+
+

जचुकालिमा मधेश सरकारलाई उद्योगमन्त्रीको काउन्टर

श्रवण देव श्रवण देव
२०७९ साउन ११ गते २१:०५
जनकपुर चुरोट कारखानाको निरीक्षण गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु ।

११ साउन, जनकपुरधाम । मधेश भवन बनाउन जनकपुर चुरोट कारखानाको जमिन हस्तान्तरणको माग गर्दै मधेश प्रदेशको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्किएको तीन दिनपछि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू जनकपुर आएका छन् ।

जनकपुर चुरोट कारखानाको स्थलगत निरीक्षण गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भनेका छन्, ‘यो उद्योग सञ्चालन गर्नकै निम्ति निरीक्षणमा आएका छौं ।’

संघीय मन्त्री बडूले चुरोट कारखाना पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताउँदा छेउमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामशरोज यादव दिए ।

यादव तिनै हुन्, जसको नेतृत्वमा बसेको समितिले नै जचुकालिमा प्रशासकीय भवन बनाउन सुझाव दिएको छ । प्रदेशको नाम मधेश राखिएपछि प्रशासकीय भवनका निम्ति जग्गा खोज्न भौतिक पूर्वाधारमन्त्री यादवको संयोजकत्वमा समिति बनेको थियो ।

समितिले मधेश भवन (जचुकालि) लाई नै प्रशासकीय भवन बनाउन सुझाव दियो । त्यसअनुसार मुख्यमन्त्री लालबाबु राउत, मन्त्री यादवसहित सरकारमा सहभागी सबै दलका मन्त्री सम्मिलित प्रतिनिधिमण्डलले ८ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै जचुकालि भवन प्रदेश सरकारको नाममा हस्तान्तरण गर्न अनुरोध गरेका छन् ।

पुरानै झगडा

याक, देउराली र गैंडा नामक तीन किसिमको चुरोट उत्पादन गर्दै आएको जचुकालिको बिक्रम सम्वत् २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहले उद्घाटन गरेका थिए ।

सोभियत संघको सहयोगमा स्थापना भएको यो कारखानाबाट सुरुमा २ अर्ब खिल्ली चुरोट उत्पादन हुन्थ्यो । त्यतिबेला ३६६ जना कर्मचारी थिए । चुरोटको बजार विस्तारसँगै ४ हजारभन्दा बढी कर्मचारी पुगेको थियो । तर यो कारखाना २०७० सालदेखि बन्द छ ।

पछिल्लो समय भने कारखानाका भवनहरु प्रदेश सरकारका मन्त्रालय र मन्त्रीहरुको निवास बनेका छन् ।

तर केन्द्र सरकारले भने पटक–पटक चुरोट कारखाना पुनः सञ्चालन गर्ने बताउँदै आएका छन् । १४ माघ २०७५ मा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले जनकपुर चुरोट कारखानाको निरीक्षण गर्दै भवन खाली गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

अहिले मन्त्री बूडले पनि उद्योग पुनः सञ्चालनक लागि बजेट विनियोजन भइसकेको र उपकरणहरु कस्तो अवस्थामा छ भन्ने हेर्ने काम प्राविधिकहरुले गरिरहेको बताएका छन् । बुधबार उद्योगको निरीक्षणपछि मन्त्री बडूले भने, ‘सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको छ, त्यो नीतिलाई पूरा गर्नु दायित्व सरकारकै हो । उद्योग पुनः सञ्चालनका लागि सरोकारवालासँग छलफल गरेर अघि बढ्छ ।’

प्रदेश सरकारका अधिकारीहरु भने अब जनकपुर चुरोट कारखाना सञ्चालनमा नआउने बताउँछन् ।

प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह मधेश भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्दै उद्योग मन्त्री बडूलाई पनि आफूहरुले ज्ञापन बुझाएको जानकारी दिए । ‘त्यस क्रममा मन्त्रीज्यूले नीति तथा कार्यक्रममा बन्द उद्योग सञ्चालन गर्ने उल्लेख गरिएको बताउनुभयो,’ मन्त्री साहले भने, ‘उहाँले कुन उद्योग सञ्चालन हुनसक्छ वा सक्दैन भन्ने अनुगमन गर्ने बताउनुभएको थियो । त्यही अनुसार आउनुभएको हो ।’

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह सूर्तिजन्य उद्योग सञ्चालन गर्न नहुने बताएका छन् । कृषि सम्बन्धी उद्योगहरु सञ्चालन गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘यहाँ सुर्ती उत्पादन नै छैन । मेटेरियल भारतबाट ल्याएर उत्पादन गरेर के फाइदा ? मेसिनरी पार्टमा पनि खिया लागिसकेको छ । त्यसैले अर्काे उद्योग लगाउनुपर्छ ।’

संघीय सरकारका मन्त्री बडूले पनि चुरोट कारखाना सञ्चालन गर्ने सन्दर्भमा प्रदेश सरकारसँग पनि बसेर छलफल गर्ने बताए । ‘सरकारले सञ्चालन गर्ने निर्णय गरिसकेको छैन’ उनले भने, ‘प्रदेश सरकार पनि जिम्मेवार निकाय हो । सञ्चालन गर्ने दायित्व उहाँहरुको हो । उहाँहरुलाई जग्गा पनि कहिँ न कहिँ चाहिन्छ । यो उपयोग गर्न उहाँहरुलाई दिए भने उद्योग कसरी सञ्चालन गर्ने त्यो उहाँहरुको जिम्मेवारी पनि हो ।’

चुरोट कारखाना सम्भव छैन : मन्त्री यादव

प्रदेश सरकारको प्रशासनिक भवन बनाउनका लागि जग्गा खोज्ने अध्ययन समितिका संयोजक एवं भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव प्रदेश सरकारलाई जचुकालिको जग्गा हस्तान्तरण गर्नुको विकल्प नरहेको बताउँछन् ।

सरकारले संयुक्त राष्ट्र संघमा स्वास्थ्यलाई असर पार्ने सामग्री उत्पादन नगर्ने प्रतिवद्धता जनाएकाले अहिले चुरोट कारखाना चल्न नसक्ने उनले बताए । ‘यो कारखाना सञ्चालनमा आए क्यान्सर, टिभीजस्ता रोग फैलिन्छ’ उनी भन्छन्, ‘अर्को कुरा मेसिन पुरानो भइसकेको छ चल्न सक्दैन । प्रेस र जेनरेटर मात्रै चल्ने योग्य रहेकाले यो कारखाना चल्न सक्दैन ।’

यो कारखाना बनेको समयमा आसपासका क्षेत्रमा खेतैखेत रहेको भन्दै उनी अहिले घरैघर भएको अवस्थामा सुर्तीजन्य कारखाना सञ्चालनमा आए समुदाय नै बिरामी पर्ने बताउँछन् । यही कुरा निरीक्षणमा आएका संघीय मन्त्रीलाई भनेको बताउँदै मन्त्री यादवले भने, ‘मन्त्रीज्यूले म बाट मात्रै केही नहुने भन्दै माथि कुरा राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?