+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दक्षिण कोरियामा मौसमी श्रमिक भिसामा आएर भागेका नेपाली धमाधम पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १०:२९

१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ ।

मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए ।

कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो ।
सोही अभियान अन्तर्गत गत सातामात्र १४ जना नेपाली श्रमिक पक्राऊ परेका यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्राऊ गरिएको बताइएको छ ।

उनीहरु गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार भिसा कार्यक्रममार्फत कोरिया प्रवेश गरेका थिए ।

पाँच महिनाका लागि रोजगारदातासँग श्रम सम्झौता भए पनि सम्झौताको चौँथो महिना मार्चमा भागेका बताइएको छ ।

रोजगारदाताले श्रमिकले अघिल्लो दिनसँगै काम गर्दा आफू काम छोडेर अन्यत्र जान लागेको जानकारी नदिएको तर भोलिपल्ट बिहान उठेर कामको तयारी गर्न लाग्दा कामदार भागिसकेको बताएका छन् ।

कम्पनीले उनिहरुका साथीहरुमार्फत खोजी गर्दा नेपालबाट कोरिया आउँदा नै यहाँ आएर भाग्ने पूर्व योजना नै रहेको हुन सक्ने बताए ।

सम्झौता गरेको रोजगारदाताकहाँबाट भागेका मौसमी कामदारलाई सहयोग गरेको सीसीटिभी फुटेजमा देखिएका अन्य नेपालीलाई पनि प्रहरीले सोधपुछ गरिरहेको राईले बताए ।

मौसमी कामदारसँग पनि चर्को रकम असुलेर कोरिया ल्याइँदा श्रमिक ठगिने गरेको र उनीहरूको भागेर लुकेर काम गर्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।

यता नेपाली दूतावास सिओलले भने के कति नेपालीलाई यहाँको सरकारले पक्राऊ गरी स्वदेश फिर्ता गर्यो भन्ने सूचना नआएको जनाएको छ ।

कोरियामा पक्राऊ परेको व्यक्तिको अनुमतिविना व्यक्तिगत जानकारी दिन नमिल्ने भएकाले कुनै पनि अभियोगमा पक्राऊ परेका नेपालीका विषयमा दूतावासमा जानकारी नआउने उपनियोग प्रमुख रामसिंह थापाको भनाइ छ ।

गत महिना कोरियाको न्याय मन्त्रालयले नेपाल सरकारलाई ३ हजारको संख्यामा मौसमी कामदार पठाउन औपचारिक आग्रह गरेपनि नेपालले त्यो प्रस्तावलाई अस्वीकार गरेको दूतावासको भनाइ छ ।
नेपाल सरकारको मुख्य प्राथमिकता ईपियस प्रणाली नै भएकाले मौसमी कामदार पठाउन नमिल्ने जवाफ नेपालले पठाएकाले मौसमी कामदारका विषयमा दूतावासले केही गर्न नमिल्ने सिंहले बताए ।

जुन महिनाको अन्त्य सम्ममा २ सय ४५ पुरुष र ३५ जना महिलागरी २ सय ८० जना नेपाली श्रमिक मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेको यहाँको अध्यागमन कार्यालयको तथ्याङ्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?