+
+

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १८:०४

२ साउन, काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

सोमबारको न्यायपरिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

शर्मामाथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप छ । साथै उनीमाथि कस्तुरीको विनासम्बन्धी मुद्दामा पनि कार्यक्षमताको अभाव रहेको भन्ने आरोप लागेको छ ।

न्यायाधीश निधिमाथि नाबालिकामाथि बलात्कार मुद्दामा खराब आचरण देखाएको आरोप छ । साथै विदेशीले नेपाली नागरिकता पाएको विवादमा पनि कैफियतयुक्त फैसला गरेको आरोप उनीमाथि छ ।

परिषदले गत शुक्रबारमात्रै उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दियाका जिल्ला न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्तको सिफारिस गरेको थियो ।

त्यही दिन उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई एक पटकका लागि सचेत बनाउने निर्णय गरेको थियो । अन्सारी र शाहमाथि कार्यक्षमताको अभाव र खराब आचरणको आरोपमा कारवाही भएको हो । उप्रेतीमाथि रायकिताब र फैसलामा फरक विवरण लेखेको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?