+
+

ऋषिराम : जो खुट्टाले लेख्दैछन् आफ्नो कर्म

अनिल खत्री अनिल खत्री
२०७९ साउन ५ गते १७:२७

५ साउन, गुल्मी । उनको शरीर शिथिल छ । हातखुट्टा कमजोर छन् । हिंडडुल गर्न सक्दैनन् । पाइला-पाइलामा अरुको सहारा चाहिन्छ । उनी शारीरिक रुपमा अशक्त छन् । तर दृढता र लगावको हकमा भने होइन । उनको इच्छाशक्ति त बेजोड छ ।

नाम ऋषिराम कँडेल । उमेर १८ वर्ष । गुल्मीको छत्रकोट गाउँपालिका-४ घर । उनको जम्माजम्मी चिनारी यत्ति हो । यद्यपि उनी आफ्नै लगाव र कर्मको बलमा फरक चिनारी बनाउने यत्न गरिरहेका छन् ।

हात चल्दैन, औंलाहरु चल्ने कुरै भएन । तर गज्जबले लेखपढ गर्न सक्छन् । लेख्न मात्र हो र ? मोबाइल चलाउन, ल्यापटप चलाउन सक्छन् । मात्रै खुट्टाको दुई औंलाको भरमा ।

ऋषिरामलाई यसको तिथिमिति ठ्याक्कै थाहा छैन । उनलाई हेक्का भएसम्म उनको हात चल्दैनथ्यो । खुट्टाको आडमा शरीर उठाउन सक्दैनथ्यो ।

आफ्नै शरीर बोझिलो बनिरहेको यो स्थितिमा उनले कसरी खुरुखुरु लेख्न सिके ? कसरी सरासर कम्प्युटर चलाउन सिके ? यसको पछाडि उनको संघर्षको कठोर कथा छ ।

सामान्य अवस्था हुँदो हो त उनी घरकै पिंढीमा घिस्रिएर उराठलाग्दा दिनहरु गुजारिरहेका हुन्थे होलान् । अरुको आडभरोसा खोजिरहेका हुन्थे होलान् । सबैको सामुन्ने ‘दयाका पात्र’ बन्थे होलान् । तर लगातारको प्रयास, दृढ अठोट र सार्थक प्रयासले उनको जीवनलाई ‘उदाहरणीय’ बनाइरहेको छ ।

खुट्टाले कठिनपूर्वक लेख्दै ऋषिराम विद्यालय भर्ना भए । लेखपढ गरे । अहिले उनी कक्षा ९ मा पढ्दैछन् । विद्यालय जान करिब ३० मिनेटको बाटो हिंड्नुपर्छ । उनी हिंड्न सक्दैनन्, त्यसैले बुवाले बोकेर उनलाई विद्यालयको प्राङ्गणसम्म छाडिदिन्छन् । ठीक १० बजे उनी श्रृङ्गा जनता माविको परिसरमा हाजिर भइसकेका हुन्छन् ।

उनका सहपाठीहरु मनकारी र सहयोगी छन् । ऋषिरामलाई साथीहरुले नै बोकेर कक्षा कोठासम्म पुर्‍याउँछन् । कक्षाकोठामा बस्न र शौचालय जानका लागि विद्यालय नै राम्रो व्यवस्था गरिदिएको छ । ‘सबैको साथ छ, सहयोग छ,’ ऋषिराम भन्छन्, ‘त्यसैले मैले ग्लानिबोध गर्नुपरेको छैन ।’

उनले कसरी लेखपढ गर्न सिके त ? कहिलेदेखि उनका खुट्टाका औंलाले कलम च्याप्न सिक्यो त ? कहिलेदेखि उनले अक्षरहरु खिप्न थाले त ?

ऋषिरामलाई यसको तिथिमिति ठ्याक्कै थाहा छैन । उनलाई हेक्का भएसम्म उनको हात चल्दैनथ्यो । खुट्टाको आडमा शरीर उठाउन सक्दैनथ्यो ।

परिवारका एक्लो सन्तान हुन्, ऋषिराम । पहिलो सन्तान नै शारीरिक रुपले अशक्त भएपछि कँडेल दम्पती सामुन्ने दुःखको पहाड उभियो । छोराको उपचारका लागि उनीहरु दौडधुप गर्न थाले । पाँच वर्ष बित्यो, औषधि उपचारले केही पार लागेन ।

त्यसपछि उनीहरुले छोरालाई घरमै ल्याएर राखे । घरमै स्याहारसुसार गर्न थाले । सुरुमा छोराको अवस्थाबाट दुःखी उनीहरु अहिले भने छोराको मेहनतबाट प्रसन्न छन् । छोराले पढाइमा रहर गरेसँगै उनीहरुले कापी, कलम किनिदिए । स्वेच्छाले लेख्न-पढ्न दिए । विद्यालय भर्ना गरिदिए । र, नियमित विद्यालय लैजाने-ल्याउने गरे । छोराले पनि पढाइमा सन्तोषजनक प्रगति गरे ।

विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलका अनुसार ऋषिराम विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । उनी परीक्षामा प्रथम वा द्वितीय श्रेणीमा उत्तीर्ण हुने गरेका छन् । त्यति मात्र कहाँ हो र ? उनी चित्रकलामा पनि उत्तिकै पोख्त छन् । गीत गाउन खप्पिस छन् । प्रधानाध्यापक खरेल भन्छन्, ‘ऊ जेहेन्दार मात्र हैन, सृजनशील विद्यार्थी पनि हो ।’

चेतना र घरपरिवारको सहयोग बिना यस्तो अवस्थाका बालबालिकाको आत्मविश्वास राम्रो नहुने शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी बताउँछन् । विद्यालयमा फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि आवासको सुविधा छ ।

तर ऋषिरामलाई सहयोगी चाहिने भएकाले घरबाटै विद्यालय आउजाउ गर्छन् । यस विद्यालयमा श्रवणशक्ति गुमाएका विद्यार्थीले पनि अध्ययन गर्छन्, जसका लागि विषय शिक्षक र सामग्री उपलब्ध छन् । फरक क्षमता भएका विद्यार्थीले आफू अनुकूल हुने विषय अध्ययन गरेको खण्डमा भविष्यमा सजिलो हुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?