+
+

राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते ११:०१

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो ।

कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अतिविपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम दिने गरेको छ ।

सरावल गाउँपालिकामा ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो । ७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए ।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला गैर विपन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लागेको छ । उक्त वडाबाट मात्र अति विपन्न भन्दै ४ सय १८ जनाले फाराम भरेका थिए ।

सुरुमा सबैको नामावली वडाध्यक्षले पालिकामा पठाएका थिए । तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाध्यक्षले सोही अनुरुप नाम पठाएका थिए । ती सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार वडाध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो ।

विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो । सहमतिमा वडाध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । उपाध्यक्ष हरिजन एमालेकी हुन भने वडाध्यक्ष चौधरी कांग्रेसका हुन् ।

विवादले उग्ररुप लिंदै कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ ।

दुवै पक्षले इँटा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । घाइते १८ मध्ये ६ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

टाउकोमा चोट लागेका उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । संघीय सरकारबाट आएको रकम वितरणमा विवाद हुँदा सरावल गाउंपालिकाकै वडा नं. २ को कार्यालय चार दिनदेखि बन्द भएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?