+
+

पुबुदुले भने : नेपाली क्रिकेट टिममा गुटबन्दी थियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १८:३९

६ साउन, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले नेपाली खेलाडीमा गुटबन्दी रहेको बताएका छन् ।

क्रिकइन्फोका लागि पिटर डेला पेनासँग गरेको कुराकानीमा उनले मंसिरमा आफू प्रशिक्षक भएर नेपाल आउँदा टिममा गुटबन्दी रहेको बताए ।

‘म पहिला आउँदा खेलाडीबीचमा कुनै समस्या थिएन । त्यो बेलाका खेलाडीको एक टोली थियो । जितका लागि खेल्ने खेलाडी थिए, जित्नका लागि मरिमेट्थे । तर यस पटक अवस्था त्यस्तो थिएन’, उनले भने, ‘खेलाडी साना साना गुटमा बाँडिएका थिए । पहिलेको खेलाडीको सोचाइ र अहिलेको खेलाडीहरुको सोचाइ निकै फरक थियो । उनीहरुको ध्यान क्रिकेट खेल्नमा थिएन ।’

नेपाल क्रिकेट संघ क्यान र खेलाडीबिच राम्रोसँग कुराकानी पनि नहुने अवस्थामा आफू प्रशिक्षक भएको भन्दै उनले त्योे समस्या समाधान गर्न केही समय लागेको बताए ।
‘टी–२० विश्वकपमा छनोट नजिकै आइ सकेको थियो । टोलीमा एकता थिएन । त्यसपछि लगातार खेलहरु भए । हरेक खेलमा हामीले क्रिकेटसँगै टिममा एकता ल्याउन पनि निकै काम ग¥यौं । टोलीका खेलाडीहरुमा एकता ल्याउन र उनीहरुको दिमागमा देशको लागि खेल्दैछौं भन्ने भावना र जित्नुपर्छ भन्ने भावना ल्याउन । हामी छोटो समयमा पनि यस कार्यमा धेरै सफल भयौं । युवा खेलाडीको टोलीमा मलाई विश्वास छ’, उनले भने ।

युवा खेलाडीमा उनले निकै विश्वास व्यक्त गरे । कप्तान सन्दीप लामीछाने, १९ वर्षीय उपकप्तान रोहित पौडेल तथा तेस्रो क्रमका ब्याटर १७ वर्षीय देव खनालमाथि उनले विश्वास देखाएका छन् ।

यद्यपी उनले टिममा युवा खेलाडी रहेकाले तत्काल सोचे अनुसारको नतिजा ल्याउन नसकेको बताए । ‘हामीले खेल हार्नुको कारण भनेको युवा खेलाडी हुनु हो । टप अडर ब्याटरहरु १७ तथा १९ वर्षका छन् । उनीहरुले धेरै खेल खेलेका छैनन् । उनीहरुमा अनुभवको कमी छ । तर ती युवा खेलाडीले खेल्न थालेपछि नेपालले राम्रो गर्न सक्छ । मैले एसोसियट क्रिकेटका लगभग सबै खेलाडी देखेको छु, नेपालका खेलाडी पनि कोही भन्दा कम छैनन् । उनीहरुलाई अनुभवको खाँचो छ । म जहाँ भए पनि सधैं युवा खेलाडीहरुको साथमा रहनेछु ।’

नेपालको प्रशिक्षक छाडे लगत्तै क्यानडाको प्रशिक्षक नियुक्त भएका पुबुदुले २०२३ को अन्तिमसम्म क्यानडाको क्रिकेट टोलीसँग सहकार्य गर्नेछन् । श्रीलंकाली मुलुकका उनको परिवारका सबै सदस्य क्यानडामा बस्दै आएका छन् । ५२ वर्षीय पुबुदुले नेपाली क्रिकेट टोलीको जिम्मेवारी छोड्ने बेला नै क्यानडा बाहेक अन्त काम गर्न नजाने बताएका थिए ।

‘अहिले मेरा छोराछोरीलाई मेरो आवश्यकता छ । मेरी सासु आमा विरामी हुनुहुन्छ । मेरी श्रीमतीले यी सबैकुराहरुको साथमा आफ्नो काम पनि गरि रहेकी छिन्,’ उनले भने, ‘यस्तो बेलामा परिवारसँग नहुँदा मेरो परिवार र म दुवैलाई निकै नै समस्या भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?