+
+

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ताइवानको रक्षा गर्न अमेरिकाले बल प्रयोग गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन् । चीन र अमेरिकाको रणनीतिक स्वार्थमा चेपिएर ताइवान युक्रेनको नयाँ संस्करण बन्न सक्ने जोखिम बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २२:४७

१७ साउन, काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणमा निस्किएकी छिन् । सोमबार सिंगापुर पुगेकी पेलोसी मलेसियाको राजधानी क्वालालम्पुरमा भेटवार्ता सकेर ताइवानको ताइपेइ ओर्लिएकी छन् ।

पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगिन् ।

२५ वर्षभन्दा बढी समयपछि ताइवानको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् । उनको यो भ्रमणले ताइवानमा जति उत्साह दिएको छ, अमेरिका–चीन तनाव भने त्यति नै चुलिने संकेत देखिएको छ ।

किनकी ताइवानलाई चीनले आफ्नो प्रभुत्व रहेको भूभाग मानेको छ । अर्थात् बेइजिङका लागि कुनै व्यक्ति ताइवान जानु भनेको चीनकै कुनै भूभाग गए बराबरै हो ।

त्यसमाथि, पेलोसी चीनको कट्टर आलोचक मानिन्छिन् । त्यसैले उनी ताइवान पुग्नुलाई चीनले यो क्षेत्रमा एउटा नयाँ द्वन्द्वको सुरुवात भएको ठान्ने सम्भावना छ । यहाँनेर भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडनबीच हालसालै भएको तिक्त टेलिफोन वार्ता स्मरणीय छ ।

अनलाइनखबरले आजको जिज्ञासा र जवाफ यसैको यसैको वरिपरि रहेर उठ्ने केही प्रश्नहरूमा केन्द्रित गरेको छ ।

१. ताइवानलाई लिएर अमेरिका–चीन तनाव किन बढ्दैछ ?

सन् १९४० को दशकमा चीनमा गृहयुद्ध मच्चिरहेको थियो । सन् १९४९ मा माओको नेतृत्वमा चीनमा कम्युनिष्ट क्रान्ति सम्पन्न भएपछि च्याङ काई सेकका सैनिकहरू भागेर ताइवान पुगे र त्यहाँ उनीहरूको लामो शासन चल्यो । ताइवानमा लोकतान्त्रिक व्यवस्थाको सुरुवात गर्ने श्रेय राष्ट्रपति ली तेङ हुईलाई जान्छ । लोकतान्त्रिक अभ्यास अघि बढ्दै जाँदा त्यहाँ स्वतन्त्रताको आवाज उठ्न थाल्यो ।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । पेलोसीको जबर्जस्त ताइवान भ्रमण र चीनको बदलाको धम्कीले ताइवानमा नयाँ संकट निम्तिने जोखिम बढेको छ ।

कतिपय सर्वेक्षणले त्यहाँका बहुमत जनसंख्या अहिलेकै अवस्थाको ताइवान चाहन्छन् भने सानो समूह मात्रै स्वतन्त्र ताइवान चाहेको देखाएको छ । अमेरिकाले यही सानो समूहलाई मलजल गरिरहेको चिनियाँ पक्षको आरोप छ ।

अमेरिकाको ठूलो व्यापारिक साझेदार रहेको ताइवानले त्यहाँबाट ठूलो मात्रामा हतियार खरिद गर्ने गरेको छ । कहिलेकाहीँ त ताइवानमा ३० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहेको खबरहरू आउँछन् । दक्षिणपूर्वी चीनको तटीय क्षेत्रबाट करिब १०० माइल टाढा अवस्थित टापु देश ताइवान आफ्नो रणनीतिक अवस्थितिका कारण पनि चीनको प्राथमिकतामा पर्ने गरेको छ ।

२. अमेरिकी सभामुख किन यो बेला ताइवान भ्रमणमा गइन् ?

अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । पर्दामा यी दुई देश लडेको देखिए पनि युद्धको नेतृत्व अमेरिकाले गरिरहेको छ । यो द्वन्द्वमा युक्रेनले अत्यधिक क्षति व्यहोरिरहेको छ भने रुस पनि विस्तारै रक्षात्मक बन्दै गइरहेको छ ।

ताइवानको मुद्दामा चीनलाई उत्तेजित बनाएर अमेरिका युक्रेन युद्धको नयाँ संस्करण ताइवानमा रच्न चाहन्छ र युक्रेन युद्धमा रूसलाई जस्तै ताइवान युद्धमा चीनलाई फसाउन चाहन्छ भन्ने अन्तर्राष्ट्रिय सम्बन्धका केही ज्ञाताहरूको बुझाइ छ । युक्रेनमा अहिले रुस मात्रै ‘इंगेज’ छैन, धेरैजसो पश्चिमा शक्तिहरू पनि अल्झिएका छन् । भलै अमेरिका पनि आंशिक रूपमा जकडिएकै छ, तर यसबाट अमेरिकाले उल्लेख्य मात्रामा प्रत्यक्ष क्षति व्यहोर्नुपरेको छैन ।

यदि अमेरिकी कदमबाट चीन उत्तेजित भएर ताइवानमाथि हमला गरेमा पश्चिमा राष्ट्रहरू सँगै पश्चिमा ध्रुवमा संगठित केही एशियाली शक्ति राष्ट्रहरू पनि यो युद्धमा अल्झिने छन् । तर, मुख्यतः युक्रेनमा रुसजस्तै ताइवानमा चीन जकडिनेछ । यसबाट आफ्नो प्रमुख प्रतिद्वन्द्वी चीनलाई रोक्न अमेरिकालाई सजिलो हुने विज्ञहरूको विश्लेषण छ ।

अमेरिकाको बुझाई युक्रेनमा आफू जति अल्झिएको छ, नजानिँदो गरी रुस पनि त्यत्तिकै अल्झिएको छ । युक्रेनको पक्षमा सिंगो पश्चिमा जगत लागेको अवस्थामा चीन पनि रुसको पक्षमा लागेको छ । अझ अगाडि बढेर ताइवानसँगको प्रत्यक्ष युद्धमा फसाउन सके संसारको पहिलो शक्ति बन्ने दौडमा रहेको चीनलाई रोक्न सकिन्छ भन्ने अमेरिकी बुझाई रहेको पाइन्छ ।

सभामुख न्यान्सी ‘चीनलाई तह लगाउनुपर्छ’ भन्ने धारणा राख्ने कट्टर नेताका रूपमा परिचित छिन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयं सभामुख पेलोसीको भएको बताएका छन् ।

उनले चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संलग्न हुन नचाहेको पनि प्रष्टिकरण दिएका छन् । तर अमेरिकी बोली र व्यवहारबीच तालमेल भने देखिंदैन । सभामुख न्यान्सीको एकल चाहनामा ताइवान भ्रमण निर्दिष्ट हुने तर्क आफैंमा विश्वासयोग्य छैन ।

३. ताइवानको नाम अरु कसैले लिनेबित्तिकै चीनलाई किन टाउको दुख्छ ?

ताइवानमा स्वायत्त शासन रहे पनि चीनले आफ्नो देशबाट चोइटिएर गएको आफ्नो प्रान्तको रूपमा व्यवहार गर्छ । ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहँदै आएको छ ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए । अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राख्दै आएको छ ।

यही विवादको पृष्ठभूमिमा चीनले पछिल्लो समय ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाव बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकाले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेका छन् । ताइवानको यस्तो प्रतिक्रियासँगै चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

चीनले ताइवानलाई बलपूर्वक नियन्त्रणमा लिनसक्ने सार्वजनिक अभिव्यक्ति दिइसकेको छ । ‘आवश्यक परेमा’ यस्तो गम्भीर निर्णय लिने तयारीका लागि चीनले ताइवानको आकाशमा लडाकु विमान उडाउने क्रमलाई तिब्रता दिएको छ ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ताइवानको रक्षा गर्न अमेरिकाले बल प्रयोग गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन् । चीन र अमेरिकाको रणनीतिक स्वार्थमा चेपिएर ताइवान युक्रेनको नयाँ संस्करण बन्न सक्ने जोखिम बढेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयको आशंका छ, ‘सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्न सक्छ ।’ यद्यपि, न्यान्सीको यो भ्रमणलाई एउटै चालबाट एकसाथ रुस र चीनलाई कमजोर बनाउने अमेरिकाको रणनीतिको रूपमा गरिएको व्याख्याको परीक्षणका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

४. ताइवानकै नेताहरू चाहिँ यो भ्रमणबारे के भन्छन् ?

चीन–ताइवान र अमेरिका बीचको त्रिपक्षीय जटिल सम्बन्धको पटाक्षेप युद्धको रूपमा भयो भने दुई शक्तिशाली देशका रणनीतिक स्वार्थको चेपुवामा ताइवान चाहेर वा नचाहेर नै फस्दैछ ।

ताइवानकै कतिपय राजनीतिक शक्ति केन्द्रहरू युक्रेन युद्धबाट झस्किएका छन् र द्वन्द्वलाई अगाडि बढाउने पक्षमा छैनन् । यद्यपि चीनले आफ्नो गतिविधिलाई आक्रामक रूपले अगाडि बढाइरहेको सन्दर्भमा ताइवान अब गर वा मरको अवस्थामा पुगेको छ ।

५. ताइवानको सीमा क्षेत्रमा अहिले के भइरहेको छ ?

ताइवानको संस्थापनले आवश्यक परे युद्धमा जाने मानसिकता बनाएको बुझ्न सकिन्छ । बुधबार, पहिलो पटक ताइवान सेनाका तीनवटै ‘विङ’ले युद्ध अभ्यास गरेका छन् । ताइवानी सेनाले अमेरिकाबाट खरिद गरेको मिसाइल परीक्षण गरेको छ ।

यस क्रममा उनीहरूले युद्धपोत र लडाकू विमानमा चढेको दृश्य पनि सार्वजनिक भएका छन् । यसले उनीहरू अमेरिकाको सहयोगमा चीनसँग निर्णायक संघर्ष गर्ने रणनीतिमा केन्द्रित देखिन्छन् ।

६. चीन–अमेरिका तनाव युद्धमा बदलिए के कस्तो क्षति हुन्छ ?

अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने स्पष्ट पारिसकेका छन् । एकजना अमेरिकी अधिकारीका अनुसार नौसेनाको विमान वाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिसकिएको छ ।

राडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिंगापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ प्रस्थान गरिसकेको छ ।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । पेलोसीको जबर्जस्त ताइवान भ्रमण र चीनको बदलाको धम्कीले ताइवानमा नयाँ संकट निम्तिने जोखिम बढेको छ ।

यसको प्रभाव ताइवानको सीमा नाघेर एसियाली राष्ट्र हुँदै संसारभर फैलने स्वभाविक अनुमान गर्न सकिन्छ । यसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

यसको प्रभाव नेपाल जस्ता साना देशले अझ बढी व्यहोर्नुपर्ने हुनसक्छ । चीनसँग द्वन्द्व चुलिएको अवस्थामा नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्छ, जसलाई रोक्न हाम्रो सामरिक र कुटनीतिक दुवै प्रतिरोध क्षमतालाई मुस्किल हुनेछ ।

गत साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल आएपछि आफ्नो प्रेम कहानीलाई सार्वजनिक गरेर भ्रमणमा अन्य एजेन्डा छायामा पारिदिए । लुको नेपाल भ्रमण ताइवान मुद्दामा केन्द्रित भएको पनि कतिपयको बुझाइ छ ।

७. अमेरिका आक्रामक हुँदा चीनको प्रतिक्रिया कस्तो होला ?

ताइवान मामिलामा अमेरिका आक्रामक भइरहँदा चीनको प्रतिक्रिया कस्तो होला ? यो प्रश्नको जवाफ खोज्न गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङको भर्चुअल भेट र त्यस क्रममा भएको संवाद स्मरण गर्नुपर्ने हुन्छ ।

करिब २ घण्टा १७ मिनेटसम्म चलेको उक्त भर्चुअल भेटमा बाइडेनसँग कठोर रूपमा प्रस्तुत हुँदै जिनपिङले भनेका थिए, ‘म तपाईंलाई यति मात्र भन्छु कि आगोसँग खेल्न खोज्नेहरू जल्छन् ।’

यो भनाइ ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडारूपमा प्रस्तुत हुने स्पष्ट संकेत हो । पेलोसीको ताइवान भ्रमण २५ वर्षपछिकै उच्च स्तरको अमेरिकी नेतृत्वको औपचारिक भ्रमण हुनेछ । यो भ्रमणबाट अमेरिकाले ताइवानलाई एक्लै छाड्दैन र आवश्यक पर्दा सहयोग गर्छ भन्ने स्पष्ट सन्देश दिन्छ ।

चिनियाँ राष्ट्रपति सीलाई पनि तेस्रो कार्यकालको तयारीका लागि चीनको पुन:एकीकरणको नारा दिएर कुनै ‘रेडिकल मुभ’ गर्नुपर्नेछ । कुनै पनि शासकले आफ्नो स्वार्थको लागि राष्ट्रवादको नारा उचाल्नु कुनै नयाँ विषय होइन र सीबाट यस्तो कुनै कदम चालिए अस्वभाविक मान्नुपर्दैन ।

चीनका विदेशमन्त्री वाङ यीले मंगलबार ताइवान मुद्दामा ‘आगोसँग खेल्ने’ अमेरिकी राजनीतिज्ञहरूले ‘खराब परिणाम व्यहोर्नुपर्ने’ बताएका छन्। उनले आफ्नो वक्तव्यमा कुनै अमेरिकी राजनीतिज्ञको नाम भने लिएका छैनन् । तर, चीनको चेतावनीले अमेरिका पछि हट्ने देखिंदैन । न्यान्सीको ताइवान भ्रमण निश्चित रहेको ताइवानी सञ्चार माध्यमले खबर प्रवाह गरिरहेका छन् ।

यद्यपि, अमेरिकी सेनाले भने न्यान्सी पेलोसीलाई तत्काल ताइवान नजान सल्लाह दिएको समाचार सार्वजनिक भएको थियो । युक्रेन र रुसबीच युद्ध चलिरहेको र यस्तो अवस्थामा ताइवानमा द्वन्द्व भयो भने यो विषय निकै खतरनाक सावित हुन सक्ने अमेरिकी सेनाको तर्क रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?