+
+

संसदमा कोरम पुग्नै कठिन, हाजिर गरेर कहाँ जान्छन् सांसदहरू ?

‘मुलुकमा कुनै प्राकृतिक विपत्ति छैन् । निर्वाचन र राजनीतिक गतिविधिको उछालपछालमा पनि मुलुक छैन् । तर, यही बेला सांसदहरू उपस्थित नभइदिँदा संसदलाई एक चौथाई सांसदको समस्याले पिरोलेको छ ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ साउन ८ गते २०:३९

८ साउन, काठमाडौं । आइबार प्रतिनिधि सभामा तीन पटक गणपूरक संख्याको प्रश्न उठ्यो । पहिलो पटक प्रश्न उठेपछि गणना गर्दा एक चौथाइ सांसद (६९ जना सांसद) उपस्थित नभएको पाइयो र १५ मिनेटका लागि बैठक स्थगित भयो । दोस्रो पटक प्रश्न उठ्दा ७१ जना सांसद उपस्थित थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्या २७५ को एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९४ मा भनिएको छ, ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने ।’

२७५ सदस्यीय प्रतिनिधि सभामा एक चौथाइ अर्थात, ६९ सांसद उपस्थित भए गणपूरक संख्या पुग्छ । तेस्रो पटक प्रश्न उठ्दा जम्मा ५७ जना मात्रै सभाकक्षमा थिए । दोस्रो पटक प्रश्न उठ्दा सभाकक्षमा रहेका १४ जना सांसद केही मिनेटपछि तेस्रो पटक प्रश्न उठ्दा बैठक छाडेर हिँडिसकेका रहेछन् ।

गणपूरक संख्या नै नपुगेपछि बन्नै लागेको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन’ रोकिएको छ । मदन भण्डारीका कामकारबाहीलाई देखाएर राजनीति गर्दै आएका नेकपा एमाले (प्रतिनिधिसभामा एमाले एक्लैको ९८ जना सांसद रहेको पार्टी)का सांसद समेत मदन भण्डारीको नाममा बन्न लागेको कानुन निर्माण प्रक्रियामा समेत सक्रिय देखिएनन् ।

मदन भण्डारीलाई ‘आदर्श’ व्यक्तिका रुपमा चित्रित गर्दै यो विधेयक तत्कालीन केपी ओली नेतृत्वको सरकारले १२ साउन २०७६ मा ल्याएको थियो । जसलाई संघीय संसदका दुबै हाउस (प्रतिनिधि सभा र राष्ट्रिय सभा)ले पारित गरिसकेको छ । आइतबार प्रतिनिधि सभाले राष्ट्रिय सभामा भएको संशोधन स्वीकार गरेर सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने तयारी गरेको थियो । तर, अन्तिम चरणको प्रक्रियामा गणपूरक संख्या नपुग्दा अगाडि बढ्न सकेन ।

संघीय संसद सचिवालयका अनुसार आइतबारको प्रतिनिधि सभाको बैठक बजेट अधिवेशनको ४६ औं बैठक हो । ४६ वटा बैठकमा धेरै पटक गणपूरक संख्याको प्रश्न उठेको छ र पटक–पटक गणपूरक संख्या नपुगेर स्थगित भएका छन् । १२ असार २०७९ को प्रतिनिधिसभा बैठक पनि गणपूरक संख्या नपुगेकै कारण ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक–२०७६’ अघि बढ्न सकेको थिएन ।

सांसदहरूले संसद बैठक चलेको दिन हाजिरी पुस्तकमा हाजिर गरेकै आधारमा बैठक भत्ता एक हजार रुपैयाँ र ट्याक्सी भाडा शीर्षकमा अर्को एक हजार रुपैयाँ पाउँछन् । आइतबार १८८ जनाले हाजिर गरेको भए पनि बैठकमा तेस्रो पटक गणपूरक संख्या यकिन गर्दा ५७ जना मात्रै उपस्थित थिए ।

संघीय संसद सचिवालयका अनुसार संसदको चालु अधिवेशनमा गणपूरक संख्याबारे चार पटक प्रश्न उठेर यकिन भएको छ । चार मध्ये तीन पटक गणपूरक संख्या नपुगेर स्थगित भएको छ भने एक पटक गणपूरक संख्या पुगेर बैठक अगाडि बढेको छ ।

हाजिरी १८८ जनाको, बैठकमा ५७ जना मात्रै

प्रतिनिधि सभा सचिवालयका अनुसार आइतबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएको भनेर १८८ जना सांसदले हाजिर गरेका छन् । हाजिरी पुस्तिका प्रतिनिधि सभा कक्ष भन्दा ठीक बाहिर छ । भवनको मूल ढोकाबाट छिरे लगत्तै सांसदले हाजिर गर्न सक्छन ।

सांसदलाई संसद बैठक सुरु हुनु भन्दा आधा घण्टा अगाडि र संसद बैठक सकिएको आधा घण्टा पछिसम्म हाजिर गर्न दिइन्छ । यही सुविधा र व्यवस्था अनुसार आइतबार १८८ सांसदले हाजिर गरेका छन् । सांसदहरूले संसद बैठक चलेको दिन हाजिरी पुस्तकमा हाजिर गरेकै आधारमा बैठक भत्ता एक हजार रुपैयाँ र ट्याक्सी भाडा शीर्षकमा अर्को एक हजार रुपैयाँ पाउँछन् ।

१८८ जनाले हाजिर गरेको भए पनि बैठकमा तेस्रो पटक गणपूरक संख्या यकिन गर्दा ५७ जना मात्रै उपस्थित थिए ।

हाजिरी पुस्तिकामा माननीय देखिने सभामा नदेखिने के भएको होला ? भन्ने प्रश्नमा सत्तारुढ दल नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्मा भन्छन्, ‘सांसदहरू बैठकमा आउनु नै पर्ने हुन्छ ।’

तर, आफूलाई सांसदहरूले गरेको गुनासो भन्दै सचेतक विश्वकर्माले सुनाए, ‘कतिपयले व्यावहारिक कुरा गर्नुभएको छ, सभामुखले खाली बैठक १ बजे राखिदिनुहुन्छ र बेलुका ५/६ बजेसम्म चलाउनुहुन्छ । यसले अप्ठ्यारो भयो, अन्यत्र पनि भेटघाटका लागि समय दिएको हुन्छ ।’ बिहान ११ बजे बैठक राखेर ३/४ घण्टा चलाउँदा गणपूरक संख्याको समस्या नपर्ने उनको अनुमान छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई संसदमा हाजिर गर्ने र बैठकमा नबस्नेमाथि प्रश्न गर्नुपर्ने बेला आइसकेको बताउँछन् । अन्य मुलुकमा पनि संसदमा गणपूरक संख्याको समस्या हुने गरेको बिभिन्न उदाहरण रहेको उल्लेख गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘हामीले नकारात्मक कुरा सिक्ने होइन । सकारात्मक कुरा सिकेर अगाडि बढ्नुपर्छ । हाजिर गरेर बैठकमा नस्बनेहरूमाथि प्रश्न उठाउनुपर्ने नै भएको छ ।’

‘हाजिर गरेर सांसदहरू कहाँ जाँदा हुन ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘सांसदको बाध्यता विकास निर्माणदेखि अन्य कुरामा पनि हिँडिरहनुपर्छ होला । तर, महत्वपूर्ण विजनेश हुँदा बैठक छोडेर हिड्नु राम्रो हुँदै होइन ।’

संसदमै उपस्थित नहुने हकमा भने त्यो सुविधा कानुनले नै दिएको उनी बताउँछन् । उनी भन्छन्, ‘बिदा लिएर पनि हिड्न पाइन्छ । पार्टीका गतिविधिहरू भइरहन्छन् त्यसमा पनि सरिक हुन जिल्लातिर जानुपर्ने हुन सक्छ । यसलाई भने ख्याल गरिनिुपर्छ ।’

नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक सरला यादव संसदमा देखा परेको गणपूरक संख्याको समस्या समाधान गरिनुपर्ने बताउँछिन् । ‘बाहिरबाट हेर्दा मुलुकमा कुनै प्राकृतिक विपत्ती नरहेको, मुलुक निर्वाचनमा गइनसकेको र राजनीतिक गतिविधिको पनि उछालपछाल समेत रहेको स्थितिमा सांसदहरूउपस्थित भएनन भन्ने हुन्छ’ उनी भन्छिन्, ‘तर, उपस्थित नै नभएर हो कि हाजिर गरेर बाहिरिएका हुन ? त्यो ख्याल गरिनुपर्छ ।’

सांसदहरू संसद बैठकमै अनुपस्थित हुनुको कारण के होला ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सांसदहरू व्यस्त हुनुहुन्छ होला, बैठकमा सुरुमा आउनुभयो, बस्नुभयो, जानुभयो । पार्टीका बिभन्न काम होलान, संसदमा कोरमको समस्या भयो ।’

सभामुखको सचिवालय समेत गणपूरकका कारण संसदलाई गतिशील बनाउन नसकेको गुनासो गर्न थालेको छ ।

सभामुख सापकोटको प्रेस विज्ञ श्रीधर न्यौपाने बहुमत सांसद संसदमा अनुपस्थित रहँदा तलब भत्ता खान मात्रै सांसदहरू बैठकमा पुग्छन् भनेर नागरिकले आलोचना गर्ने मौका पाएको बताउँछन् । यसैमा उनी थप्छन्, ‘गणपूरक संख्या नपुग्ने समस्याले सभा सञ्चालनमा जसरी जानु पर्ने हो त्यसरी जान र सभालाई गतिशील बनाउन सभामुख र उपसभामुख दुवैलाई अप्ठ्यारो पारेकै छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?