+
+
विचार :

जंगली फलको व्यवसायीकरण, सहज जीवनयापन

डा. मित्र पाठक डा. मित्र पाठक
२०७९ साउन २ गते १३:५२

चीनको सांघाई सहरमा रहेका एक जना प्रोफेसरले केही महिनाअघि चिनियाँ सामाजिक सञ्जाल विच्याट मार्फत सम्पर्क गरे । र, एउटा ग्रुपमा आमन्त्रण पनि ।

उनको चासो थियो, नेपालमा पाइने कमल फूलका प्रजातिको बारेमा जानकारी लिने । त्यो समूहबाहिर कति छन् यकिन भएन, तर त्यो समूहमा मात्रै झण्डै चार सय जना जति सक्रिय थिए । तीमध्ये ४०-५० जनाले दैनिक कमलको फूलको अध्ययन अनुसन्धान नतिजा, व्यावसायिक प्रयोग, उद्यान पर्यटन (कमल उद्यानमा टिकटको व्यवस्था गरेर घुम्ने, मनोरञ्जन लिने कार्य), कमलको फूलका परिकार खान मिल्ने विशेष रेस्टुरेन्ट लगायतका विषयमा नयाँ नयाँ जानकारी र तस्वीर पोस्ट गरिरहन्छन् ।

म ती सबै पोस्ट हेर्दै, मनन गर्दै मेरो देशको अध्ययन-अनुसन्धानको अवस्थामा र समग्र जैविक स्रोतको सदुपयोगमा घोतलिन्छु । लामो सास फेर्छु अनि सम्झिन्छु, हामीले विदेशी वैज्ञानिकहरुको सहयोगमा दुई सय वर्षअघिबाट सुरु गरेको अध्ययन, अनुसन्धान, अधुरा फ्लोरा र अनुमानित वनस्पतिको संख्या ।

तथ्यांक खोज्छु, जैविक विज्ञान र वनस्पतिका क्षेत्रमा सरकारको लगानी केलाउँछु, अनि गन्छु नेपालमा वनस्पति क्षेत्रका विभिन्न परिवार र जाति-प्रजातिमा काम गर्ने विज्ञहरुको संख्या । म दोधार हुन्छु, सरकारको भिजन नभएको हो वा यही क्षेत्रका विज्ञ भनिएकाहरुको ! हामीले आकर्षित गर्न सकेनौं या यो धेरैको चासोको विषय भएन ।

हालको तथ्यांक हेर्दा हामीकहाँ खान हुने झण्डै २६० जंगलमा पाइने फल पाइँदोरहेछ । तर तीमध्ये धेरै कम फलको मात्रै किनबेच हुने गर्छ । छिमेकी देश चीनकै उदाहरण लिइयो भने प्रत्येक सिजनमा साठीदेखि सत्तरी फलको किनबेच हुने गर्छ ।

यति मात्र हैन, जैविक विविधताको प्रयोगका हिसाबले पनि हामी धेरै पछि छौं । जीवनयापनका अर्थमा हेरियो भने यतिबेला महंगीले आम सर्वसाधारणको जीवन कति कठिन हुँदै गइरहेको छ, नाप्ने तुलो भएको भए अवश्य देखिन्थ्यो । तर सरकार कमजोर देखिन्छ, अधिकारकर्मीहरु मौन छन् र जनता हतास र डरमा बाँचिरहेका छन् ।

डर अनेकथरी छन् । छाक टार्ने डर, अन्य खर्च धान्न नसकिने पो हो कि भन्ने डर, अनिश्चित भविष्यको डर । स्कुल कलेज पढ्ने कलिला लालाबालादेखि घरमै आराम गर्ने पाका उमेर सबैको बाध्यता छ, जिन्दगी घिसार्नलाई ।

यसका लागि केही न केही विकल्प त खोज्नै पर्‍यो । कतिपय अवस्थामा त हामीले हाम्रै सम्भावना नै चिन्न नसकेर पछि परेका छौं । हालको तथ्यांक हेर्दा हामीकहाँ खान हुने झण्डै २६० जंगलमा पाइने फल पाइँदोरहेछ । तर तीमध्ये धेरै कम फलको मात्रै किनबेच हुने गर्छ । छिमेकी देश चीनकै उदाहरण लिइयो भने प्रत्येक सिजनमा साठीदेखि सत्तरी फलको किनबेच हुने गर्छ । भारतमा पनि त्यो भन्दा कम होला, तर हामीकहाँ भन्दा दुई गुणा बढी फलको व्यापार हुने रहेछ ।

देश ठूला हुँदा त्यहाँ पाइने फलको संख्या त केही बढी होलान् नै, तर पनि लामो समय भण्डारण गर्ने प्रविधि विकास नहुँदा र भएका प्रविधिको पनि समुचित उपयोग नहुँदा हामीकहाँ पाइने फलहरु फलेको केही समयमै सकिन्छन् । भएका फलको पनि हामीले प्रयोग गर्न सकिरहेका छैनौं । यो अर्थमा हामी ज्ञानी धेरै र व्यावसायिक कम मात्रै हुन सक्यौं । समग्र जैविक स्रोतमा हाम्रो जीवन पूरै भर परेको छ, तर हामी कामचलाउ मात्रै भयौं । अझ भन्ने हो भने धेरै निर्वाहमुखी भयौं, व्यावसायिक कम भयौं ।

जैविक स्रोतको आवश्यक अध्ययन नहुँदा त्यसको प्रयोग र सम्भावनाको थप खोजी गर्ने कुरा पछिको भयो । जति भएका छन्, तिनको अध्ययनमा पनि परम्परागत प्रविधिलाई नै आधार बनाइएको छ । कहीं कतै व्यावसायिक खेती गरिएका जडिबुटी र अन्य जैविक स्रोतको देशमै खपत नहुँदा, बजारको ग्यारेन्टी नहुँदा र बजार भाउ तलमाथि हुँदा अन्योल कायमै छ । त्यसमाथि नयाँ नयाँ रोगले उत्पादन घट्दा र बिचौलियाको फन्दामा पर्दा किसानहरु निरीह बन्न बाध्य छन् । किसानको गुनासो छ, १० वर्षयता महंगी कति बढ्यो ? कृषि उपज र जडिबुटीका भाउ घटेको होला, तर बढेको छैन ।

दूरदराजका जिन्दगी त्राहीत्राही छन्, हाम्रो ध्यान ठूला कुरामा गए, हामी सपना बाँड्नमै तल्लीन भयौं । जैविक विविधताको विषय स्कुल र क्याम्पसमा बिरलै पढाइन्छ । हाम्रै वरपर विषालु च्याउ खाएर मान्छे मरिरहेका छन् । निउरोहरुको उपयोगिता थाहा नपाउँदा मान्छेले कुल्चेर हिंडेका छन् या गाईवस्तुलाई सोत्तर बनाइरहेका छन् । सुनाखरी, हाडे, वनलसुन, चुत्रोको डाँठ कौडीको भाउमा बिक्री गर्नुपर्ने बाध्यता छ । अन्य महत्वपूर्ण जडिबुटीको खेती गर्ने इच्छा भएर पनि प्राविधिक ज्ञान कहाँ गएर लिने हो किसान अलमलमा छन् । फलाएका, संकलन गरिएका जडिबुटीको भाउ नपाउँदा टाउकोमा हात राखेर बस्नुपर्ने बाध्यता छ ।

बजारको सुनिश्चितता गरिदिएर व्यावसायिक जडिबुटी खेतीका साथै जंगल र निजी वनबारीमा फलेका चिउरी, चुत्रो, ऐंसेलु, काफल, हलुवाबेद, आरुबखरा, नासपाती, फल तथा निउरो, खान हुने च्याउ आदिको व्यावसायिकता र तिनीहरुको खेती प्रविधि एवं अन्य गैर कास्ट वन पैदावारको समुचित आयआर्जन सहितको प्रयोग मात्रै सिकाउन ढिलो भइसकेको छ । यस्ता कुरालाई अघि बढाए मानिसको जीवनयापन केही सहज बनाउन अवश्य सकिन्छ ।

योजना, आयोजना, गोष्ठी र सेमिनारहरुको स्वरुप धेरै फेरियो, तर जीवनयापन अरु कठिन किन भयो ? जैविक विविधता जीवन बाँच्ने आधार, आममान्छेको जीवन फेर्ने आधार किन हुन सकेन ? आत्मग्लानि अवश्य हुन्छ नै त्यही पनि आउनुहोस् निर्मम समीक्षा गरौं । बाँझो बारी छोडेर विदेशिने युवालाई जडिबुटी खेती वा अन्य व्यावसायिक कृषिखेती नै पाँच वा १० वर्षपछि कमाइ हुनसक्छ भनेर ७७ जिल्लामा अभियान चलाउन वा चलेका अभियानलाई व्यापक बनाउन निकै ढिला भइसक्यो । त्यो कामलाई गति दिने काम तपाईं हामीले जसले गरे पनि हुन्छ तर गरिहाल्नुपर्छ ।

(डा. पाठक वनस्पति अनुसन्धान केन्द्र, सल्यानमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?