+
+

सभापतिलाई असहयोग गरेको छैन, सरकारले गल्ती सच्याएन : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १९:५५

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतमा केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वले अझै नसच्याएको भन्दै आलोचना गरेका छन् ।

केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्दै उनले निवर्तमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको शक्ति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएकामा असन्तुष्टि जनाएका हुन् । ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो, एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन’ उनले भने ।

सुशासनको सवालमा पनि सरकार खरो उत्रिन नसकेको र संघ तथा प्रदेशसँग पनि संघीय सरकारले पर्याप्त समन्वय गर्न नसकेको महामन्त्री शर्माले बताए । सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सफलता भन्दै उनले प्रशंसा गरे ।

‘चुनाव व्यवस्थित रुपले सम्पन्न गराएकोमा म प्रधानमन्त्री, गृहमन्त्री एवं निर्वाचन आयोगलाई बधाई दिन चाहन्छु नेपाली काँग्रेसलाई पहिलो दल बनाउन नेतृत्व गर्ने सभापति र देशभरको पार्टी पंक्ति सबैलाई बधाइ’ उनले भने ।

महामन्त्री शर्माले मुलुकको अर्थतन्त्रका विषयमा सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् ।

‘एकातर्फ हामीले घरेलु जिवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ । अर्को तर्फ के नेपाल श्रीलंका बन्दैछ ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ । प्रमुख दलका रूपमा नेपाली कांग्रेसको कर्तव्य हो- जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिने’, उनले भने ‘अत: सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेत पत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।’

त्यसका लागि सरकारले प्रमुख प्रतिपक्षी लगायत संसदमा रहेका सबै दल एवं अर्थशास्त्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले एक हप्ताभित्र पार्टीका भ्रातृसंस्थालाई पूर्णता दिन र विभागहरु गठन गर्नुपर्ने धारणा राखे । उनले सहमहामन्त्रीहरु जिम्मेवारीविहीन भएको भन्दै उनीहरुलाई पनि एक हप्ताभित्र जिम्मेवारी दिनुपर्ने बताए । उनले शर्माले भदौ दोस्रो हप्ता नीति महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

सभापतिलाई सहयोग कि असहयोग ? 

उनले आफूहरुले पार्टी सभापति देउवालाई असहयोग नगरेको पनि स्पष्टिकरण दिए । सभापतिले विधान अनुसार काम नगर्दा घचघच्याएको भन्दै त्यसलाई असहयोगको रुपमा नलिन पनि उनले आग्रह गरे ।

विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ, बनाऔं भन्नू र बनाउनु सभापतिलाई सहयोग हो कि असहयोग ? हजारौं युवा जिम्मेवारीविहीन छन्, भ्रातृसंस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो ? विरोध हो ? कि संगठनको काममा गति दिउँ भन्ने भावना हो ?’ उनले प्रश्न गरे ।

महामन्त्री शर्माले उम्मेदवार चयन गर्न केही क्षेत्रमा पार्टीभित्रै चुनाव गर्ने प्रस्ताव गरेका छन् । आगामी आम निर्वाचन र प्रदेशसभा निर्वाचनमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यबीच चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

उनले यस्तो व्यवस्था गर्न सकेमा उम्मेदवार चयनमा कांग्रेस अरु दल भन्दा एक कदम अघि हुने बताए ।

‘१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्ने कि त्यसबारेमा छलष्फल प्रारम्भ गरौं’ उनले भने, ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगका विषयमा कांग्रेस अरु भन्दा एक कदम अघि हुनेछ, कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?