+
+
गण्डकीमा ५ लाखसम्म जरिवाना गर्ने सरसफाइ ऐन :

दुर्गन्धित पोखरा, आधा सहर नै कारबाहीको भागिदार

अमृत सुवेदी अमृत सुवेदी
२०७९ साउन १७ गते ११:००

१७ साउन, पोखरा । पोखरा भन्नेवित्तिकै सुन्दर, सफा र स्वच्छ पर्यटकीय क्षेत्रको चित्र आँखामा आउँछ । हो, पोखरा प्राकृतिकरुपमा सुन्दर छ तर यहाँको फोहोर र दुर्गन्धको अर्को पाटोले पोखरेलीलाई नै गिज्याइरहेको छ ।

पोखराका सबैजसो खोला, नदी र फेवातालमा ढल मिसाइएको छ । यसबाट प्राकृतिक तथा सांस्कृतिक सम्पदा दुर्गन्धितमात्रै बनेका छैनन्, सिंगो पोखरालाई नै बदनाम बनाउने काम भइरहेको छ ।

पोखरालाई अझै सुन्दर बनाउन विगतमा सफाइ अभियान चले पनि प्रभावकारी भएन । अहिले त फोहोरबारे कसैले नबोल्ने, आवाज नउठाउने बरु दुर्गन्ध सहरै बस्ने मृत सहरजस्तो भएको टिप्पणी हुन थालेको छ ।

अध्ययनमा के पाइयो ?

पोखराको फोहोरबारे ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत असारमा बुझाएको प्रतिवेदनअनुसार सेती नहरमा स्थानीय तथा व्यापारीले मलमुत्र मिसाउनेदेखि फ्रेस हाउस तथा खसी बजारबाट निस्कने फोहोर, अस्पतालबाट निस्कने मेडिकलजन्य फोहोर र भ्रूणसमेत नहरमा मिसाउने गरिएको छ । त्यसैले त पोखराकै पुरानो सेती नहरबाट सिंचाइ हुने क्षेत्र कुँडहर, मझेरीपाटनका खेतमा गर्भपतन गरेर फालिएका भ्रूणहरु बेला-बेला फेला परिरहन्छन् । त्यतिमात्रै होइन, भैंसीका टाउका, हाड र सिनोले पनि दुर्गन्ध फैलाइरहेको छ ।

केही समयअघि वातावरण संरक्षण अभियन्ता लोकदर्शन कोइराला, रामबहादुर थापा लगायतले पनि सो क्षेत्रको अध्ययन गर्दा दीपदेखि पृथ्वीचोकभन्दा तलसम्मै मलमुत्र तथा ढल सिधै सेती नदीमा खसालेर दुर्गन्धित बनाइएको तथ्य फेला परेको थियो ।

अध्ययन अनुसार सेती नहरबाट पानी जाने टनेलकै संरचना बिगि्रने गरी ढल मिसाइएको छ । सेती सिंचाइ नहरको पानी फेवातालमा खसाल्ने गरी बागलुङ बसपार्क, फिर्के हुँदै गएको छ नहर । अहिले अस्तित्व नै मेटिने गरी पूरै अतिक्रमणको चपेटामा परेको सो नहर ढलमै परिणत भएको जिल्ला सिंचाइ डिभिजन प्रमुख किरण आचार्यको भनाइ छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट निस्किएको फोहोर पानी अहिले पनि सेती नदीमा सिधै खसालिएको छ । दीप, के.आई.सिंह पुल, बगर, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकसम्मका घरहरु तथा व्यापारिक प्रतिष्ठानले सेफि्टक ट्यांकी सिधै सेतीमा खसालेका छन् ।

यसअघिका मेयर मानबहादुर जिसीकै पालामा फिर्के खोला संरक्षणका निम्ति भन्दै अभियान चलाइएको थियो । अभियानकै बेला स्थानीय, राजनीतिक दल, संस्था, सरकारी कार्यालयले नै सिधै मलमुत्र र ढल फिर्केमा मिसाउने गरेको भेटियो । तर मेयरको डोजरकाण्डसँगै यो अभियान नै तुहियो । फिर्के खोला सिधै फेवातालमा मिसिन्छ । फिर्के खोलामा फालिएको फोहोर पनि फेवातालसम्मै पुग्छ ।

बागलुङ बसपार्क, त्योभन्दा तलको फिर्के पुल आसपास, सिद्धार्थ चोक नजिकैको क्षेत्र, पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिको वरपरबाट व्यक्ति, संस्था र राजनीतिकर्मीसम्मका घरबाट डुङडुङ्ती गन्हाउने फोहोर मिसाइएको छ ।

सशस्त्र प्रहरी तालिम केन्द्रको भवन, शौचालय, सेफ्टिक ट्यांकी खोलाको मापदण्डभित्रै बनेकोमात्र होइन, त्यहाँको फोहोर नै फिर्केमा मिसाइएको छ । कास्की जिल्ला कारागार, त्यस वरपरका सरकारी निवासबाट पनि मलमुत्र र फोहोर ढल फिर्केमै मिसाउने गरिएको छ ।

पोखरेलीलाई लज्जा, महानगरपालिका मौन

पोखरामा थुप्रै संरक्षण अभियान चले तर न नदीमा मलमुत्र मिसाउन रोकियो, न कसैलाई कारबाहीको दायरामा ल्याइयो । फिर्के खोलामा फोहोर मिसाउने करिब ५० जनाभन्दा बढीको नाम महानगरमा यसअघिकै कार्यकालमा पुगे पनि कसैमाथि कारबाही भएन ।

पोखराको फोहोरको यो अवस्थाले पोखरेली हुँ भन्दा पनि लाज लाग्ने अवस्था आएको अभियन्ता लोकदर्शन कोइराला बताउँछन् । वडा सचिवसमेत रहेका संरक्षण अभियन्ता कोइराला भन्छन्, ‘सेफि्टक ट्यांकीका मलमुत्र, बंगुर फार्मका फोहोरमैला, अस्पताल र मेडिकलका सामग्री सेतीमा मिसाइएका छन् । फेवाताल पुग्ने बजार क्षेत्रका सबैजसो खोलामा ढल मिसिएका छन्, कारबाही गर्ने हो भने पोखरा बजार क्षेत्रका आधालाई कारबाही गर्नुपर्छ ।’

बाराही चोक हुँदै ढुंगाघाट नजिकै लेकसाइड क्षेत्रबाट पनि फोहोर पानी फेवातालमै मिसिने गरेको छ ।

फुस्रे खोला, काली खोला, बुलौंदी खोला, सेती सिंचाइ नहर लगायतमा ढल तथा मलमुत्र मिसाउने काम हुँदा पनि नियमन तथा कारबाही गर्नुपर्ने पोखरा महानगरपालिका मौन रहेको नागरिक समाजका अगुवा रामबहादुर पौडेलको गुनासो छ । ‘पोखराका सम्पदा कसरी अतिक्रमण र मलमुत्रले दुर्गन्धित बनाइएको छ भन्ने प्रतिवेदन नै तयार पारेका छौं,’ पौडेलले भने, ‘पोखरा बचाउन फेरि एक पटक जुर्मुराउनु पर्ने बेला आएको छ । प्रतिवेदन सम्बन्धित सबै निकायलाई बुझाउँछौं र संरक्षण तथा दोषिलाई कारबाही गर्न दबाब दिन्छौं ।’

बोल्दैन वौद्धिक जगत

२०७३ कात्तिकमा प्लास्टिकमुक्त बनेको सहर हो, पोखरा । तर, घोषणामात्रै भएर कार्यान्वयन नहुँदा पोखरा महानगरलाई मात्रै गिज्याइरहेको छैन, सिंगो पोखरेलीको छबि नै दुर्गन्धित बनाएको छ । पोखराबाट क्विन्टलका क्विन्टल प्लास्टिकजन्य फोहोर फेवाताल पुग्ने गरेको नागरिक अभियन्ताहरु बताउँछन् । प्लास्टिक, प्लास्टिकका बोत्तल र ढल बजार क्षेत्रका खोलाहरु हुँदै फेवातालसम्म पुग्दा फेवाताल कुरुप बनेको छ ।

‘पोखरा मृत सहरजस्तै छ, न देख्छ, न बोल्छ । सिंगो नदी, खोला र फेवाताल नै दुर्गन्धित हुँदा पनि पोखराको वौद्धिक जगतलाई दुख्दैन, पोल्दैन,’ उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला भन्छन् ।

पोखरा सन् २०१३ तिर देशकै सफा सहरको रुपमा कहलिएको थियो । तर, पोखरा महानगर र स्थानीय सचेत भएर वा फोहोर व्यवस्थापन व्यवस्थित भएर होइन, प्रकृतिकै कारण सफा सहर बनेको अध्यता शेखर पराजुली बताउँछन् ।

‘स्थानीय सरकार, सरोकारवाला र पोखरेली सचेत भएर होइन, उत्तरदेखि दक्षिणतर्फ ओरालो रहेको भू-धरातलले नै धेरै त पोखरालाई सफा देखाइदिएको हो,’ पराजुली भन्छन्, ‘खोलानाला, ताल, पोखरी फोहोर होस्, ढल मिसियोस् वा फेवातालै दूषित बनोस्, पोखरेलीले सार्वजनिक विषय बनाउँदैनन्, आवाज उठाउँदैनन् ।’ सार्वजनिक तथा जनताको जनचासोको विषयमा बहसै नगर्ने मृत सहरजस्तो पोखरा बनेको उनको दुखेसो छ ।

कडा जरिवानासहितको सरसफाइ ऐन

यस्तो अवस्थामा गण्डकी प्रदेशले कडा जरिवानासहितको खानेपानी तथा सरसफाइ ऐन ल्याएको छ । जुन ऐन कार्यान्वयन भयो भने पोखराको आधार मुख्य बजार तथा सहर नै कारबाहीको भागिदार हुने देखिएको छ ।

गण्डकी प्रदेश सभाबाट सोमबार पारित भएको खानेपानी तथा सरसफाइ ऐनले कुनै उद्योग, होटल तथा अस्पतालले उत्सर्जन गरेको फोहोर पानी ढल निकास प्रणालीमा मिसाउनु पर्ने भएमा प्रशोधन गरी प्रचलित कानून बमोजिम तोकिएको मापदण्डको सीमा भित्र रही मिसाउनु पर्ने व्यवस्था गरेको छ । तर, पोखरामा अधिकांश कम्पनी, व्यापारिक प्रतिष्ठानहरुले प्रशोधन गरेर पानी ढलमा मिसाएका छैनन् ।

ऐनको दफा ३३ मा कसुर र जरिवानाको व्यवस्था गरिएको छ । खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकार पानी प्रयोग गर्ने कार्य गरेमा, अनुमतिपत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले अनुमतिप्राप्त संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले कुनै कार्य गरेमा ५० हजार रुपैयाँको जरिवानाको व्यवस्था छ । तर, पोखरामा अधिकांशले मोटर लगाएर पानी तान्नेदेखि सरकारी नियम मिच्नेसम्मको काम गर्ने गरेका छन् ।

जलाधार क्षेत्रभित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहाबमा असर पर्ने कुनै कार्य गरेमा, खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको कुनै संरचना वा जडित पाइप वा सामान वा जडित मिटर वा प्रशोधन प्रणाली वा अन्य उपकरण विगार्ने वा नष्ट गर्ने वा चोरी गरेमा र निर्धारित मापदण्ड विपरीत कसैले मानव मलमूत्रसहित वा रहितको फोहोरपानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मानव मलमूत्रलाई सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा ५ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।

तर, पोखराका सबैजसो खोला, नदी र फेवातालसमेतमा फोहोरपानी फाल्ने, ढल मिसाउने, सेˆटिक ट्यांकीबाट सिधै मलमुत्र खन्याउने काम भइरहेको छ । मुख्य बजार र नदी, खोला तथा ताल क्षेत्रका धेरै मानिस यसबाट कारबाहीको भागिदार छन् ।

अनुमतिपत्र प्राप्त संस्थाले फोहोर पानी विसर्जन गर्दा निर्धारित मापदण्ड तथा स्तर पूरा नगरी नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पनि ५ लाखकै जरिवाना तोकिएको छ । पोखरामा फोहोर उठाउने उम्मा पाएका कम्पनीले सेती नदी, याम्दी खोला लगायतमा फोहोर विसर्जन गरेको भेटिएको थियो ।

यसअघि पनि विना प्रशोधन फोहोरपानी मिसाउन नपाउने, मलमुत्र फाल्न नपाउने नियम भए पनि कारबाही हुन नसकेको तर अब भने प्रदेश सरकारले कडा रुपमा कार्यान्वयन गर्नुपर्ने चुनौति देखा परेको अभियन्ता रामबहादुर पौडेलको भनाइ छ ।

कारबाही थाल्छौं : मन्त्री आचार्य

सहरलाई स्वच्छ, सफा राख्न, सम्पदालाई संरक्षण र प्रदूषित हुनबाट जोगाउन तथा नागरिकको मौलिक हक खानेपानीको सम्बन्धी व्यवस्था गर्न कडा खालको कानुन बनाइएको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताए । संसदबाट ऐन आइसकेपछि अब मन्त्रालयले कार्यविधि र नियमावली बनाएर कार्यान्वयन गर्ने तयारी थालेको मन्त्री आचार्यको भनाइ छ ।

ऐनविपरीत काम गर्ने व्यक्ति, संस्था र सरकारी निकाय कसैलाई पनि कारबाही गर्न आफू नचुक्ने मन्त्री आचार्यले दाबी गरे । ‘सरकारी निकायबाटै ऐन कार्यान्वयनको तयारी थालिने छ ।

ऐनविपरीत सरकारी कार्यालयले काम गरेको छ भने कारबाहीको सुरुआत त्यहीँबाट हुन्छ’ मन्त्री आचार्यले भने, ‘पोखराको सेती र कुनै पनि खोला तथा ताल जोगाउने, स्वच्छ, सफा राख्ने दायित्व हाम्रो हो । नागरिकले पनि कर्तव्य सम्झिनुपर्‍यो ।’

यो कार्यान्वयन भएसँगै पोखराका सबै सम्पदा सफा र स्वच्छ हुने अभियान सुरु हुने उनको विश्वास छ । ‘मापदण्डहरु तयार गर्छौं । अनुगमन, निर्देशन, निरीक्षण गर्ने समितिहरु बन्छन् । स्थानीय तहको सहकार्यमा प्रदेशैभरी नदी, खोला, ताल, तलैया सफा राख्ने अभियान सुरु हुन्छ,’ मन्त्री आचार्यले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?