+
+

अर्थमन्त्रीका आगामी संकट, जसलाई नियाल्न सीसीटीभी चाहिन्न

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ साउन १६ गते २०:४४

१६ साउन, काठमाडौं । आइतबार जनार्दन शर्मा नैतिक प्रश्नहरुलाई कुल्चिंदै पुनः अर्थ मन्त्रालयभित्र प्रवेश गरे । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएकोबारे संसदीय समितिबाट भएको कमजोर छानबिनको निष्कर्षमा आधारित भएर फेरि अर्थ मन्त्रालय छिरेका शर्माले अर्थ मन्त्रालयमै न्यानो स्वागत पाएनन् ।

पहिलो दिनमै अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहनुले नै शर्माबारे अर्थ मन्त्रालयभित्र कस्तो मनोविज्ञान छ भन्ने प्रष्ट हुन्छ । राजस्व सचिव कृष्णहरि पुष्करले शर्मालाई स्वागत त गरे, तर अर्थ मन्त्रालय भित्रिंदा अर्थमन्त्री शर्माको ‘बडी ल्यांग्वेज’ले उनी कति कमजोर नैतिक धरातल टेकेर मन्त्रालयमा उभिएका हुन् भने प्रष्ट गरिहाल्यो ।

‘अर्थमन्त्री’मा अहिले समस्यामा रहेको अर्थतन्त्रका लागि ‘उद्धारकर्ता’को भूमिका खेल्नुपर्ने अतिरिक्त जिम्मेवारी छ । तर, कयौं प्रश्नहरुको विश्वसनीय जवाफ नदिई अर्थतन्त्रको नेतृत्व सम्हाल्न पुनः आइपुगेका शर्मालाई पहिलो दिनले नै आगामी दिनले आइपर्न सक्ने सकसको झल्को दिइसकेको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख तथा प्रा. डा. शिवराज अधिकारी अहिले आर्थिक परिस्थिति शर्माको नियन्त्रणमा नरहेको देख्छन् । ‘जितेर आएँ भन्ने मनस्थितिले मात्रै हुदैन, परिस्थितिहरु सबै उहाँले चाहेका जस्तो अनुकल छैनन्,’ उनी भन्छन्,‘प्रश्नहरुको निवारण नभई परिवर्तनका लागि अघि बढ्न गाह्रो छ ।’

विज्ञहरुका अनुसार शर्मालाई सबैभन्दा ठूलो सास्ती त अर्थ मन्त्रालयभित्र ‘टिम’ बनाउन र कर्मचारीलाई विश्वासमा लिनलाई हुनेछ । यसअघिकै कार्यकालमा शर्माको कार्यशैलीले अर्थ मन्त्रालयका कर्मचारीहरु वाक्कदिक्क छन् ।

‘सीसीटिभी क्यामेरा’को स्टोर क्षमताबारे अर्थमन्त्रीले संसदमा पुगेर कमर्चारीलाई आरोपित गरेपछि त झन अर्थ मन्त्रालयभित्र शर्माको ‘कोर टिम’मा बसेर काम गर्न चाहनेहरुको संख्या सीमित भएको छ ।

अर्थमन्त्रालयको प्राविधिक क्षमता र नैतिक बल दुबै खस्किएको अवस्थामा शर्मालाई साथ दिन तयार हुने धेरै कर्मचारी मन्त्रालयभित्र छैनन् । विशेषज्ञ कर्मचारी हुनुपर्ने मन्त्रालय भएकाले रातारात नयाँ कर्मचारी ल्याएमा विशेषज्ञता अभावले जोखिम निम्तिने खतरा छ । तर, असन्तुष्ट र मनोबल कमजोर भएका कर्मचारीबाट अर्थमन्त्रीले कति काम लिन सक्छन् भन्ने प्रश्न पनि छ ।

अर्थसचिव मरासिनीको पछिल्ला गतिविधिले मन्त्री शर्मामाथि कर्मचारीको असन्तुष्टि कुन तहसम्म पुगेको छ भन्ने प्रष्ट्याउँछ । राजस्व सचिव कृष्णहरि पुष्कर पनि राजस्व मामिलामा परिपक्व नदेखिएकाले उनलाई मन्त्रालयका निरन्तरता दिनु आफैंमा जोखिमको विषय भइसकेको छ ।

अर्थमन्त्री आफैं पनि यसअघिको टिमबाट सन्तुष्ट छैनन् । अर्थतन्त्रमा आइपर्न सक्ने समस्याबारे समयमै ब्रिफिङ नगरेको, योजना नबनाएकोदेखि मन्त्रालय विवादमा पर्दा प्रतिवाद गर्न नसकेकोमा अर्थमन्त्री शर्मा टिमका धेरै कर्मचारीसँग असन्तुष्ट छन् ।

दोहोरिएर आएका शर्मालाई अब अर्थसचिव मरासिनीसँग सम्बन्ध सुधारेर पुरानै टिमलाई लिएर अघि बढ्ने वा नयाँ सचिव ल्याएर फेरि अर्को टिम बनाएर अघि बढ्ने दुई विकल्प छन् ।

नयाँ सचिव ल्याउन पनि शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले रोजेको विल्कपलाई स्वीर्कानुपर्ने हुन्छ । सत्तारुढ कांग्रेस अर्थमन्त्री शर्मालाई सचिवमार्फत ‘क्रसचेक’ नगरी स्वतन्त्र छाड्न चाहँदैन । तर, अहिले अर्थमन्त्रालयका कांग्रेस निकट ‘क्याडर’ सचिवहरु सकेसम्म शर्माको टिममा बस्न इच्छुक देखिएका छैनन् ।

यस्तो अवस्थामा विषय विज्ञता कमजोर भएका सचिव ल्याउँदा समयमै उचित निर्माण गर्न नसकेर अर्थ मन्त्रालयकाे समग्र कार्यसम्पादन नै थलिने जोखिम पनि हुन्छ । झन् प्रदेश र संघीय संसदको चुनावको मुखमा ठूलो बजेट रकमान्तर गर्नुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले नयाँ सचिव ल्याउँदा सोझै कांग्रेसको स्वार्थ पनि यसमा हुने पक्का छ ।

यसले गर्दा अहिले अर्थ मन्त्रालयभित्र नयाँ टिम बनाउन वा पुरानो टिमलाई विश्वासमा लिन शर्मालाई फलामको चिउरा बन्नसक्ने देखिन्छ । त्यही बुझेरै शर्माले शुक्रबार मन्त्रालय प्रवेश गर्दा थोरै बोले र भने,‘सबै तहको कर्मचारीबाट सहयोग रहने अपेक्षा छ, कर्मचारीसँग सौहार्द्धपूर्ण वातावरणमा विगतकै जस्तो सम्बन्ध राख्न चाहेको छु ।’

अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल ‘अर्थमन्त्रीमा शर्मा रहिन्जेल मन्त्रालय फर्किन्नँ’ भनेर हिँडेका सचिव र उनको टिमले अब शर्माकै नेतृत्वमा अर्थतन्त्रलाई सही दिशा देला भन्ने विश्वास गर्दैननन् ।

‘मन्त्री र सचिवसहित अर्थमन्त्रालयको सेट नै परिवर्तन गर्नुपर्थ्यो, अहिले भएका कामले थप अन्योल र अनिश्चितता बढाएको छ,’ उनले भने,‘अर्थमन्त्रालयलाई झन् अस्थिर बनाइएको छ, काम गर्ने वातावरण नै नभएको अवस्थामा अर्थमन्त्रालयले नतिजा दिने गरी काम गर्न सक्दैन ।’

अर्थमन्त्री शर्मा र शर्माको नीतिका प्रभावहरुलाई अब धेरैले आँखा गाडेर हेर्नेछन्, अर्थतन्त्रका सूचकहरु हेर्न त सीसीटीभी फुटेज चाहिंदैन

विश्वासको संकट, संकटोन्मुख अर्थतन्त्र

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख तथा प्रा. डा. शिवराज अधिकारी मन्त्रालयभित्रभन्दा बाहिर विश्वासको वातावरण बनाउनु अर्थमन्त्रीका लागि सकसपूर्ण हुने बताउँछन् ।

‘बाहिर अनेकन प्रश्नहरु छन्, आशंकाहरु छन्,’ उनी भन्छन्, ‘त्यसलाई निवारण गर्न नसक्ने हो भने अर्थतन्त्रमाथि जनविश्वास झन् घट्ने जोखिम छ ।’

अहिले अर्थमन्त्री शर्माले जनविश्वास गुमाएका छन् । सरकारबाहिर उनी विरुद्धको मत बलियो छ । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसभित्र नै शर्मामाथि असन्तुष्ट छन् । विपक्षी दल एमालेले शर्माविरुद्धको आवाज थप चर्को बनाउने अवस्था छ ।

शर्मामाथिको संशय थोरै पनि मत्थर भएको छैन । उनी ‘आफ्नोभन्दा अर्थतन्त्रको हित हेर्छन्’ विश्वासिलो आधार भेटिएको पनि छैन ।

त्यस्तो अवस्थामा अर्थतन्त्र भने चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । अर्थतन्त्रको वाह्य क्षेत्र चरम दबावमा छ । बढ्दो शोधनान्तर घाटा, चालु खाता घाटा र बढिरहेको आयातसहितको व्यापार घाटा, घट्दो विदेशी मुद्रा विनिमय सञ्चिति लगायतका पक्षले अर्थतन्त्र जोखिमोन्मुख छ । वार्षिक व्यापार घाटा र विदेशी मुद्राको स्रोतबीच वर्षमै ५ खर्ब रुपैयाँको खाडल देखिएको छ । यस्तो आर्थिक चुनौतीका कारणले अर्थ मन्त्रालय ‘हटसिट’ बनेको छ ।

अर्थतन्त्रभित्र रहेका कमजोर पूँजीगत खर्च, बढ्दो चालु खर्च, बेरोजगारी, भन्सारमा आधारित राजस्वमा बढ्दो निर्भरता, कमजोर वैदेशिक लगानी, बढदो सार्वजनिक ऋण जस्ता समस्याले पनि अर्थ मन्त्रालयलाई घेरेकै छ ।

आर्थिक तथा वित्तीय अनुशासनका कयौं सवालमा अनुत्तरित रहेका शर्माले यस्ता चुनौतीको सामना गर्ने कार्यदिशा दिन सक्नुपर्ने हुन्छ । किनभने अर्थतन्त्रको वाह्य क्षेत्रको समस्या समाधान गर्न कतिपय निर्मम निर्णय समेत लिनुपर्ने अवस्था आइसकेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि अर्थमन्त्री शर्माको सुमधुर सम्बन्ध छैन । सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा रहेको राष्ट्र बैंकका गभर्नर आफैं पनि ‘एम अधिकारी’ प्रकरणमा मुछिएर नैतिक घेराभित्र छन् । नैतिक पक्षमा कमजोर रहेका अर्थमन्त्री र गभर्नरले टकराब अन्त्य गरेर अर्थतन्त्रका तमाम चुनौतीलाई कसरी पार लगाउलान् भन्ने आम चासो छ ।

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार पदमा रहेर काम गरेका अर्थविद् लिगल नैतिक प्रश्नले घेरिएका अर्थमन्त्री र गभर्नर मिलेर अहिलेका चुनौती पार लगाउलान् भन्नेमा विश्वस्त छैनन् । चौतर्फी अविश्वास तोड्न अर्थमन्त्री शर्मा मनोवैज्ञानिक रुपमा तयार भएर मात्रै हुने छैन । ‘अहिले यहाँ जे पनि हुनसक्छ भन्ने मनोविज्ञान बनेको छ’,  उनी भन्छन्,‘अन्योलको अवस्थाले देशको हित हुँदैन ।’

प्रा. डा. अधिकारी पनि कर्मचारी प्रशासनदेखि औद्योगिक तथा व्यापारिक जगत तथा जनस्तरसम्म विश्वास आर्जन गर्नु शर्माको सबैभन्दा ठूलो चुनौती हुने बताउँछन् ।

‘बजारमा महंगी मात्रै बढेको छैन, उत्पादनका प्याकेट खुम्चिएर समेत आउन थालिसके’, उनी भन्छन्,‘बैंकमा पैसा राख्ने कि नराख्ने, उद्योग र पूँजीबजारमा लगानी गर्ने कि नगर्ने भन्ने त्रासको अवस्था आउन लागिसक्यो, यस्तो अवस्थामा सबैलाई विश्वासमा लिनु सहज छैन, तर त्यसको विकल्प पनि छैन ।’

तथ्यमा देखिनसक्छ बदनियत

एक पूर्व अर्थसचिवका अनुसार अर्थमन्त्री शर्माका लागि बजेटले बदलेका कर र नीतिहरुको नतिजा सबैभन्दा पेचिलो हुनेछ । स्टिल, सिमेन्ट, विद्युतीय गाडी, स्यानिटरी प्याड लगायतका वस्तुमा दिएको कर छुटदेखि स्वास्थ्य बीमा निजी क्षेत्रलाई जिम्मा लगाउनेसम्मका योजना अहिले पनि शंकाको घेरामा छन् ।

‘यदि अहिले प्रश्न उठेका करसम्बद्ध नीतिले ‘नतिजा’ दिन सकेनन् भने अर्थमन्त्रीले नीतिगत रुपमा भ्रष्टाचार गरेका थिएनन् भन्ने विश्वास गर्ने आधार थप कमजोर हुनेछ’, ती पूर्वसचिव भन्छन्,‘तर, एक ट्रक सिमेन्ट र छड भारत गए भनेर नतिजा आयो भनियो भने जनताले मान्ने छैनन् ।’

अर्थविद् लिगल स्यानेटरी प्याड आयातमा प्रधानमन्त्रीकै परिवार संलग्न हुनु लगायतका विषय बाहिर देखिने गरी स्वार्थप्ररित रहेको खुलिसकेको बताउँछन् । भविष्यमा यस्ता बदनियतका साथ बनाइएका नीतिहरुको स्वार्थ थप खुल्दै जाने उनको भनाइ छ ।

अर्थ मन्त्रालयका पूर्वसचिवका अनुसार जसरी बजेटमार्फत कर छुट, निर्यात अनुदान र थप अन्तशुल्कबारेका निर्णय भएका छन्, त्यसले अहिले तर्क गरेजसैगरी आयात घटेको र निर्यात बढेको हिसाव अंकमै खोजिनेछ ।  उपलब्ध सीसीटिभी फुटेजबाट अनैतिक काम गरेको पुष्टि नभएपछि मन्त्रालय छिरेका शर्माले संसारले पत्याउने र भरोसा गर्ने गरी आर्थिक सूचकहरु बदल्नुपर्ने चुनौती बोकेका छन् ।

‘यदि तथ्य–तथ्यांकले अर्थमन्त्रीले भनेजसरी स्वदेशी उद्योगले दिने योगदान बढेर अर्थतन्त्रले लाभ नपाए शर्मा माथिको आरोपहरुको पुष्टि सार्वजनिक रुपमै तथ्य–तथ्यांकबाट पुष्टि हुनेछन्’, ती पूर्वसचिवले भने, ‘शर्मा र शर्माको नीतिका प्रभावहरुलाई धेरैले आँखा गाडेर हेर्नेछन्, अर्थमन्त्रीको काम र सम्भावित संकट अर्थतन्त्रका सूचकहरूमा देखिनेछ, त्यो हेर्न त सीसीटीभी फुटेज चाहिंदैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक विषयमा कलम चलाउने घिमिरे अनलाइनखबरको आर्थिक ब्युरोको संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?