
१५ साउन, काठमाडौं । संसदीय समितिले चिनी मिलमा देखिएका विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘आजको बैठकले चिनी मिलको समस्याको सम्बन्धमा सम्बन्धित मजदुर, किसान र चिनी मिलका प्रतिनिधि समेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक छलफल गरी यो समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’ समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने ।
बैठकमा समितिका सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाव दिएका थिए ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) की सांसद सरिताकुमारी गिरीले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले ऊखुको मूल्य निर्धारण गर्दा सरकारले ऊखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन् ।
समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बुले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया 4