+
+

शर्तसहित आमाको नामबाट नागरिकता

‘बाबुले मेरो सन्तान भनेर नागरिकता दिलाए जसरी आमाले पनि अब आफना सन्तानलाई नागरिकता दिलाउन सक्नेछिन् । तर, आमाको हकमा ‘स्वघोषणा’ गर्नुपर्ने शर्त राखिएको छ ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ साउन ६ गते २०:१८

६ साउन, काठमाडौं । ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ संविधानको धारा ११ (५) मा उल्लेख छ । यसको अर्थ हो, संविधानले आमाको नामबाट पनि नागरिकता जारी हुने ढोका खुला गरेको छ ।

संविधान जारी भएको ७ वर्षसम्म आमाको सार्वभौमसत्ता कार्यान्वयनमा आउन सकेन । कारण– संविधान कार्यान्वयन गर्ने गरी संघीय कानुन नै बनेन । तर, शुक्रबार प्रतिनिधिसभाले आमाको नामबाट पनि नागरिकता बनाउन सकिने गरी विधेयक पारित गरेको छ । तर, बुवाको पहिचान हुन नसकेको नेपाली नागरिकले आमाको नामबाट निशर्त नागरिकता भने पाउने छैनन् ।

आफ्ना सन्तानलाई नागरिकता दिन र आफ्नो नामबाट नागरिकता दिलाउन नेपाली नागरिक आमाले राज्यले तय गरेका चारवटा शर्त पूरा गर्नुपर्नेछ । यस क्रममा राज्यले सोध्ने अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्नेछ । गृहमन्त्रालयले तयार पार्ने नियमावलीमा प्रश्नहरुको ढाँचा राखिनेछ ।

पारित विधेयकले अघि सारेको शर्त अनुसार आफ्ना सन्तानलाई नागरिकता दिन नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यहोराको ‘निज र निजको आमाले तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’ व्यवस्था छ ।

तर, निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगान नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्ने व्यवस्था शुक्रबार पारित भएको विधेयकमा छ ।

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु (स्वघोषणा) झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।

नेकपा एमालेकी सांसद विमला विक संवैधानिक व्यवस्था अनुसार आमाको नामबाट नागरिकता जारी हुने गरी कानुन बन्नु उल्लेखनीय भए पनि ‘स्वघोषणा’ गर्नुपर्ने शर्त राखिनु उचित नभएको बताउँछिन् ।

‘बाबु को हो ? कस्तो हो ? भन्ने कुरा उसको आमाले बताएपछि मात्रै थाहा हुने हो । एउटा सन्तानले नागरिकता लिनका लागि राज्यको अधिकारीसँग ‘मेरो बाबु चिन्दिन, यस्तो अपराधी मान्छे हो’ अथवा मेरो बाबु यस्तो खालको हो भनेर स्वघोषणा गर्ने कुराले त्यो सन्तानको आत्म सम्मान कहाँ पुग्छ ? त्यो सन्तानको स्वाभिमानको कुरा कहाँ पुग्छ ?’ सांसद विकको प्रश्न छ ।

बरु यसको सट्टामा कुनै एउटा फारम बनाउने त्यसलाई सामान्य रुपमा भर्ने वा स्थानीय सरकारको सिफारिस लिएर कैफियतमा राख्ने प्रावधान उचित हुन सक्ने विकले सुझाव दिइन् ।

उनले भनेजस्तै, आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउँदा एउटा शर्तको पालना गर्नुपर्ने हुन्छ । पारित विधेयकको दफा ४ मा आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा आमा र उसको सन्तान दुबैले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’, दफा ४ को उपदफा १ (१क) मा उल्लेख छ ।

आमाको नामबाट नागरिकता प्राप्तीको निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सो को प्रमाणसहित निवेदकले स्वघोषणा गर्नुपर्ने प्रावधान यही दफामा राखिएको छ । गृह मन्त्रालयका अनुसार स्वघोषणाको ढाँचा नियमावलीमा तोकिनेछ ।

यसले शर्त सहित भएपनि संविधान अनुसार आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु (स्वघोषणा) झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।

पारित विधेयक अनुसार बाबुको पहिचान हुन नसकेको भनी गरेको स्वघोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

‘…स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ’ पारित विधेयकको दफा ५ को (३ ग) मा उल्लेख छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?