमा उपलब्ध गराउनुपर्ने हुन्छ । जुन विवरण बोर्डले अध्ययन गरेपछि मात्रै स्वीकृत हुन्छ । यति ठूलो रकम कमिसन फिर्ता गरेर खर्च लेखाङ्कन गरेको वित्तीय विवरण धितोपत्र बोर्ड स्वीकृत गरेको हो । एउटा दलाल व्यवसायीले यति ठूलो रकम लगानीकर्तालाई कमिसन फिर्ताको रुपमा खर्च देखाउँदा पनि अनदेखा गलत भएको दला व्यवसायी नरेन्द्र सिंजापतिको तर्क छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावली २०६४ मा ब्रोकर कमिसनसम्बन्धी व्यवस्था रहेपनि कमिसन फिर्ता गर्न सक्ने अथवा नसक्नेसम्बन्धी केही उल्लेख नरहेको बोर्डका सहयक प्रवक्ता केसीको तर्क छ । यो भन्दैमा ब्रोकरले कमिसन फिर्ता भने गर्न नसक्ने उनी बताउँछन् ।

महालेखा परीक्षकले लेखा सिद्धान्तअनुसार लिइसकेको कमिसनलाई फिर्ता गर्नु सैद्धान्तिक विषयका रुपमा उठाएको हुनसक्ने उनको तर्क छ । तर, महालेखा परीक्षकले भने यसलाई ठूला र संस्थागत लगानीकर्ताले लाभ लिने अवस्था देखिएको भन्दै त्यसतर्फ बोर्डको ध्यानकर्षण समेत गराएको छ ।

अस्वस्थ प्रतिस्पर्धा

सेयर बजारमा कसैलाई पनि छुट वा कमिसन दिएर कारोबार गर्न उत्साहित गर्न मिल्दैन । कमिसन फिर्ता गर्नु भनेको कारोबार गर्न उत्साहित बनाएको रुपमा बुझनुपर्ने सेयर ब्रोकर नरेन्द्र सिंजापति बताउँछन् । नेपालमा सञ्चालित सेयर ब्रोकरको व्यवसायिक प्रकृति तथा सिद्धान्तले कमिसन छुट अथवा फिर्ता गर्न नमिल्ने उनको तर्क छ ।

‘कर कानुनले पनि कमिसन फिर्तालाई खर्च मान्न सकिंदैन । कमिसन छुट दिएर कसैलाई कारोबार गर्न उत्साहित गर्छ, भने त्यो अपराध हो,’ सिंजापति भन्छन्, ‘सेयर ब्रोकरले कुनै पनि लगानीकर्तालाई सेयर किन्न र बेच्नका लागि उक्साउन पाइँदैन, कारोबार कमिसन नै छुट दिनु भनेको कारोबारका लागि उक्साउनु हो ।’

डा. गोपाल भट्ट पनि स्वस्थ प्रतिपर्धा हुने बजारमा एउटै प्रकृतिका दलाल व्यवसायी रहेको अवस्थामा लगानीकर्तालाई आकर्षण गर्न कमिसन फिर्ता गर्न नमिल्ने बताउँछन् । ‘धितोपत्र बजार, वस्तु अथवा सेवा व्यापार जस्तो यति प्रतिशत छुट दिन्छु भन्ने बजार होइन,’ उनी भन्छन्, ‘शिक्षामा पनि विज्ञापन गरिहेको छन् भने विज्ञापन गर्नुस् तर नियामकले तोकेको शुल्कमा नै तलमाथि गर्ने अथवा फिर्ता दिने कुरा स्वस्थ प्रतिस्पर्धा हुने बजारमा हुन सक्दैन ।’ नेपालको बजारको समस्या नै एकाधिकार र अस्वस्थ प्रतिस्पर्धा हुने भएको उनको तर्क छ ।

महालेखा परीक्षकको कार्यालयले धितोपत्र बोर्डलाई अनुगमन सुपरीवेक्षण र नीति नियम कार्यान्वयलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । मर्चेन्ट बैक, सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारको सेवा शुल्क, विवरण, प्रतिवेदनहरू समयमै प्राप्त गरी प्रभावकारी नियमन र अनुगमन गर्नुपर्ने सुझाव महालेखाको प्रतिवेदनमा छ ।

आम्दानीमा प्रतिफल उच्च

महालेखा परीक्षककले कमिसन फिर्ता मात्रै नभएर बोकरको आम्दानी र नाफामा नै प्रश्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सेयर ब्रोकरले १० अर्ब ६९ करोड ३ लाख आम्दानी गरेका छन् । जसमध्ये कुल २ अर्ब ९९ करोड ४८ लाख खर्च रहेको छ भने ७ अर्ब ६९ करोड ५५ लाख खुद आय देखाएका छन् । सेयर ब्रोकरको कुल आयको तुलनामा औसत खुद आय ७०.७८ प्रतिशत रहेको जनाएको छ । कुल आयमा क्रिष्टल कञ्चनजंगा सेक्युरिटिजको ९१.८० प्रतिशत, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको ९१.६० प्रतिशत, भृकुटी स्टक ब्रोकिङको ९१.६० प्रतिशत, सुमेरु सेक्युरिटिज ८८.३० प्रतिशत र दक्षिणकालि इन्भेष्टमेन्ट ८५.३० प्रतिशत खुद आय रहेको छ ।

यही आम्दानीलाई इंगित गर्दै महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसन रकममा पुनर्विचार गर्न समते सिफारिस गरेको छ । धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालेसँगै बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर कारोबारमा ब्रोकर कमिसनको अध्ययन गर्ने बताएका थिए । उनले अध्ययन गर्न बोर्डको आन्तरिक अध्ययन समिति पनि गठन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदनले नै कमिसनमा पुनर्विचार गर्न निर्देशन दिएपछि ब्रोकर कमिसन समायोजनका लागि बोर्डलाई दबाव बढेको छ ।

ब्रोकरको संख्या र त्यसका लगानीकर्ता सीमित रहेको भन्दै कारोबार बढ्दै जाँद कमिसन घटानुपर्ने बजार विज्ञ डा. गोपाल भट्ट बताउँछन् । महलेखा परीक्षकको प्रतिवेदनले त्यसमा थप बल पुर्‍याएको उनले बताए । ‘सेयर खरिद र बिक्री दुवैमा कमिसन छ, कारोबार बढ्दै छ, तर ब्रोकर सीमित छन् । यसले बजारमा एकाधिकार सिर्जना हुँदैछ,’ उनले भने, ‘४०० प्रतिशतसम्म नाफा हुने अन्य कुनै क्षेत्र देखिंदैन, बजारको नियमले पनि प्रतिफल हुने क्षेत्रमा लगानीकर्ताको चाप लाग्ने हुन्छ, अहिले ब्रोकर लाइसेन्समा यहि कारोबारले आकर्षण देखिन्छ ।’

अस्वभाविक आम्दानीले नै ब्रोकरहरु सिडिकेटको ओकालत गर्ने उनको तर्क छ। धितोत्रप बोर्डले ल्याएको पूँजी वृद्धि र वर्गीकरण सहितहको ब्रोकरको ‘ओपन इन्ट्री’ र ‘ओपन एक्जिट’ पोलlसीले यस्ता बेथिति अन्त्य गर्ने बताउँछन् । तर, अहिले समय र परिस्थितिले भने उक्त नीतिमाथि आशंका गर्नुपर्ने अवस्था रहेको उनले बताए

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?