+
+

मान्छे बचाउने सर्पको नालीबेली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ६:४९

अहो सर्प ! यो सरीसृपको नाम सुन्नासाथ मान्छेको भावभंगी कस्तो हुन्छ ? कान ठाडो हुन्छ, आँखीभौं तन्किन्छ । डर हो वा घिनले, मान्छेको अनुहार खुम्चन्छ । अर्थात् मान्छे ‘सर्प’को नामसँग उल्कै डराउँछन् ।

अब कहीं–कतै सर्प देखिए भने ?

मान्छेले त्यसलाई कुनै हालतमा बाँकी छाड्दैन । कुटीकुटी मार्छ ।

औसत १५ वर्षको आयु लिएर धर्तीमा आएको सर्प यसरी नै मान्छेको सिकार बनेर अल्पायुमै मर्छन् । ठ्याक्कै तथ्यांक छैन, कति सर्पले अकालमा ज्यान गुमाउँछन् । यद्यपि प्रकृतिले दिएको आफ्नो पूर्ण आयु गुजारेर मृत्यु भएको सर्प विरलै भेटिन्छन् । सर्प अनुसन्धानकर्ता कमल देवकोटा यसै भन्छन् ।

मान्छेले सर्पलाई यति घृणा गर्छ कि, सायद यो धर्तीमा अरु कुनै प्राणीले त्यस्तो खेदो सहनुपरेको छैन । जबकि जीवविज्ञानले भन्छ, ‘यो धर्तीमा मान्छेभन्दा पहिले त सर्प अस्तित्वमा आए ।’ यसको सोझो हिसाब–किताब के भने, सर्पलाई यहाँ बाँच्ने हक उत्तिनै छ जति मान्छेलाई । योगदानकै तराजुमा तौलने हो भने पनि पर्यवरणीय चक्रलाई सन्तुलन राख्न सर्पको भूमिका अहम् छ ।

सर्पले मान्छे बचाउँछ

‘एस्क्लेपियस’, जसलाई पुरातन ग्रीक समाजले स्वस्थ देउताको रुपमा विश्वास गर्थे । उनले उपचारका लागि सर्पको प्रयोग गर्थे भनिन्छ । युनानीहरु सर्पलाई ज्ञान, उपचार र पुनरुत्थानको पवित्र प्राणी मान्ने गर्छन् । यसैबाट प्रभावित भएर चिकित्सा विज्ञानले ‘सर्प’लाई एक प्रतीकात्मक चिह्नको रुपमा उपयोग गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका कतिपय अचूक औषधि सर्पबाट बन्छन् । क्यान्सरको विरामीको दुखाई कम गर्ने औषधि सर्पको विषबाट बन्छ । बीबीसीको एक रिपोर्ट अनुसार गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ । साथै सर्पको विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ ।

सर्पले मान्छेलाई जटिल रोगहरुबाट बचाउँदै आएको पो छ । तैपनि सर्पसँग मान्छे क्रुर र कठोर छ । यो प्राणीप्रति किन मान्छे यति रुष्ट भए ?

किनभने मान्छेलाई लाग्छ, ‘सर्पले डस्छ । सर्पले डसेपछि मृत्यु नै हुनसक्छ ।’

जबकि विश्वमा जति प्रजातिका सर्प छन्, त्यसमध्ये ८० प्रतिशत प्रजातिका सर्पले डस्दैन । डस्यो भने पनि त्यसमा विष हुँदैन । कुरा रह्यो विषालु सर्पको । यी सर्पले मान्छेलाई खोज्दै–लखेट्दै डस्दैन । न सर्पलाई मान्छेको रगत पिउनु छ, न मासु खानु । उनको आहार त प्रकृतिमा अरु नै छ । सर्प मांसहारी हो । भ्यागुतो, छेपारो, मुसो, किरा–फट्याङ्ग्रा उसको खास भोजन हो । एक पटक अघाउञ्जेल खाएपछि १५ दिनदेखि १ महिनासम्मलाई पुग्छ । मान्छेजस्तो खन्चुवा प्राणी पनि होइन यो ।

यतिबेला तपाईंको मनमा प्रश्न उठ्नसक्छ, सर्पले आफ्नो आहार छाडेर किन मान्छे डस्छ त ?

सर्प अति रक्षात्मक

नागिनका कथा वा मिथकहरुलाई एकछिन विर्सनुहोस् । किनभने मनगढन्ते कथामा झै सर्पले बदलाको भावले लखेट्दै–लखेट्दै मान्छेलाई मार्दैन । सर्प विशेषज्ञ कमल देवकोटा भन्छन्, ‘कथामा मात्र हो, सर्पले लखट्दै मान्छेलाई डस्न आउने । वास्तविक जीवनमा त त्यस्तो हुँदैन ।’

कस्तो हुन्छ त ?

खासमा सर्पले मान्छेसँग दुश्मनी साधेर डसेको होइन । त्यो त उसले आफूलाई मान्छेबाट बचाउन खोजेको हो । मान्छे वा दोस्रो प्राणीबाट आत्मरक्षा गर्नका लागि सर्पले डस्छ ।

सर्प बढी नै रक्षात्मक प्राणी हो । साथै धेरैजसो आक्रामक पनि । जब सर्पको सामुन्ने अरु कुनै प्राणी पर्छ, उसले आफ्नो बचाउको लागि दोस्रो प्राणीमाथि हमला गर्छ । ‘सर्पसँग सधैं सतर्क र सजग हुन जरुरी छ’ देवकोटा भन्छन्, ‘सावधानी अपनाउने हो भने सर्पको संभावित जोखिमबाट बच्न सकिन्छ ।’

कहिलेकाहीं ओछ्यानमा आइपुग्छ, कहिले शौचालयमा घुस्रिन्छ, कहिले झार–जंगलमा लुकेर बस्छ, कहिले रुखको मुडामा गुजुल्टिएर बस्छ । यस्तो अवस्थामा मान्छे नजिक परेमा सर्पले आफूलाई असुरक्षित ठान्छ । तब, आफ्नो प्राण बचाउन उसले मान्छेलाई डस्छ । उसको नियत होइन, मान्छेलाई मार्ने । बरु आफूलाई बचाउने पो हो ।

यद्यपि सचेतना र सतर्कताको अभावमा वा बेलाबखत दुर्घटनाबस् सर्पले मान्छेलाई डस्छ । हाल यसको तथ्यांक भने डरलाग्दो छ ।

वर्षमै तीन हजारको मृत्यु

सन् २०२२ मा स्टन्ट नेपालले गरेको तात्तातो अध्ययनले देखाउँछ, नेपालमा बर्सेनि औसत ३७ हजार हाराहारी मान्छेलाई सर्पले डस्छ । यसमध्ये तीन हजारले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकले भने बर्सेनि औसत २० हजार जनालाई सर्पले डस्ने र त्यसमध्ये १ हजार जनाको मृत्यु हुने उल्लेख थियो । यो भने सने १९८७ को तथ्यांक हो ।

विश्वव्यापी कोरोनाले नेपालमा जति मान्छेको मृत्यु भयो, तुलनात्मक रुपमा सर्पको डसाइबाट हुने मृत्युको आंकडा बढी छ ।

नेशनल जियोग्राफिकको एक रिपोर्ट अनुसार यस ग्रहमा तीन हजार प्रजातिका सर्प छन् । त्यसमध्ये ६ सय प्रजातिका सर्प विषालु छन् । नेपालमा भने लगभग ९० प्रजातिका सर्प अभिलेख गरिएका छन् । त्यसमध्ये २० प्रजातिका सर्प विषालु छन् । यसबाट स्पष्ट हुन्छ, अधिकांश सर्प विषालु छैनन् । ‘मान्छेलाई सबै सर्प विषालु छ भन्ने लाग्छ’ सर्प विशेषज्ञ देवकोटा भन्छन्, ‘त्यसैले भेट्नासाथ मारिहाल्छन् ।’

खास कुरा त के भने, सर्पले डसेर जति मान्छे मर्छन् । त्यसको सैयौं गुणा बढी सर्प मान्छेको कुटाइबाट मारिन्छ ।

काठमाडौंमा विषालु सर्प

नेपालका २६ वटा जिल्ला छन्, जसलाई सर्पदंशको जोखिम क्षेत्रको रुपमा लिइन्छ । तराईको मेचीदेखि महाकालीसम्मका जिल्लासहित पाल्पा, सिन्धुली, सुर्खेत, डडेल्धुरामा विषालु सर्पको डसाइबाट ज्यान गुमाउनेको संख्या बढी छ । यद्यपि विषालु सर्प यी भेगमा मात्र होइन, पहाड एवं लेकाली क्षेत्रमा पनि हुन्छ । जस्तो हिमालयन करेत, माउन्टेन पिट भाइपर जस्ता विषालु सर्पको थातथलो लेक नै हो ।

त्यसो त काठमाडौंमा पनि विषालु सर्पको विगविगी छ । काठमाडौंमा वैशाख यता असारसम्म मात्रै ६ वटा किङ कोब्रा भेटिएको छ । निकै विषालु मानिने यी सर्प दक्षिणकाली क्षेत्रबाट उद्वार गरिएको हो । कलंकीबाट गोमन सर्प उद्वार गरिएको छ । यहाँ अर्को विषालु सर्प पिट भाइपर पनि उत्तिकै छ । टेकुमा उपचार गर्न आउनेहरुमध्ये धेरैजसोलाई यही सर्पले डसेको पाइएको छ ।

विषालु डसाइको औषधि प्रति विष

जब कुनै व्यक्तिलाई सर्पले डस्छ, उसको उपचार सर्पको विषबाटै गरिन्छ । सुईमार्फत ‘एन्टी स्नेक भेनम’ दिएर सर्पले डसेको मान्छेलाई बचाइन्छ ।

विषालु सर्पले डस्नासाथ त्यसको विष शरीरमा फैलन्छ ? कति समयावधिभित्र अस्पताल पुग्नुपर्छ ? आम जिज्ञासा हो यो ।

सर्पले डस्नासाथ त्यसको विष लाग्यो भन्ने हुँदैन । कतिपय अवस्थामा सर्पले डस्छ, तर विष छाड्न भ्याउँदैन । यस्तो अवस्थालाई ‘ड्राइ बाइट’ अर्थात सुख्खा डसाइ भनिन्छ । अर्को अवस्थामा सर्पले डस्छ र विष छाड्न भ्याउँछ । तेस्रो स्थिति हुन्छ, एकै डसाइमा दुई पटक विष छाड्न सक्छन् ।

पहिलो अवस्थामा डराउने कुरै भएन । यद्यपि अस्पताल भने जानैपर्छ । दोस्रो र तेस्रो अवस्थामा शरीरलाई विषले गलाउन सक्छ । खासगरी यसले स्नायु प्रणालीमा तुरुन्तै असर गर्छ । त्यसैगरी रगतमा पनि यसको असर पर्छ ।

शरीरको कुन भागमा डसेको हो, त्यही अनुसार नै विषको असर देखिन्छ । ‘सर्पले डस्नासाथ सकेसम्म सर्पदंश केन्द्रमा लैजानुपर्छ’ देवकोटा भन्छन्, ‘यति नै समयमा पुर्याउनुपर्छ भन्ने छैन, जतिसक्दो चाँडो गर्नुपर्छ ।’

सर्पले डसेको व्यक्तिलाई तुरुन्तै एन्टि स्नेक भेनम दिइँदैन । किनभने उनको शरीरमा सर्पको विष नहुन पनि सक्छ । यस्तो अवस्थामा एन्टि भेनम दिइयो भने त्यसले उल्टो असर पर्छ । त्यसैले लक्षण देखिएपछि मात्र यसको उपचार थालिन्छ ।

आँखा लोलाउने, जिब्रो सुन्निने जस्ता यसका साझा लक्षण हुन् ।

झारफुक र गलत विधि

सर्पको विषले मात्र होइन, गलत उपचार विधि र ढिलाइले मान्छेको ज्यान जाने गरेको पाइन्छ । सर्पले डस्नासाथ गरिने प्राथमिक उपचारमा केही गलत तौरतरिका अपनाउने गरिएको छ ।

जस्तो डसेको भागलाई काटेर त्यसको रगत फ्याल्ने, मुखले विष चुसेर फ्क्याँक्ने, डोरीले कसेर तीन–ठाउँ बाँध्ने, झारफुक गर्ने । यसले पीडितलाई अस्पताल पुर्याउन ढिलाइ हुने मात्र होइन, नकारात्मक असर पनि पर्छ ।

नेपालमा सेनाले केही ठाउँमा सर्पदंश उपचार गराउँदै आएको छ । यसैगरी निजी क्षेत्रले सरकारी अस्पतालको समन्वयमा पनि सर्पदंशको उपचार गर्दै आएको छ । सर्पले डसेपछि अन्य अस्पताल होइन, सर्पदंश केन्द्र नै लैजानुपर्छ ।

सर्पको डसाइबाट हुने मृत्युदर कसरी घटाउने ?

सर्पको डसाइ आफैंमा एक दुर्घटना हो । खासगरी हाम्रो असावधानीले निम्त्याउने दुर्घटना ।

वनजंगलमा काम गर्दा सर्पले टोेकेका घटना धेरै छन् । यसैगरी घरमा सुतिरहेकै अवस्थामा पनि सर्पले डस्ने गरेका छन् । राति शौचालय जाँदा वा झारजंगलमा हिंडडुल गर्दा सर्पले डस्ने गरेको छ ।

सर्पको डसाइबाट बच्ने एउटै काइदा हो, यसबाट सधैं सतर्क र सावधान रहने । खासगरी झारजंगल, काठ एवं रुखको मुडा, ओडार, ढुंगाको काप, शौचालय, खाटको मुनी आदि ठाउँमा सर्प हुनसक्छ । घाँसदाउरा गर्दा पन्जा लगाउने, जुत्ता लगाउने, राति सुत्दा सकेसम्म पलङमा सुत्ने र राम्ररी झुल लगाउने, राति शौचालय जाँदा वा अँध्यारोमा हिँडडुल गर्दा टर्च लाइट बाल्ने जस्ता सानोतिनो सतर्कताले पनि सर्पको डसाइबाट बच्न सकिन्छ ।

सर्पको पूजा र धार्मिक कथन

पूर्वीय दर्शनमा सर्पलाई ‘नाग देवता’को रुपमा पुज्ने गरिएको छ । सर्पको महिमा दर्शाउने एउटा पर्व छ, नागपञ्चमी । धार्मिक विधान अनुसार पातालमा नाग देवताको बसोबास हुने भएकाले यसदिन खनजोत गर्नुहुँदैन ।

साउनको याम, सर्पको कुरा त अझ विशेष मानिन्छ । किनभने साउनलाई भगवान शिवको भक्ति आराधनाको महिना भनिन्छ । नाग धारण गर्ने भगवान शिवलाई नीलकण्ठ पनि भनेर पुकारिन्छ । त्यसको पछाडि यस्तो कथा छ ।

पौराणिक कथा अनुसार देवता र राक्षसवीच आपसी समझदारीमा समुद्र मन्थन गरी ‘अमृत’ निकाल्ने तय भयो । त्यस अनुरुप मन्दरा पर्वतलाई मदानीको रुपमा प्रयोग गर्ने र बासुकी नागलाई पर्वत घुमाउने डोरीको रुपमा प्रयोग गरियो । तर, समुद्र मन्थनको क्रममा अमृतभन्दा बढी विषाक्त तत्व निस्कियो । यसले सारा ब्रह्माण्डमा नै असर गर्ने देखियो । त्यसपछि ब्रह्माण्डलाई बचाउन भगवान शिवले उक्त विष आफूले पिए र त्यसलाई घाँटीमा राखे । यसरी विषको असरले भगवान शिवको घाँटी नीलो भयो ।

यी धार्मिक विधान र कथनहरुले सर्प एवं प्रकृतिप्रति हाम्रो पुर्खाको बुझाइ स्पष्ट पार्छ । सर्पको योगदान बुझेर नै उनीहरुले यसलाई धर्तीमा कसरी सुरक्षित बाँच्न दिने भनी धार्मिक विधि एवं पद्धतिको विकास गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?