+
+

वार्षिक करोडौंको चुरा लगाउँछन् नेपाली महिला, के छ यसको वैदिक महत्व ?

रामकृष्ण उपाध्याय, पण्डित रामकृष्ण उपाध्याय, पण्डित
२०७९ साउन ८ गते १२:०६
फाइल तस्वीर

नारीहरुको सदावहार सौन्दर्य प्रसाधनमध्ये एक हो, चुरा । बिहेकार्जे, चाडपर्व वा औपचारिक कार्यक्रममा मात्र हैन, सामान्य अवस्थामा पनि नाडीमा चुरा लगाउने गरिएको छ ।

चुरा लगाउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । यद्यपि साउनमा चुरालाई नारी आभूषणसँग मात्र नभई धार्मिक आस्थासँग पनि जोड्ने गरिन्छ । अतः यसबेला चुराको खपत अरु बढी हुन्छ ।

वर्षभरको तथ्यांकले देखाउँछ, नेपालमा बर्सेनि करोडौं चुरा खपत हुन्छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भारतबाट ४४ करोड ५८ लाख रुपैयाँ बराबरको चुरा र टीका आयात भएको छ । खासगरी दक्षिण एसियाली महिलाहरुमा चुरा लगाउने प्रचलन छ ।

साउनको चुरा र सोह्र शृंगार

साउन महिनामा चुरा पनि हरियो, रातो र पहेंलो रंग विशेष मानिन्छ । चुरा किन लगाइएको होला ? यसको नाता सौन्दर्यसँग मात्र छ वा स्वास्थ्यसँग पनि ?

साउन प्राकृतिक रूपमा पनि हराभरा हुने महिना हो । प्रकृतिसँग तालमेल मिलाउन पनि हरियो, रातो, पहेलो चुरा लगाउने प्रचलन सुरु भएको हुनसक्छ । किनभने प्रकृति यतिबेला रंगीन हुनेगर्छ । यद्यपि यसरी चुरा लगाउने कुनै शास्त्रीय परम्परा भने होइन ।

महिलाहरूको १६ शृंगारमा चुरा पनि पर्छ । त्यसैले यसलाई सौभाग्यको प्रतीक मानिन्छ । चुराहरु आपसमा घर्षण हुँदा आउने आवाज सांगीतिक हुन्छ । यसले घरमा एक प्रकारको राम्रो ऊर्जा पैदा गर्छ भन्ने गरिन्छ ।

चुराको अर्थ

चुरालाई एकातिर सौभाग्यको प्रतीक मानिन्छ भने अर्कोतिर क्षणभंगुर जीवनको संकेत पनि । चुरा कहिले टुट्छ, फुट्छ टुंगो हुँदैन । मानिसको जीवन पनि यसैगरी कुनै पनि बेला टुट्न सक्छ । त्यसैले सांसारिक मोहमा फँसेर जीवनको मिठास गुमाउनु हुँदैन भन्ने यसले संकेत गर्छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्य र शक्तिको अनि पहेंलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी चुरा लगाउने चलन छ ।

यसबाट केही स्वास्थ्यलाभ पनि मिल्ने बताइन्छ । नाडीमा लगाइने चुराले रक्तसञ्चारको स्तरलाई सुचारु राख्न सहयोग गर्छ ।

(उपाध्यायसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)                 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?