+
+

सहर धनीको मात्रै होइन

सहर धनीको मात्रै हैन, सडकमा व्यापार गर्नेको पनि हो । सहरमा उसले गर्ने श्रमको पनि सम्मान हुनैपर्छ । गरिबलाई जबर्जस्ती विस्थापित गरेर कुनै सहर बन्छ ? गरिबलाई ‘यो मेरो पनि सहर हो’ भन्ने महसुस गराउन सके मात्रै सहरी सभ्यता झल्किन्छ ।

डा. पीताम्बर शर्मा डा. पीताम्बर शर्मा
२०७९ साउन २ गते १९:२०

हामीसँग भएको तथ्यांक अनुसार नेपालमा सबैभन्दा तीव्र गतिले बढिरहेको सहरी गरिबी हो । काम र रोजगारीको खोजीमा गरिब मान्छेहरू मुख्यतया ग्रामीण क्षेत्रबाट सहरतिर आउँदैछन् । मुख्यतः काठमाडौं र तराईमा ग्रामीण क्षेत्रबाट सहरतर्फ आउँदैछन् । त्यसले गर्दा सहरी गरिबी व्यापक रूपमा बढेको छ ।

जुन हदसम्म हामीले सहरमा तल्लो तहको अनौपचारिक रोजगारीको सिर्जना गर्छौं, त्यसले सहरलाई कुनै न कुनै रूपमा सघाइरहेकै हुन्छ । व्यवसाय दर्ता नगरी सडकको छेउमा बसेर व्यापार गर्ने वा निश्चित ठाउँमा बसेर व्यापार गर्नेहरूसँग ठूलो लगानी गर्न पैसै हुँदैन ।

यस्ता अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरूलाई विश्वभर नै विभिन्न उपाय दिने गरिन्छ । जस्तो आइतबारका दिन बेलुकी ५ बजेदेखि ८ बजेसम्म तोकेर फलानो बिक्री–वितरण गर्न पाउने भनिएको हुन्छ । बेलायत, हङकङदेखि एशियाका विभिन्न सहरमा यस्तो अभ्यास छ ।

मनपरी फुटपाथमा बस्न दिनैपर्छ भन्न गाह्रो छ । सहरभित्र मान्छेहरूको आवतजावतको व्यवस्थापन पनि गर्नैपर्छ, त्यसलाई योजनाबद्ध रूपमा हेर्नुपर्‍यो । तर, सहरी गरिबहरूलाई काम गर्ने मौका दिने दायित्व पनि पालिकाकै हो ।

उनीहरूले पनि सहरका लागि निकै आवश्यक सेवा दिन्छन् । कतिपय मान्छे कार्यालयबाट फर्किरहँदा उनीहरूबाटै तरकारी किन्छन्, अरू आवश्यक सामग्री सस्तोमै किन्छन् । त्यसबाट पनि सहरले सेवा नै पाइरहेको हो, त्यो गनिनुपर्छ ।

सहरी गरिबलाई विस्थापन गरेर सहर धनी हुन सक्दैन । जति सहर विकसित हुँदै जान्छ, उति–उति मान्छे रोजगारी र आयका निम्ति आकर्षिक हुन्छन्, सहरको विशेषता पनि त्यही हो । उनीहरूले समस्या पनि सिर्जना गर्छन् । तर, त्यसका साथै उनीहरूले सहरमा आवश्यक सेवा पनि दिइरहेको र आपूर्ति चक्र व्यवस्थापन गरेको त नकार्न मिल्दैन ।

सहरमा फुटपाथमा बेच्नेहरू मात्रै छैनन्, किन्नेहरू पनि त्यतिकै हुन्छन् । पसलमा जत्तिकै झुम्मिएका हुन्छन् । त्यो पनि त सहरको आवश्यकता नै रहेछ नि ! त्यसैले उनीहरूलाई विस्थापन हैन, खास प्रकारको व्यवस्था पालिकाले गर्नुपर्छ ।

यी मान्छे चाहिने हैनन्, यिनलाई सडकमा बस्न दिनुहुन्न भन्नु समाधान हैन । किनभने सम्पन्नले नगर्ने खालका जोखिमयुक्त, श्रम तथा सीपमूलक र सफाइजन्य काममा उनीहरूको बढी भूमिका छ ।

उनीहरूलाई सहर अव्यवस्थित बनाउने हैन, सहरलाई सुरक्षित, सफा र समस्यारहित बनाउने मान्छेका रूपमा हेरिनुपर्छ । उनीहरूका कारण अव्यवस्थित भएको छ भने व्यवस्थापन गर्ने हो, विस्थापन हैन ।

सबैले बुझ्नुपर्छ, कोही पनि मान्छे आफ्नो इच्छाले थातथलो छाडेर बाहिर जान चाहँदैन । रोजगारी, आय अवस्था, सहज शिक्षा, पर्याप्त स्वास्थ्य सेवाको बाटो नपाएपछि बाध्य भएर ऊ सहर पस्छ, विदेश भासिन्छ । उसको बसाइँसराइ त बाध्यताको उपज हो ।

गाउँमै राम्रो कलेज र विश्वविद्यालय भए कोही मान्छे काठमाडौं आउला ? हो, यसले समस्या बनाउँछ, तर समस्या भयो भनेर उनीहरूलाई यहाँबाट धपाउने भन्नु त बच्चालाई नुहाउँदा पानी फोहोर भयो भनेर नानी नै फालिदिए जस्तो भइहाल्यो नि !

सहरमा आउने नयाँ मान्छेलाई त्यहाँको संस्कार, संस्कृति र सभ्यताबारे जानकारी हुँदैन । त्यसमा नयाँ मान्छेलाई जानकार र सुसूचित गराउने काम त सहरवासी र रैथानेहरूको हो । बाहिरबाट मान्छे आएर समस्या मात्रै ल्याए त ? काठमाडौंलाई वैभवशाली सहर भन्ने हो भने यसमा बाहिरबाट आउनेको देन छैन भन्न मिल्ला ?

काठमाडौंमा आय बढे, अस्पताल विश्वविद्यालय खुले विदेशमा पाउने सेवा यहीं पाउन सकियो, यो काममा त रैथानेजत्तिकै बाहिरबाट आउनेको पनि योगदान होला नि ! अहिले काठमाडौंमा बाहिरबाट आएर बसेकाहरूको पनि त काठमाडौंलाई सुविधायुक्त बनाउन योगदान छैन होला त ?

सहरी गरिब र सहरको व्यवस्थापन बीचको द्वन्द्वजस्तो देखिने पक्षबीच तादाम्यता मिलाउन उपायहरूको खोजी हुनुपर्‍यो । सहरी गरिबलाई रोजगारी दिने र आय अवस्थाको व्यवस्था गर्ने त्यस्ता कुन विकल्प छन् भन्नेबारे केही अध्ययन भएका छन् त्यसलाई पनि हेर्नुपर्‍यो । अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेरेर स्थानीय क्षेत्रमा सम्भावनाको खोजी गर्नुपर्‍यो ।

फुटपाथका व्यापारीहरूबीच पनि आफ्नै द्वन्द्व छन् । त्यहाँ पनि अलि बलियाले निर्धोलाई धकेल्छन् । त्यसैले व्यवस्थापन सजिलो कुरा हैन । तर, त्यो नगरी हुँदैन । त्यसैले मेयरसाहेबले लट्ठी लगाएर यहाँबाट गइहाल भनेर मात्रै हुँदैन, ती मान्छे कहाँ जाने ? विकल्प पनि दिनुपर्‍यो, नेतृत्वको चुनौती पनि त्यही हो ।

भोट माग्दा सपना देखाउन सजिलो छ, काम गर्न गाह्रो छ । कहिलेकाहीं गाह्रो अप्ठेरो हुन्छ । गल्ती हुन्छ, त्यसबाट सिक्दै र सच्चिंदै जाने हो । हामीसँग मात्रै यो समस्या हैन, अरू देशका सहरले के गरिरहेका छन् हेर्नुपर्छ ।

बिर्सन नहुने कुरा सहर धनीको मात्रै हैन, सडकमा व्यापार गर्ने गरिबको पनि हो । सहरमा गरिब र उसले गर्ने श्रमको सम्मान हुनैपर्छ । गरिबलाई जबर्जस्ती विस्थापित गरेर कुनै सहर बन्छ र ? गरिबलाई ‘यो मेरो पनि सहर हो’ भन्ने महसुस गराउन सके मात्रै सहरको सभ्यता झल्किन्छ ।

(सहरी योजनाविद् डा.शर्मासँग रवीन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?