
८ साउन, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ ।
(जचुकालि)को संरचना अहिले पनि मधेस सरकारले उपभोग गर्दै आएको छ । अब यहाँ मधेश भवन बनाउन सिफारिस आएको भन्दै प्रदेश सरकारको प्रतिनिधिमण्डलले जग्गाहरु प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न माग गरेको छ । प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएका छन् ।
टोलीले निर्वाचन अगावै प्रहरी समायोजन गर्न माग गरेको छ । नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी सङ्गठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेको भन्दै ध्यानाकर्षणपत्रमा भनिएको छ ‘संवैधानिक तथा कानुनी व्यवस्थाको आधारमा आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकारको मातहतमा ल्याउन आवश्यक निर्णय गरिदिन हुन सादर अनुरोध छ ।’
टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा लगायत थिए ।
टोलीले प्रधानन्त्रीलाई भेट्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटारमै उपस्थित थिए ।
प्रतिक्रिया 4