+
+

भलिबल संघको निर्वाचन भदौ २२ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १८:२२

५ साउन, काठमाडौं । नेपाल भलिबल संघले नवौं केन्द्रीय साधारणसभा तथा कार्यसमिति निर्वाचन भदौ २२ गते हुने भएको छ । भक्तपुरमा आज भएको संघ कार्यसमितिको आठौं पूर्ण बैठकले काठमाडौंमा साधारणसभा गर्ने गरी मिति सार्वजनिक गरेको हो ।

भलिबल संघको अहिलेको कार्यसमितिको पदावधि २०७७ जेठमै सकिएको हो । कोरोना महामारी र नयाँ खेलकुद ऐनको अन्यौलताका कारण दुई वर्षसम्म निर्वाचन हुन सकेको थिएन ।

कार्यसमितिका सबै सदस्यको एकमतमा साधारणसभा र निर्वाचनको मिति घोषणा गरिएको उपाध्यक्ष निरोज मास्केले अनलाइनखबरलाई जानकारी दिइन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भएको व्यवस्थाअनुसार राष्ट्रिय खेल संघले संघीय संरचना लागू गरी केन्द्रीय निर्वाचन गर्न गत असार १७ गतेसम्मको समयसीमा पाएका थिए । सो समयमा निर्वाचन हुन नसक्दा त्यसपछिका निर्वाचनलाई कानूनी मान्यता दिन नेपाल ऐन संशोधन गर्नुपर्ने हुन्छ । राखेपले ऐन संशोधनका लागि मन्त्रालयमा पत्राचार गरेको बताएको छ । भदौ २२ सम्म ऐन संशोधन नभए भलिबलको निर्वाचन प्रभावित हुनसक्छ ।

२०७७ असारमा नयाँ ऐन जारी हुनुअघि नै नेपाल भलिबल संघले २०७४ मा विधान संशोधन गरी संघीय संरचना लागू गरिसकेको थियो । राखेपको निर्देशन र स्वीकृतिमा संघले गत असार १७ गतेअगाडि नै ६ प्रदेश र ७७ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । सोही आधारमा छानिएका प्रतिनिधिले केन्द्रीय निर्वाचनमा मतदान गर्नेछन् ।

भलिबल संघको निर्वाचनमा अहिलेसम्म वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् ।

पूर्ण वैठकले विधान संशोधन कार्यदलले दिएका सुझाव कार्यान्वयन गरेको उपाध्यक्ष मास्केले जानकारी दिइन् । विधानमा व्यवस्था भएअनुसार क्लबहरुलाई मतदान अधिकार दिने मोडालिटीमा परिवर्तनको निर्णय भएको छ । यो प्रस्ताव अनुमोदनका लागि साधारणसभामा लगिनेछ । तर, आसन्न निर्वाचनमा भने नयाँ व्यवस्था कार्यान्वयन हुने छैन ।

भलिबल संघले निर्धारण गरेको समयमा वागमती प्रदेशको अधिवेशन र निर्वाचन हुन सकेको थिएन । त्यहाँ देखिएको विवाद समाधान र विकल्प पेश गर्नका लागि संघका उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा भीम ओली र श्रीधर शर्मा सदस्य रहने गरी छानबिन समिति गठन गरिएको मास्केले जानकारी दिइन् ।

भलिबल संघमा ३९ जनाको पूर्ण कार्यसमिति रहने व्यवस्था छ । त्यसमध्ये २५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेछन् । तर, यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् ।

भलिबल संघको केन्द्रीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट १–१ मताधिकार रहने व्यवस्था छ । सात प्रदेशबाट २–२ का दरले १४ मत हुनेछ । हालको केन्द्रीय कार्यसमितिबाट ३९, रेफ्री कमिसनबाट १ र राष्ट्रिय टिम (पुरुष र महिला)का कप्तान र तीन क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र)ले संघको निर्वाचनमा मताधिकार पाउनेछन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?