+
+
मनोभाव :

तपाईंहरू हुनुहुन्छ र न हामी छौं, हाम्रो पहिचान छ आमा…

कलिलै उमेरको बिहे। बिहेसँगै आएका नयाँ नाता र त्यसले ल्याएका नयाँ जिम्मेवारीको बोध गर्न पनि त गाह्रो छ महिलालाई। झन् आमा भएपछिको नयाँ कर्तव्य।

वर्षा सेढाई वर्षा सेढाई
२०७९ असार ३२ गते १२:२०

आमा हुनुहुन्छ र त लाग्छ सबै ठिक छ। म आज यहाँ कसरी हुन सक्थें यदि आमा हुनुहुन्थेन भने। आजको यो उमेरसम्म आउँदा जीवनका धेरै उतारचढाव भोगें। सुख र दुःखको डोरीले बनेका धेरै पीङमा मच्चिएँ।

जीवनमा सुखले भन्दा दुःखले धेरै कुरा सिकाउँदो रहेछ। सायद यो मेरो मात्र नभएर सबैको साझा अनुभूति हो। सुख त कुरा नै रमाउने पर्‍यो, जहाँ जिन्दगीका कथा कसरी बुझ्न सकिएला ?

दु:ख भन्ने शब्द सुन्दा नै मन चिसो भएर आउँछ। बितेका ती पुराना दिनहरू याद आउँछन् र सहेका पीडाहरू पनि। आज अलि त्यस्तै हुँदैछ। गाह्रो परेर सहेका ती दिनका यादले मन पोलिरहेको बेला पनि जब आमालाई अगाडि देख्छु तब मन शान्त भएर आउँछ। लाग्छ आमा हुनुहुन्छ र त सबै कुरा ठिक छ। उहाँ विना त दिन नै लामो र गाह्रो लाग्छ।

सानो हुँदा आमाले हात पनि उठाउनुहुन्थ्यो। केही सानो गल्ती हुँदा पनि गाली गरिहाल्ने। आफूले आमाको अगाडि अलि ठूलो स्वरमा कराएर केही पनि कुरामा जित्न खोज्दा त पिटाइ नै खानुपर्ने। उमेर बढ्दै र सोचाइ पनि फरक हुँदै गयो। लाग्थ्यो– ‘आमा कति पिट्नुहुन्छ। माया नै गर्नुहुन्न। भोलि जब म ठूली हुन्छु, बाहिर जान्छु तब बल्ल मेरी आमालाई मेरो याद आउनेछ। अहिले त केही बोल्दा पनि गाली गर्नुहुन्छ।’

यस्तो सोचाइले मलाई आमाबाट टाढा राख्यो। केही भन्न पनि मन डराउने। केही भन्नुहुन्छ कि, गाली पो गर्नुहुन्छ कि जस्तो लाग्थ्यो। त्यसबेला यस्तै लाग्ने रहेछ। उमेर अनुसारको सोचाइ।

आज उमेर पक्का भयो। जब ती पुराना दिनहरू याद आउँछन्, तब हाँसो लाग्छ कहिलेकाहीं। आमाले पहिले त यस्तो गर्नुहुँदैन है भनेर सम्झाउनुहुन्थ्यो। गर्न नहुने काम गर्दा कराउनु र अझ त्यही कुरामा जित्न खोज्दा कुट्नु पनि हुन्थ्यो।

आज आएर लाग्छ- यो गर्न पनि त गाह्रो थियो आमालाई। आफ्नो बच्चालाई गाली गर्न त त्यसै नि गाह्रो हुन्छ। आफ्नो सन्तान नबिग्रियोस्, राम्रो होस् भनेर नै त हो आमाहरू अलि कडा हुने।

आज म यतिसम्म भएकी छु किनकि उबेलामा आमाले सिकाउनुभएको थियो– कहिले सम्झाएर त कहिले गाली गरेर। अनि कहिलेकाहीं अलि बढी हुँदा चाहिं हात नै उठाएर।

जिन्दगीका दिनहरू कट्दै जान्छन्। कहिले राम्रो, कहिले नराम्रो। कहिले आफूले सोचेको भन्दा दिन नराम्रो हुन्छ। कहिले काम धेरै भएर गाह्रो, कहिले कसैले आफ्नो कुरा बुझ्दैनन् अनि बुझाउन पनि गाह्रो। यस्ता दिनहरूमा त वाक्क लाग्छ। दिमागमा नचाहिने कुराहरू धेरै खेल्छन् र केही राम्रो सोचाइ आउँदैन। त्यस्तो बेलामा जब आमालाई देख्छु अनि लाग्छ- ‘आमाले त कति गर्नु पो भएको छ। १० कक्षासम्म पनि पढ्नुभएको छैन र पनि आफ्नो सन्तानलाई पढाउनुपर्छ भनेर मिहिनेत गरिरहनुभएको छ। आज श्रीमान् हुनुहुन्न, घरको हरेक कामकाज एक्लै हेर्नुहुन्छ तर कहींकतै कहिल्यै बाधाअड्चनहरू आउन दिनुभएको छैन। आफूलाई बलियो बनाएर हाम्रा दिनहरू सहज गराइदिनुभएको छ। तर मचाहिं एक दिन खराब हुँदा यति सानो कुरालाई दिमागमा नराम्रो सोच राखेर खेलाउँदैछु।’

आमाको एक झलकले यस्ता कुराहरू दिमागमा आउँछन्। अनि आफूमा आत्मविश्वास बढ्छ। म केही गर्न सक्छु भनेर जिन्दगीमा अगाडि बढेपछि कुनै पनि बाधाले रोक्दैन भन्ने सकारात्मक सोचाइले दिमागमा खेलेका ती हजारौं अनावश्यक कुरा तितरबितर हुन्छन्।

*** ***

मन सधैं खुसी रहँदैन। कहिलेकाहीं चिसो हुन्छ। बितेका दिन र ती दिनका भोगाइ जब याद बनेर आउँछन् तब मन निकै भारी हुन्छ।

आज पनि याद आउँछन्- आफू बिरामी भएर अस्पताल बसेका दिनहरू। म त खाटमा थिएँ, मेरो काममा मलाई सघाउँदै हुनुहुन्थ्यो त बस् मेरी आमा। परिवारमा सबै आफ्ना हुन् र माया पनि सबैले गर्छन् तर कामकाजले गर्दा कोही कतै कोही कतै, नजिक हुनुहुन्छ त केवल आमा। जेजति गर्नुपर्ने थियो सबै आमाकै काँधमा।

कहाँ जानुपर्ने, के गर्नुपर्ने, सबै आमाको हातमा थियो। कहिले कहाँ कुन कोठा खोज्दै जानुपर्ने, कहिले कसलाई भेट्न जानुपर्ने। गर्नुहुन्थ्यो सबै एक्लै तर गाह्रो भो कहिल्यै भन्नुभएन।

ज्यानलाई पनि गाह्रो भयो होला। भुइँमा सुत्नुपर्ने, कामको चक्करमा कहिले त खाना नि खान पाउनुभएन। कुनै रात त सुत्दा पनि सुत्नुभएन। आफ्नी छोरी बिरामी, केही गाह्रो पो हुन्छ कि भनेर होला राति पनि मलाई हेरेरै बस्नुहुन्थ्यो। दिनभरि पनि नियमित रूपमा सोध्दै हुनुहुन्थ्यो, ‘केही गाह्रो त भएको छैन नि ? भएको भए भन है।’

आफ्नो थाकेको, समयमा खान नपाएर गलेको शरीरको वास्ता थिएन, वास्ता थियो त बस् छोरीको।

सन्चो भएर घर आएपछि पनि कहिल्यै एक्लै छोड्नुभएन। अझ नराम्रो नलागोस् भनेर ‘आत्तिनुहुँदैन वर्षा, मान्छेको शरीर हो, अन्न र पानीले बनेको, कहिलेकाहीं केही त भैहाल्छ। आफूलाई बलियो राख्ने, विस्तारै सबै कुरा ठिक हुँदै जान्छ’ भन्नुहुन्थ्यो।

आमाले त्यो गाह्रो बेलाको वातावरण पनि कहिल्यै नराम्रो हुन दिनुभएन। कहिले घरका रमाइला कुराहरू त कहिले हिम्मत दिनको लागि अरुको भोगाइ र त्यसलाई आत्मसात् गर्दै अगाडि बढेका कुरा सुनाउनुहुन्थ्यो। यति गर्नुहुन्थ्यो त बस् कुरा सजिलो होस्, मलाई गाह्रो नहोस्। मनमा धेरै कुरा नखेलोस् र दिन राम्रोसँग बितोस् भनेर।

*** ***

आज आएर जब यो सबै सोच्छु- लाग्छ आमा हुनुहन्छ र त सबै कुरा छ घरमा। चाहे जे–जस्ता चुनौती आए पनि, हरेक कुरा आमाले सम्हाल्नुभएको छ।

हरेक समस्याबाट टाढा राख्नुभएको छ आमाले हामीलाई। त्यही भएर आज यहाँ यो ठाउँसम्म ल्याउनुभएको छ हरेक कुरा सम्हालेर र मिलाएर। चाहे त्यो बच्चा बेलामा गल्ती गर्दा गाली गरेर होस् या दु:ख पर्दा सबै आफूले सम्हालेर। आफ्नो काँधमा लिएर बचाउनुभएको छ सबै कुरा आफ्नो हौसलाले।

सायद कहिले नसिकेर र नगरेर पनि होला यी सबै कुराहरू आमासामु व्यक्त गर्न सकिनँ। त्यसैले आज मनमा जे छ, सबै यिनै शब्दहरूको माध्यमबाट ल्याउन खोजेकी छु।

आज जब म सोच्छु, हरेक महिलाले आफ्ना नाता, जिम्मेवारी र कर्तव्य सहजकताका रूपमा पूरा गर्दै आएका छन्।

कलिलै उमेरको बिहे। बिहेसँगै आएका नयाँ नाता र त्यसले ल्याएका नयाँ जिम्मेवारीको बोध गर्न पनि त गाह्रो छ महिलालाई। झन् आमा भएपछिको नयाँ कर्तव्य। आफ्नो सन्तानलाई कहिल्यै दु:ख नहोस् र सधैं सुख दिन पाउँ भन्ने सधैंको इच्छा र आकांक्षा।

*** ***

मेरी वा अरु कसैको आमा, हरेक आमाहरू घरमा आउने समस्याको बीच पर्खालको रूपमा उभिएका छन्। ‘म छु, जे हुन्छ म सम्हाल्छु’ भनेर सबै कुरा सम्हालेर आफ्नो परिवारलाई अगाडि लगेका छन्।

आएका सबै जिम्मेवारी निभाएर अगाडि बढेका छन्। आफ्नो दु:खलाई बिर्सिएर परिवारको सुखमा तल्लीन छन्। कुनै दु:खले नै सताउँदा पनि परिवारलाई गाह्रो हुन्छ भनेर आफैं एक्लै सहेका छन्। र पनि आफूभित्रको आत्मबल हराएका छैनन्। मेरा शब्दहरू ती सबै आमाहरूप्रति समर्पित गर्न चाहन्छु- तपाइँहरु हुनुहुन्छ र न हामी छौं, हाम्रो पहिचान छ आमा…।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?