+
+

अहिलेका गृहिणी फेसनप्रति सचेत छन्: उषा खड्गी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १९:२७

काठमाडौं । बितेको एक दशकयता फेसन व्यवसायमा छिन्, उषा खड्गी । चिनाइरहनु पर्दैन उनी पूर्व मिस नेपाल हुन् । उनै उषाले ललितपुरको कुपण्डोलमा ‘उषा स्टाइलिस कलेक्सन’ सञ्चालन गर्दै आएकी छन् ।

मिस नेपाल हुँदै फेसन व्यवसायमा आएकी उनले वर्तमान फेसन बजारलाई कसरी हेरिरहेकी छन् ? खासगरी महिला तथा गृहिणीमा फेसनप्रतिको सचेतना कस्तो छ ? उनीहरु कति फेसनेबल छन् ? के कस्ता पहिरन रुचाउँछन् ? यसै सन्दर्भमा उनको भनाइ :

मिस नेपालपछि फेसन डिजाइनिङ

११ वर्ष अघि मैले उषा स्टाइलिस्ट कलेक्सन सुरु गरेको थिए । २०६० सालमा नै फेसन डिजाइनिङ नै पढिसकेको थिएँ । मलाई रुचि त पहिलेदेखि नै थियो । तर बच्चा सानो भएकाले व्यवसाय सुरु गर्न पाएको थिइनँ, पछि बच्चा हुर्किएपछि सुरु गरें ।

मिस नेपाल भएपछि नै मलाई फेसनमा लगाव थियो । सानैदेखि फेसनमा लगाव भएकोले नै फेसन डिजाइनिङ पढें । यसैसम्बन्धी केही व्यवसाय गर्ने भन्ने सोच थियो ।

अहिलेका पुस्ता फेसन कन्सस

अहिलेको पुस्ता एकदमै धेरै फेसन कन्सस छन् । अहिले फेसनको लागि धेरै विकल्प पनि छन् । एकदमै राम्रा राम्रा लुगाहरू बाहिरबाट पनि आयात हुन्छ । अनलाइनबाटै मगाउन मिल्ने सुविधा पनि छ  । जसले गर्दा पनि अहिलेको पुस्ता फेसन कन्सस भएका छन् ।

वान पिस र फर्मल सर्ट–पाइन्ट चल्तीमा

बुटिकमा बन्ने पहिरन त बढी पार्टीवेयर हुने गर्छ । तर अहिले बुटिकहरुले पनि अफिसवेयर, नर्मल सबै किसिमको लुगा राख्न थालेका छन् र मैले पनि राखेको छु  । लेहेंगा, गाउन, साडी त सदाबहार भइहाले अहिले वान पिस र अफिसियल सर्ट–पाइन्ट पनि बढी चलेका छन् ।

गृहिणीहरुको रोजाइ पाइन्ट र टीसर्ट

गृहिणीहरु फेसनप्रति एकदमै धेरै रुचि राख्छन् । मलाई यो डिजाइन मनप¥यो यस्तो पहिरन बनाइदिनुस् भन्दै आउँछन् ।

अहिलेका गृहिणीले कुर्ता साडी त कमै लगाउँछन् । धेरै जनाले प्रायः नयाँ डिजाइनको पाइन्ट टीसर्ट नै रुचाउनुहुन्छ । लङ सर्ट, आउटर र वान पिस पनि रुचाउनु हुन्छ । साडी कुर्ता लगाउने त चाडपर्वमा मात्र हो ।

अहिले प्रायः गृहिणीहरु कामकाजी नै छन् । त्यसैले अफिस जाँदा अलि फेसनेबल भएर जाऊँ भन्ने भइहाल्छ । कामकाजी महिलाहरूको लागि सर्ट, पाइन्ट, वानपिस, लङ सर्ट र टीसर्ट बढी उपयोगी हुन्छ ।

टिनएजर्सको रोजाइ

टिनएजर्सले विभिन्न डिजाइनमा बनाइएको लङ गाउन, वानपिस र लङ सर्टहरू र बढी रुचाएका छन् ।

चाडपर्वमा परम्परागत पहिरन

चाडपर्वमा बढी चल्ने भनेको साडी र अनारकली कुर्ता हो ।  चाडपर्वमा त महिला प्रायः परम्परागत पहिरन नै लगाउन मन पराउँछन् ।

दशैं, तिहारमा पनि परम्परागत पहिरन नै बढी चल्ने गर्छ । साडी, कुर्ता, लेहेंगा र गाउनको बढी माग हुन्छ । मुस्लिमहरूले लगाउने कफ्तानमा पनि अहिले मैले नयाँ डिजाइन बनाएको छु । कफ्तानको कुर्तालाई सुरुवालसँग डिजाइन गरेर सल नलगाई पनि लगाउन मिल्ने बनाएको छु । त्यो पनि धेरैले रुचाएका छन् ।

बुटिकको पहिरन किन महंगो ?

सामान्य पसल भन्दा बुटिकको पहिरन अलि महंगो नै हुन्छ । किनभने यो कस्टमाइज हुन्छ । एउटा डिजाइनको लुगा एक दुई पिस मात्र बनाइन्छ, बुटिकको कपडा पनि अलि महंगो हुन्छ, त्यसैले महंगो पर्न गएको हो । तर सर्वसाधारणले लगाउनै नसक्ने महंगो भने हुँदैन । कपडा र डिजाइन हेरेर मूल्य निर्धारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?