+
+

‘जनताको सुरक्षा र बाघ संरक्षणले समान महत्व पाउनुपर्छ’

सरकारको बाघ बढाउने नीति छ । संसारबाटै लोप हुन लागेको बाघ बढ्नु हाम्रा लागि पनि राम्रै कुरा हो । तर, बाघ बढेपछि वरिपरिका जनतालाई समस्यामा पार्छ भन्नेमा सरकारलाई चासो छैन । ऊ जनताको सुरक्षा भन्दा बाघ संरक्षणलाई बढी महत्व दिइरहेको छ ।

मायाराम खनाल, घाइते मायाराम खनाल, घाइते
२०७९ साउन १३ गते १८:३४

२५ वैशाख २०७७ सालमा बर्दिया जिल्लाको गेरुवा गाउँपालिका ४ गोलागाउँ नजिकै रहेको गेरुवा नदीको किनारामा भैंसी चराउन जाँदा म बाघको आक्रमणमा परें ।
गर्मी मौसम थियो । भैंसी धपाएर पानी भएको ठाउँमा लैजान लागेको बेला नजिकैको झाडीमा रहेको बाघले आक्रमण गर्‍यो । मसँग लट्ठी थियो । आक्रमण गर्नासाथ लट्ठीले बाघलाई रोक्ने कोसिस गरें । त्यसो गर्दा लट्ठी बाघको मुखमा पसेछ । लट्ठी मुखमा पसेका कारण बाघले टोक्न पाएन ।

त्यही लट्ठीले बाघको एउटा खुट्टालाई पनि रोकेछ । तर अर्काे खुट्टाले दायाँ हातको कुममा हानेर मासुको डल्लो नै निकालिदियो । बाघले हानेपछि म लडें । त्यसपछि बाघ मेरो शरीरमा चढेर आक्रमण गर्न लागेका बेला नजिकै रहेका दुइटा भैंसीले दुईतिरबाट हान्न थालेपछि बाघ भाग्यो । आक्रमणमा परे पनि म त्यतिबेला होशमै थिएँ ।

मसँगै भैंसी चराउन गएका दुई जना साथी र परिवारका सदस्यले नेपालगञ्ज मेडिकल शिक्षण कलेज पुर्‍याए । २१ दिनसम्म अस्पतालको आईसीयूमा बसेर उपचार गराएँ । करिब एक महिना जति अस्पताल बसेर उपचार गराएपछि चोटहरू निको भए ।

त्यसपछि पनि करिब ४ महिना घरमै आराम गरें । बाघको आक्रमणबाट दायाँ हातको कुम र ढाडका हड्डीहरू भाँचिएका रहेछन् । उपचारका क्रममा झण्डै साढे ८ लाख रुपैयाँ खर्च भयो । तर, निकुञ्जले २ लाख रुपैयाँ मात्रै दियो । त्यतिबेला म गेरुवा गाउँपालिका वडा नं ४ को वडा सदस्य पनि थिएँ । गाउँपालिकाले वडा सदस्य भएकाले एक लाख रुपैयाँ दियो ।

औषधि उपचारमा मेरो आफ्नै साढे ५ लाख जति खर्च भयो । उपचार खर्च आफैं ऋणधन गरेर जुटाएँ । अहिले पनि मलाई बसेपछि उठ्न र उठेपछि बस्न गाह्रो हुन्छ ।

भैंसी चराउने क्रममा बाघको आक्रमणमा परेको भए पनि म अहिले भैंसी चराउन त्यही क्षेत्रमा जान्छु । जानुपर्ने बाध्यता हुन्छ । फेरि पनि बाघले आक्रमण पो गर्छ कि भन्ने डर हुन्छ तर भैंसी नपालेर मेरो घर चल्दैन ।

गाउँ नजिकै गेरुवा नदी छ । गाईबस्तुलाई पानी खुवाउन, गर्मी सिजनमा भैंसीलाई पौडी खेलाउन नदीमा लैजानै पर्छ । गाईबस्तु र भैंसीलाई पानी खुवाउन नदीमा लैजाने क्रममा बाघले झम्टिने गर्छ । गाउँमा थारू समुदायको बसोबास छ । थारू समुदायका मानिस माछा मार्न नदीमा गएका बेला बाघले झम्टिएको छ । सागपात टिप्न खोलाको किनारामा जाँदा पनि झम्टिने गरेको छ ।

यस्तोसम्म हुन्छ कि– खेत जोतेर गोरुलाई खेतमै छाडेर घर गएर खाना खाएर फर्किंदा बाघले गोरु नै खाइदिएका घटना पनि छन् । जंगली जनावरले बालीनाली धेरै नोक्सान गर्ने क्रम बढ्दै गएपछि केही किसानले नदी किनाराका खेतबारीहरू बाँझै राखेका छन् ।

खेती गरेका किसान पनि उत्पादन भएको सबै बाली भित्र्याउन पाउँछौं भन्नेमा ढुक्क छैनन् । कुन दिन, कति बेला जनावरको हूल आएर बालीनाली नोक्सान गरिदिने हो टुंगो छैन । हात्तीले पनि बालीनाली नोक्सान गर्छ । हात्तीभन्दा धेरै नोक्सानी चित्तल र बँदेलको हूलले गर्छ ।

हाम्रो गाउँपालिकाले करिब ३ करोड रुपैयाँ खर्च गरेर निकुञ्जतर्फको नदीको किनारामा तारजाली लगाइदिएपछि वन्यजन्तुबाट हुने आक्रमण र खेती बालीमा हुने नोक्सानीमा केही कमी आएको छ ।

चित्तल र बँदेललाई त तारजालीले रोक्दो रहेछ, हात्ती भने तारजाली भत्काएरै गाउँ बस्तीमा पस्ने गरेको छ । २०७९ वैशाखमा बनाएको तारजाली दुई ठाउँमा भत्काएर हात्ती गाउँमा पसेर केही नोक्सान गरेको छ । पछि गाउँले मिलेर हात्ती धपायौं ।

बाघ लगायत वन्यजन्तुबाट मान्छे र खेतीपातीमा नोक्सान नहोस् भनेर गाउँका युवाले पालैपालो गेरुवा नदीको किनारामा रहेको लोचे मचानमा रातभर ‘डिउटी’ गर्छन् । जनावर आयो भने मचानमा रहेका युवाले होहल्ला गरेर धपाउँछन् । त्यति गर्दा पनि जनावर भागेन भने गाउँमा जनावर आएको खबर गरेर गाउँलेलाई सुरक्षित हुन आग्रह गर्छन् ।

सरकारको बाघ बढाउने नीति छ । संसारबाटै लोप हुन लागेको बाघ बढ्नु हाम्रा लागि पनि राम्रै कुरा हो । अनि बाघ बढेपछि बाघको आक्रमण पनि बढ्छ । तर, बाघ बढेपछि त्यसले निकुञ्ज आसपासका जनतालाई के कस्तो समस्यामा पार्छ भन्नेतर्फ सरकार र निकुञ्जलाई खासै चासो छैन । किनकि सरकारले निकुञ्ज आसपासका जनताको सुरक्षा भन्दा बाघ संरक्षणलाई बढी महत्व दिएको छ ।

आक्रमणमा ज्यान गुमाएका व्यक्तिलाई १० लाख र घाइतेलाई २ लाख रुपैयाँसम्म उपचार खर्च दिएर मात्रै सरकारको दायित्व पूरा हुँदैन । सरकारले बाघले जनतालाई आक्रमण नै नगर्ने गरी सुरक्षित गराउन ध्यान दिनुपर्छ । निकुञ्जका जनावरबाट पीडितहरूको समस्या सिंहदरबार र प्रदेश सरकारले सुन्दै सुन्दैनन् ।

हाम्रो गेरुवामा भने गाउँपालिकाले समस्या सुनेर करिब ३ करोड रुपैयाँ खर्च गरेर तारबार गरिदिएको छ । यसपालि पनि तारबारका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ भन्ने सुनेको छ । जेहोस् गाउँपालिकाले तारबार गरेपछि स्थानीय बासिन्दाले ठूलै राहत महसुस गरेका छन् ।

(बाघ आक्रमणबाट मुश्किलले बाँचेका घाइते बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ का खनालसँग कृष्ण अधिकारीले गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?